रूस – रसियामा जारी २१ औं संस्करणको विश्वक फुटबलमा अहिले समूह चरण दोस्रो राउन्डका खेलहरू जारी छन्।प्रतियोगिताअन्तर्गत शनिबार पनि ३ खेलहरू भएका छन्।
शनिबारको पहिलो खेलमा भिडेका थिए बेल्जियम र ट्युनिसिया। यो खेलमा ट्युनिसियालाई ५–२ को फराकिलो गोल अन्तरले बेल्जियमले पराजित गरेको थियो। जारी विश्वकपमा फराकिलो गोल अन्तरले कुनैपनि राष्ट्रलाई हराएको यो दोस्रो खेल हो।
यसअघि पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र रूसले साउदी अरबलाई ५–० को फराकिलो गोलअन्तरले हराएको थियो। आजको खेलमा ट्युनिसियालाई ५–२ को फराकिलो गोलअन्तरले पराजित गर्दा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले २ गोल गरे। पहिलो खेलमा पनि लुकाकले २ गोलनै गरेका थिए। लुकाकुले यो विश्वकपमा व्यक्तिगत गोल संख्या ४ पुर्याएका छन्।
पहिलो हाफमै २ गोल गरेका लुकाकुलाई दोस्रो हाफको सुरुमै प्रशिक्षकले परिवर्तन गराउदै उनको ठाउमा फेलानीलाई ल्याएका थिए। लुकाकुले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गरेको ४ गोलसँग बराबरी गरेका छन्। रोनाल्डोले पनि पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए भने दोस्रो खेलमा मोरक्कोलाई १–० ले हराउँदा उनलेनै गोल गरेका थिए।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउने छन्। अघिल्लो विश्वकपमा सर्वाधिक गोल गर्दै कोलम्बियाका हामेस रोड्रिगेजले गोल्डेन बुट प्राप्त गरेका थिए।
प्रकाशित: ९ असार २०७५ १८:४५ शनिबार