८ वैशाख २०८१ शनिबार
खेल

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

रेपिन्नो – कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो । आइतबार दोस्रो खेलमा पानामाको सामना गर्दा इङ्ल्यान्ड समूहचरणबाट माथि उठ्ने सम्भावना बलियो पार्नुका साथै समूह ‘एफ’को विजेताको दाबेदारीसमेत बलियो पार्न चाहन्छ।

इङ्लिस प्रिमियर लिगको दुई पटकका गोल्डेन बुट विजेता केनले उक्त गोलसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल खडेरी तोड्दै आफ्नो क्षमताबारे आलोचना गर्नेलाई गतिलो जबाफ दिएका थिए । साथै केन २८ वर्षपछि विश्वकपमा इङ्ल्यान्डका लागि एकै खेलमा दोहोरो गोल गर्ने पहिलो खेलाडी बनेका थिए । यसअघि १९९० मा ग्यारी लिंकरले इङ्ल्यान्डका लागि एकै खेलमा दुई गोल गरेका थिए।

केन लयमा देखिए पनि अन्य खेलाडीले भने पाएका सहज अवसरलाई समेत सदुपयोग गर्न नसक्नु इङ्ल्यान्ड टोलीका लागि चिन्ता बनेको छ । ट्युनिसियाविरुद्धको खेलको पहिलो हाफमा रहिम स्टर्लिङ र जेसे लिंगार्डले पाएका केही सहज अवसरमा गोल गर्न चुकेका थिए । स्टर्लिङलाई पानाामाविरुद्धको खेलमा टोलीमा नराखिने बताइएको छ।

बिहीबार इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले तयार पारेको टोलीको रणनीतिको ‘नोट’ र सहायक प्रशिक्षक स्टिभ होल्यान्डले लिइरहेको तस्बिर सार्वजनिक भएको थियो । उक्त नोटमा स्टर्लिङको स्थानमा मार्कुस रसफोर्ड र डिले अलीको स्थानमा रुबेन ओफ्टस–चेकलाई खेलाइने उल्लेख गरिएको छ । अली पहिलो खेलमा तिघ्राको चोटका कारण मैदानबाट बाहिरिएका थिए । यता गत सिजन म्यानचेस्टर सिटीका लागि २९ गोल गरेका स्टर्लिङले पछिल्लो २१ अन्तर्राष्ट्रिय खेलमा भने कुनै गोल गर्न सकेका छैनन्।

साउथगेटले सञ्चारमाध्यमले आफूहरूको टोली रणनीति र खेलाडी परिवर्तनबारे सार्वजनिक भएको नोटले विपक्षीलाई फाइदा पुग्ने भन्दै सञ्चारमाध्यमको चर्को आलोचना गरे । ‘टोली रणनीति र खेलाडी परिवर्तनको सूचना बाहिरिनु हाम्रा लागि घाटा हो,’ साउथगेटले भने, ‘यो गलत कार्य हो ।’ त्यस्तै रसफोर्डले इङ्ल्यान्ड गोलका लागि केनमा मात्र निर्भर नभएको बताए।

‘इङ्ल्यान्ड टोलीमा सबै उत्कृष्ट खेलाडी छन्, जो गोल गर्न सक्षम छन्,’ रसफोर्डले भने, ‘केन पनि उत्कृष्ट खेलाडी हुन् तर इङ्ल्यान्ड टोली उनको गोलमा निर्भर छ भन्नु गलत हो ।’ यता पहिलो खेलमा बेल्जियमलाई नतिजा सुम्पिएको पानामालाई अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न इङ्ल्यान्डविरुद्ध जितको विकल्प छैन।

बेल्जियमविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पानामा ३–० को नतिजा सुम्पिन बाध्य भएको थियो । समूह ‘जी’ मा ३ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ भने समान ३ अंक जोडेको इङ्ल्यान्ड गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन ट्युनिसिया र पानामा तेस्रो र चौथो स्थानमा छन्।

प्रकाशित: १० असार २०७५ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App