८ वैशाख २०८१ शनिबार
राजनीति

नेपालमा बढ्दैछन् अवैध विदेशी

काठमाडौं- अध्यागमन ऐन हदै लचिलो हुँदा नेपालमा नक्कली राहदानी तथा भिसाका प्रयोग र ओभर स्टे (भिसाभन्दा बढी समय बस्ने) गर्ने विदेशीको संख्या बढ्दो छ। नक्कली राहदानी प्रयोग गर्नेलाई न्यूनतम सजाय, ओभर स्टे गर्नेले सामान्य जरिवाना तिरेपछि उन्मुक्ति पाउने र विदेशी नक्कली भिसा प्रयोग गर्नेलाई ऐनमा कारबाहीको व्यवस्थै नहुँदा अध्यागमन ऐन मिच्ने विदेशी बढेका हुन्। 

'कसैले नेपालको भिसा नक्कली गरे भने उनीहरुमाथि हामी कारबाही अघि बढाउन सक्छौं तर अन्य देशको भिसा नक्कली बनाई नेपालबाट उड्न लागेको छ भने त्यस्तालाई हाम्रो कानुनले चिन्दैन,' अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले नागरिकसँग भने, 'यस्तालाई हामीले सिधै डिपोर्ट (उनीहरुकै देश फिर्ता पठाउने) गर्ने गरेका छौं।'

नेपालको अध्यागमन कानुन मिच्ने (नक्कली राहदानी तथा भिसामा आउने र ओभर स्टे गर्ने) विदेशीमा सबैभन्दा बढी चिनियाँ छन्। विभागको तथ्यांकअनुसार सन् २०१५ यता हालसम्म नक्कली राहदानी तथा भिसामा नेपाल आउने क्रममा पक्राउ परेका ८० विदेशीमध्ये १८ जना चिनियाँ छन्। दोस्रो ठूलो संख्या बंगलादेशीको छ। बंगलादेशका १७ जना नागरिक यस अवधिमा पक्राउ परेका छन्।

नेपालमा नक्कली राहदानी तथा भिसामा आउने तेस्रो ठूलो संख्या पाकिस्तानीको छ। सन् २०१५ जनवरी १ यता ९ जना पाकिस्तानी नक्कली राहदानी तथा भिसा प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्। यस्तै, भारतका ३, टर्की, जर्मनी, स्विट्जरल्यान्ड, साउदी अरेबिया र इरानका दुई/दुई जना नागरिक पनि नक्कली राहदानी तथा भिसा प्रयोग गरेका कारण पक्राउ परेको देखिन्छ।

'नक्कली राहदानी प्रयोग गरेकालाई पनि न्यूनतम सजाय सुनाउने गरिएको छ। ५ हजार रुपैयाँ जरिवाना र दुई/चार दिन जेल बसेपछि उनीहरुले गरेको अपराधबाट मुक्ति पाउँछन्। यस कारण पनि नक्कली राहदानी प्रयोग गर्ने संख्या बढ्ने क्रममा छ। कारबाही गर्दा पनि अधिकतम गरिदिने हो भने केही निरुत्साही हुने थियो,' अध्यागमन स्रोतले भन्यो।

कुनै विदेशी नक्कली राहदानी तथा भिसाबाट नेपालबाट उड्न पाए उनीहरु लक्षित देशमा सहजै पुग्ने गर्छन्। त्यहाँ पुगेपछि उनीहरु शरणार्थी बन्ने लक्ष्यसाथ गएका हुन् भने त्यहाँको विमानस्थल पुग्नेबित्तिकै राहदानी च्यातेर फाल्ने गर्छन्। स्रोत भन्छ, 'यस्ता व्यक्ति नेपालबाट उड्न पाए भने सम्बन्धित देशको अध्यागमन पुग्न नपाउँदै राहदानी च्यातेर फाल्छन् र शरणार्थी भएको दाबी गर्छन्। नेपालबाट उम्कन पाए सजिलै लक्षित देश पुग्छन्।'

नक्कली भिसा  प्रयोग गर्नेको उद्देश्य पनि उस्तै हुने स्रोतको दाबी छ। नक्कली भिसा प्रयोग गरेको आफ्नै देशमा पत्तो पाए कारबाहीमा परिने हुँदा यस्ता विदेशी नेपाल हुँदै तेस्रो राष्ट्र जाने गर्छन्। नेपालले विश्वका १२ देशबाहेक सबै देशका नागरिकलाई अनअराइभल भिसा दिने गर्छ। यही सुविधाको फाइदा उठाउँदै विदेशी नक्कली राहदानी तथा विदेशी नक्कली भिसाका साथ नेपाल आउने गर्छन्।

'नेपालमा पक्राउ परीहाले पनि सानो जरिवाना बुझाएपछि मुक्ति पाउँछन्। अझ नक्कली भिसामा त कारबाही नै नहुने हुँदा उनीहरुले ठूलो जोखिम उठाएर नेपाल आउने गरेको पाइन्छ। यहाँबाट उम्कन भ्याए सम्बन्धित देश पुग्ने भइहाले,' स्रोतले भन्यो।

