८ वैशाख २०८१ शनिबार
समाज

उज्यालो सपना पूरा हुँदा गाउँमा दीपावली मनाइयो

रौतहट– उमेरले ८३ नाघेका बाराको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारी दुखन कछाडियाको अनुहारमा शनिवार बेग्लै खुसी देखिएको छ। प्रतिनिधि सभा सदस्य प्रभु साहले ट्रान्सफर्मरको स्वीच अन गरेर गाउँमा पुगेको बिजुलीको पहिलो बत्ती बाल्दा कछाडियाको अनुहारमा जीवनभरको उज्यालो देखिएको हो।

रौतहटको गुजरा नगरपालिका ३ सिम्री गाउँ सुगम जिल्लाको अति दुर्गम बस्ती हो। सडकको सुविधासमेत राम्ररी नपुगेको सिम्रीबासीको मुख्य सपना नै बिजुली थियो। विगत कैयाँै निर्वाचनमा जुनसुकै पार्टीका नेता सिम्रीमा भोट माग्दा स्थानीयबासीको एउटै माग हुन्थ्यो– बिजुली बालिदिनु प¥यो।

जंगलको बीचमा रहेको सिम्री गाउँमा सडकको सुविधा छैन, स्वास्थ्य चौकी छैन, सडक पनि छैन, माध्यमिक विद्यालय पनि छैन, दुई तिरबाट खोलाले दुःख दिएको छ तर सात किलोमिटर टाढाबाट गाउँमा बिजुली पु¥याउनुलाई नै स्थानीयबासीले सबैभन्दा ठूलो चुनौतीको रुपमा लिएका थिए। गाउँमा बिजुली बाल्ने बाजेको सपना आज आएर पूरा भएको ८३ वर्षीय कछाडियाले अनुहारलाई उज्यालो पार्दै बताए। महिनाको एक दिन अनिवार्य रुपमा पूज ागर्न गढीमाई मन्दिर बरियारपुर पुग्दा बिजुली बाल्ने गरेको र उनी आफ्नै गाउँमा बिजुली बल्दा पनि पत्याउन गाह्रो लागेको बताएँछन्।

गाउँका समाजसेवी काजीमान धामीले त बिजुली बलेको दिनलाई दीपावलीसित तुलना गर्दै सम्पूर्ण सिम्रीबासीलाई दीपावली मनाउन आग्रह गरेका छन्। धामीकै अथक प्रयासका कारण गाउँमा बिजुली बलेको हो।

बिना कुनै बजेट सात किलोमिटर टाढाबाट अढाई सय पोल गाडेर तार तान्दै बिजुली बाल्नु चानचुने समस्या थिएन। साँसद साहले गाउँको बिजुलीको सपना पूरा गरिदेलान् भन्ने अलिकति विश्वास नभए पनि स्थानीयबासीसामु गरेको प्रतिबद्धता पूरा गरेका छन्। कतिपय गाउँलेलाई शनिवार बिहानसम्म पनि गाउँमा बिजुली बल्ने सपना पूरा हुने विश्वास नभएको तर दिउँसो बिजुली बलेपछि गाउँहरुले नाचगान र अबिरज जात्रा गरेका छन्। पन्चेबाजा बजाएर स्थानीयबासीले कहिल्यै नभएको खुसियाली मनाएका छन्।

बिजुलीको स्वीच अन गर्दै साँसद साहले विजुलीलाई व्यवसायसित जोड्दै आय आर्जनको काममा लाग्न आह्वान गरेका छन्। जंगल र नदीको बीचमा रहेको सिम्री पर्यटनको केन्द्र हुन सक्ने बताउँदै साँसद साहले बिना कुनै बजेट सिम्रीबासीको नैतिक सहयोगको बलले आफूले सिम्रीबासीको सबैभन्दा ठूलो सपना पूरा गर्न सफल भएको बताएका छन्।

बिजुलीको बलेको देख्न सयौँ नरनारी, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य समिना हुसेन, प्रदेश सभा सदस्यद्वय कुन्दन कुशवाहा र नागेन्द्र यादव लगायतले स्थानीयबासीको सबै सपना पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

उपस्थित जननिर्वाचित प्रतिनिधिहरुले स्थानीय नागरिकले आफ्ना आवश्यकता र अप्ठ्याराहरुमा आफूहरुलाई जति धेरै साथ लिन खोज्यो त्योभन्दा बढी दिने बताएका छन्। नागरिकको सपनालाई पूरा गर्न आफूहरुले जस्तोसुकै परिस्थितिसित पनि लड्न तयार रहेको बताउँदै जनप्रतिनिधिहरुले तीन तहको सरकारले आमूल परिवर्तनको पक्षमा निरन्तर क्रियाशील रहने बताएका छन्।

प्रकाशित: ९ असार २०७५ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App