coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कारका घटना बढे

दाङ– दाङ जिल्लामा पछिल्ल्लो ६ महिनामा ८४ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन्। यो ६ महिनामा सबैभन्दा धेरै बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएको इन्सेक दाङको अध्ययनले देखाएको छ। वितेको ६ महिनामा कुल २७ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना भएको इन्सेक दाङका जिल्ला प्रतिनिधि जेएन सागरले जानकारी दिए। जसमा सबैभन्दा धेरै २३ जना बालिका बलात्कारमा परेका छन्। त्यस्तै ३ वृद्धा र एकजना किशोरी बलात्कारको सिकार भएको शनिबार इन्सेकले घटना सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा सागरले जानकारी दिए। ‘बलात्कार तथा बलात्कार प्रयासका घटनाहरुको अवस्था डरलाग्दो अवस्थामा देखिएको छ’, सागरले भने, ‘८४ कुल मानव अधिकार हननका घटना मध्य २७ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना मात्रै भएका छन्।’ उनका अनुसार ३ वर्षदेखि १६ वर्षसम्मका बालिका तथा ५९ वर्षसम्मका वृद्धा बलात्कारमा परेका छन्। यो तथ्यांक विगतको वर्षभन्दा करिव दोब्बर हो। 

इन्सेकको अध्ययन अनुसार बाबु, दाजु तथा नातापर्नेहरुबाट बालिका बलात्कृत भएका छन्। यस्तै छिमेकबाट पनि बालिकाहरु बलात्कृत हुने गरेको पाइएको छ। त्यस्तै तुलसीपुरमा १३ वर्षीया बालिकालाई ६ जना ४ बालकसहित ६ जनाले सामुहिक बलात्कार गरेको घटना पनि इन्सेकले उल्लेख गरेको छ।

यस्तै, २५ वटा घटना धम्की÷कुटपिटका घटना भएको जानकारी दिएको इन्सेकले यी घटनाको मुल कारण अधिकांश घरेलु हिंसा रहेको जनाएको छ। यस्ता घटना श्रीमान श्रीमती बिचका बढी छन्। यसैगरी ५ हत्या तथा हत्या प्रयास, ४ अपहेलना, ७ वन्द÷हड्ताल, कथित बोक्सीको १, दुव्र्यवहार ६, गैरकानुनी हिरासत÷ यातना ५, तोडफोड १, कथित छुवाछुत १ र अन्य २ गरी ८४ वटा घटना भएको इन्सेक प्रतिनिधि सागरले जानकारी दिए।

यी घटनामा ९७ जना नागरिक पीडित भएका छन्। ‘जसमा ८० जना गैरराज्य र १७ जना राज्यपक्षबाट पीडित भएको पाइएको छ’, सागरले भने, ‘५ जनाको हत्या तथा हत्या प्रयास भएको छ।’ एक नवजात शिशु र ३ महिलासहित ४ जनाको हत्या भएको छ भने एकजनाको हत्या प्रयास भएको छ। यस्तै ४ पत्रकारसहित ८ जनामाथि दुर्व्यवहारका घटना भएका छन्। यो ६ महिनामा ६ दिन सार्वजनिक यातायात तथा शैक्षिक संस्था बन्द भए। ५ गैरकानुनी हिरासतको घटनामा १७ जना नागरिक पीडित भएका छन्। 

तर यस्ता अपराधिक घटनाका दोषीहरु सबैलाई कानूनी कारवाही भएको नदेखिएको सागरले जनाए। बलात्कारका झण्डै २५ प्रतिशत घटनामा प्रहरी नपुग्दै मिलापत्र हुने गरेको इन्सेकको प्रतिवेदनमा देखिएको छ। कतिपय घटनामा त प्रहरीले पक्राउ गरेपनि मिलिसकेको भन्दै छुटाउने काम भएको उल्लेख छ।

प्रकाशित: ९ असार २०७५ १५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App