अघिल्ला वर्ष नेपालमा नक्कली राहदानी र भिसा प्रयोग गरेको आरोपत्रमा पक्राउ पर्नेमा सबैभन्दा ठूलो संख्या भारतीय र बंगलादेशीको हुने गर्थ्यो। भारतीय र बंगलादेशी अधिकांशले नेपाली राहदानी दुरुपयोग गरेको पाइने गर्थ्यो तर पछिल्लो वर्ष भने राहदानी तथा भिसा दुरुपयोग गर्नेमा चिनियाँ नागरिक ह्वात्तै बढेका हुन्।

'नक्कली राहदानी तथा भिसा प्रयोग गरी नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकमा बढी तिब्बतमूलका छन्,' अध्यागमनस्रोतले भन्यो।

अध्यागमन ऐन, २०४९ मा नेपाली तथा विदेशी नक्कली राहदानी प्रयोग गर्नेलाई कारबाहीको स्पष्ट व्यवस्था गरे पनि विदेशी नक्कली भिसा प्रयोग गर्नेको विषयमा भने मौन छ। ऐन मौन हुँदा नक्कली विदेशी नक्कली भिसा प्रयोग गरेको थाहा पाउँदा पनि नेपालभित्र कारबाही अघि बढाउन सकिएको छैन। यस्तालाई सिधै डिपोर्ट गर्ने गरिएको छ।

अध्यागमन ऐनको दफा २ मा 'राहदानी भन्नाले कुनै राष्ट्रको सरकारले विदेश भ्रमणका लागि जारी गरेको राहदानी, ट्राभल डकुमेन्ट वा यस्तै भ्रमण गर्ने स्वीकृति प्रदान गरिएको अनुमतिपत्र सम्झनुपर्ने स्पष्ट उल्लेख गरेको छ। सोही दफामा 'भिसा' सम्बन्धमा भने विदेशीलाई नेपालभित्र प्रवेश तथा उपस्थितिका लागि नेपाल सरकारबाट दिइने अनुमतिपत्र सम्झनुपर्ने जनाइएको छ।

ऐनमा नेपालको भिसा मात्र भनिएको हुँदा नेपालबाट विदेश उड्ने कसैले अन्य देशको नक्कली भिसा प्रयोग गरेको भेटिए उनीहरुलाई नेपालभित्र कारबाही गर्न नसकिने भनाइ विभागको छ। ऐनकै कारण नक्कली भिसा प्रयोग गर्नेमाथि अदालतमा दायर भएका मुद्दामा विभागलाई सफलता मिलेको छैन। यसकारण नक्कली भिसा प्रयोग गरेको पाइए यस्तालाई मुद्दा नचलाई सिधै डिपोर्ट गर्ने गरिएको छ।

ऐनमा नक्कली राहदानी प्रयोग गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था भए पनि विदेशको नक्कली भिसा प्रयोग गर्नेलाई कुनै सजाय व्यवस्था छैन।

पक्राउमध्ये नक्कली राहदानी र भिसा प्रयोग गर्नेको संख्या बराबरीजस्तै छ।

'वषर्ौंदेखि विदेशी नक्कली भिसा प्रयोग गर्नेले सजायबाट उन्मुक्ति पाउँदै आएका छन्। ऐन संशोधन गरी यस्ता अपराधीलाई सजाय गर्नेतर्फ कसैको ध्यान गएको छैन,' अध्यागमन स्रोतले भन्यो।

नेपालमा ओभर स्टे गर्नेमा पनि चिनियाँ अग्रस्थानमा छन्। विभागको तथ्यांकअनुसार सन् २०१६ जनवरी १ यता ओभर स्टे गर्ने कुल १ सय ३ जना विदेशीमध्ये २५ जना चिनियाँ पाइएको छ। नेपालमा ओभर स्टे गर्ने दोस्रो ठूलो संख्यामा अमेरिकी छन्। यो अवधिमा १२ जना अमेरिकीले ओभर स्टे गरेर बसेको भेटिएको हो। ओभर स्टे गर्नेको तेस्रो स्थानमा क्यानाडेली छन्। क्यानडाका ९ नागरिकले ओभर स्टे गरेको पाइएको हो।

'अन्य देशमा भएको भए ओभर स्टे गरेको भेट्नेबित्तिकै उनीहरुलाई डिपोर्ट गरिन्छ,' स्रोत भन्छ, 'तर हाम्रो देशको कानुन धेरै लचिलो भएका कारण अटेर गर्ने बढेका छन्।'

भिसाभन्दा बढी समय बसेर 'ओभर स्टे' गर्नेलाई विदेशमा जस्तो सिधै डिपोर्ट गर्नेजस्तो नेपालमा कारबाही गरिँदैन। यस्ता विदेशीले भिसा सकिएपछि जति दिन नेपाल बसे पनि ओभर स्टे गरेको प्रति दिनको पाँच डलरका हिसाबले जरिवाना तिरेपछि पुनः भिसा पाउने गर्छन्। भिसा सकिएपछि जति दिन बसे पनि जरिवाना तिरे अन्य कारबाहीबाट उन्मुक्ति पाउने हुँदा ओभर स्टे गर्ने विदेशीको संख्या बढ्ने क्रममा रहेको बुझाइ स्रोतको छ।

प्रकाशित: २१ भाद्र २०७३ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App