coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रसुवागढी जोड्ने छोटो सडक यो वर्ष सञ्चालनमा नआउने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो सडक।

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक यो वर्ष सञ्चालनमा नआउने भएको छ। 

सडकको ट्रयाक खोल्ने काम मात्र भएको र सम्पूर्ण कार्य नसकिँदासम्म सडक सञ्चालनमा नल्याइने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ। 

यो वर्ष सार्वजनिक सवारी साधन सञ्चालनका लागि अनुमती दिँदा सवारी दुर्घटना हुने जोखिम उच्च रहेको र निर्माण कार्य समेत प्रभावित हुने भएकाले सञ्चालन अनुमति नदिएको योजना प्रमुख सुबोध कुमार देवकोटाले बताए।

हस्तान्तरण गरिएको दिन सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिइएको थियो। त्यसको केही समयसम्म सवारीसाधन सञ्चालन भएको भएपनि सवारी दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको योजनाले जनाएको छ। 

वर्षात सुरु भएसँगै नवनिर्मित उक्त सडकमा पहिरोले अवरुद्ध गरेको योजना प्रमुख देवकोटाले बताए। ‘मैलुङदेखि स्याफ्रुबेँसी बिचमा पर्ने सडकखण्डको चार स्थानमा पहिरोले बाटो अवरुद्ध बनाएको छ, योजना प्रमुख देवकोटाले भने, भर्खरै निर्माण भएको कारण पहिरोको जोखिम उच्च छ।’ 

मैलुङ–स्याफ्रुबेँसी निर्माण कार्यदलले निर्माण गरेको १७ किलोमिटर सडक गत जेठ ६ गते हस्तान्तरण गरिएको थियो। यो सडकको असार महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने छ। ‘सडकको डिपिआर अन्तिम चरणमा पुगेको छ, उनले भने, डिपिआर तयार भएपछि साउनमा टेन्डर निकालिने छ।’

कार्तिकबाट निर्माण कार्य सुरु गर्ने योजना बनाइएको उनको भनाई छ। निर्माण कार्य सुरु हुनुपूर्व पहिरोको जोखिमका कारण सडक सञ्चालन गर्न नसकिने र निर्माण कार्य सुरु भएपछि काममा अवरोध हुने भएकाले यो वर्ष बेत्रावती धुन्चे स्याफ्रु सडकको प्रयोग गर्न योजनाले अनुरोध गरेको छ। 

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ। 

पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन्। काठमाडौंदेखि गल्छी ४४ किमी, गल्छीदेखि बट्टार २२ किमी, बट्टारदेखि बेत्रावती ११ किमी, बेत्रावतीदेखि मैलुङ १२ किमी र मैलुङदेखि स्याफ्रु १६ किमी दूरी रहेको छ। 

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न गर्न पर्दैन। मैलुङ¬–स्याफ्रुबेँसी सडकको बिकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेँसी सडक प्रयोग गर्न सकिने बताइएको छ। 

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकको सर्बेको काम सकिएको योजनाले जनाएको छ। सडक निर्माणका लागि कार्यालय स्थापना गर्न लागि जग्गा खोज्ने कार्य भइरहेको छ। नयाँ सडकमा नेपाल प्रहरीको र नेपाली सेनाको जाँच चौकी राख्ने तयारी भएको छ। सडक निर्माण तथा स्तरोन्नतीको काम दुई वर्षभित्र सम्पन्न गरिने योजनाले जनाएको छ। 

प्रकाशित: ९ असार २०७५ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App