coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘लोगो’ नहुँदा प्रदेश ५ का सांसदलाई सास्ती

दाङ - संसद गठन भएको तीन महिना पुगिसक्दा पनि प्रदेश ५ का सांसदहरूले संसदको लोगो पाउन सकेका छैनन्। लोगोविहीन हुनुपर्दा सांसदहरूलाई कुनै कार्यक्रम, समारोह वा संसद् भवनभित्र प्रवेशमा समेत असहज हुने गरेको छ। तत्काल लोगोको व्यवस्था गर्न पनि सांसदहरूले आवाज उठाइरहेका छन्।

सांसदको परिचयका रूपमा रहने लोगो वितरण चाँडै हुनुपर्ने भए पनि यसो हुन नसकेको सांसद इन्द्रजित चौधरीले बताए। ‘संसद भवनभित्रकै प्रवेशमा पनि हामीहरूलाई मर्यादापालकबाट अवरोध हुन्छ कि भन्ने आशंका रहिरहन्छ,’ उनले भने ‘हामीहरू सांसद हौँ कि हैनाँै भनेर परिचय दिने लोगो नभएपछि मर्यादापालकले हामीलाई कसरी चिन्ने?’ तथापी उनले प्रदेशमा सांसद संख्या थोरै रहेकाले पनि मर्यादापालकले चिन्ने गरेको बताए। प्रदेश ५ मा ८७ जना सांसद छन्। मन्त्रालय प्रवेशमा समेत लोगो नहुँदा आफूलाई अप्ठ्यारो लाग्ने गरेको उनले बताए। ‘संसद् तथा मन्त्रालयमा प्रवेश गर्दा गेटमै रोकाबाट हुने होकि भन्ने लाग्छ,’ उनले भने, ‘लोगो नहुँदा निर्धक्क भएर प्रवेश गर्न नसकिने रहेछ।’

सांसद अमरवहादुर डाँगीलाई पनि संसद् लोगो वितरण नहुँदा उल्झन खेपिरहनु पर्छ। यात्राका क्रममा सबैभन्दा बढी समस्या हुने गरेको उनले सुनाए। ‘हामीहरूलाई संसद् बैठक भेटाउनका लागि हतारमा पुग्नुपर्ने हुन्छ, त्यो बेलामा सडकमा हुने अवरोधले समस्या पार्छ,’ उनले भने, ‘म सांसद हुँ भनेर भन्न पनि अप्ठ्यारो हुन्छ, लोगो भैदिएको भए त हामीहरूको परिचय बाहिरै थाहा भैहाल्ने थियो, त्यो अवरोध पनि आउने थिएन।’ यतिमात्रै हैन, आफ्नो चिनारी नहुँदा कैयन स्थानमा आफू सम्मानित व्यवहार नपाएको समेत उनले बताए।

अर्का सांसद अर्जुन श्रेष्ठले पनि सांसदको लोगो वितरणमा गरिएको ढिलाइले सांसदको परिचय नै मिल्न नसकेको बताए। ‘सांसदहरूको सबै भन्दा ठूलो परिचय भनेकै संसदको लोगो हो,’ उनले भने, ‘तर त्यहि परिचय प्राप्त हुन सकेको छैन।’

प्रदेशसभाले सांसदको पोसाक र लोगोको खाका तयार पारिसकेको जनाएको छ। प्रदेशसभाका अनुसार अल्लोको कोट सांसद पोसाक तय गरिएको छ। यसैगरि प्रदेशसभा सदस्यका लागि प्रदेशको चिनारी दिने तस्बिर सम्मिलित लोगो तयार गरिसकेको जनाएको छ। लोगो निर्माणका लागि प्रदेशसभाले मस्यौदा समिति निर्माण गरेको थियो । उक्त समितिको प्रस्तावअनुसार प्रदेशसभाको कार्यव्यवस्थाले प्रदेश झल्कने लोगोलाई मान्यता दिनेगरी लोगो निर्माणका लागि प्रतिस्पर्धा गराएको थियो। उक्त प्रतियोगितामा १२ फरकफरक लोगो समावेश भएका थिए। ति १२ मध्ये समग्र प्रदेशको चिनारी झल्कनेगरी कोरिएको संसद् लोगोलाई मान्यता दिइएको थियो। ‘लोगोको बनावट तयार भैसकेको छ,’ प्रदेशसभाका सभामुख पूर्ण घर्तीले नागरिकसँग भने, ‘खाकालाई मूर्तरूप दिन मात्रै बाँकी हो।’

तीन महिनासम्म पनि सांसद लोगो वितरण नहुनुलाई ढिलाइ भएको बताएका उनले यसैसाताभित्र सांसदलाई लोगो वितरण भैसक्ने दाबीसमेत गरे। सरकारी कामकाजमा हुने सुस्सताकै कारण लोगो निर्माणमा पनि केही समय ढिलाइ भएको उनले बताए। ‘लोगो निर्माणको काम भैरहेको छ,’ उनले भने, ‘यसैसाताभित्रमा सांसदहरूलाई लोगो वितरण हुन्छ।’ उनका अनुसार डिजिटल लोेगो निर्माण हुनेछ। यसैगरी प्रदेशसभाका कर्मचारीहरूको समेत छुट्टै लोगो निर्माण भैरहेको पनि उनले बताए।

प्रकाशित: १० असार २०७५ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App