७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप फुटबल : जर्मनीलाई जित आवश्यक

सोची – विश्वकप छनोटको समूह चरणमा नेदरल्यान्ड्सलाई पराजित गरेको स्विडेनले रूसको टिकट पक्का गर्ने क्रममा युरोपियन प्लेअफको दुई लेगमा अर्र्काे दाबेदार राष्ट्र इटालीलाई हराएको थियो।

स्विडेनसामु पुनः एक पटक अर्काे स्तब्धतापूर्ण नतिजा निकाल्दै विश्वकपकै दाबेदार साबिक विजेता जर्मनीको यात्रा समूहचरणमा सीमित पार्ने सुनौलो अवसर छ । स्विडेनले पहिलो खेलमा भिडियो सहायक रेफ्री (भिएआर) मा भाग्यमानी साबित हँुदा दक्षिण कोरियालाई १–० ले पराजित गरेको थियो भने जर्मनीले मेक्सिकोलाई १–० कै नतिजा सुम्पिएको थियो । १९९८ पछि जर्मनीले विश्वकपको पहिलो खेल गुमाएको यो पहिलो पटक हो।

समूह ‘एफ’ मा समान ३ अंक जोडेका स्विडेन र मेक्सिको क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने अंकविहीन जर्मनी र दक्षिण कोरिया तेस्रो र चौथो स्थानमा छन् । यी दुई टोली शनिबार समूह ‘एफ’ को दोस्रो खेलमा आमने–सामने हुँदै छन् । जहाँ ३ अंक जोड्न सके स्विडेनले एक खेलअगावै अघिल्लो चरणमा स्थान पक्का गर्नेछ । स्विडेनको पक्षमा नतिजा आए जर्मनी प्रतियोगिताको समूहचरणबाटै बाहिरिने अर्को साबिक विजेता बन्नेछ । यसअघि २०१० को विजेता स्पेन ४ वर्षअघि ब्राजिल विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो । यता जर्मनीलाई भने समूहचरणबाट माथि उठ्ने सम्भावना कायम राख्न स्विडेनविरुद्ध जितको विकल्प छैन।

‘जर्मनी बलियो प्रतिद्वन्द्वी हो,’ स्विडेनका प्रशिक्षक यान एन्डरसनले भने, ‘त्यसैले हामीले दक्षिण कोरियालाई पराजित गर्दा गरेको प्रदर्शनमा सुधार गर्दै मैदान उत्रन आवश्यक छ ।’ मेक्सिकोसँगको हारपछि पर्याप्त गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको भन्दै जर्मनीको चर्को आलोचना भएको थियो।

‘स्विडेनमा केही उत्कृष्ट खेलाडी छन् जो हाम्रा लागि खतरा बन्न सक्छन् । त्यसैले हामी स्विडेनविरुद्ध फरक रणनीतिका साथ मैदान उत्रनेछाैं,’ जर्मनीका स्ट्राइकर थोमस मुलरले भने, ‘मेक्सिकोको तुलनामा स्विडेनको क्षमता र कमजोरी फरक छ । हाम्रा लागि यो खेल फाइनलसरह छ किनभने उनीहरूसँगको हारले हाम्रो अघिल्लो चरण प्रवेश सम्भावना समाप्त हुनेछ ।’ जर्मनीलाई बलियो मानिएको स्विडेनको रक्षापंक्ति तोड्न कठिन हुने पक्का छ।

‘स्विडेन आक्रामकभन्दा पनि रक्षात्मक खेल्दै अंक खोस्ने लक्ष्यमा मैदान उत्रने हाम्रो अनुमान छ,’ मुलरले थपे, ‘त्यसैले हामीले बल धेरै समय होल्ड गर्नु भन्दा पनि पाएका अवसरलाई सदुपयोग गर्दै उनीहरूलाई दबाबमा राख्न आवश्यक छ ।’ गत सिजन घुँडाको चोटका कारण अधिकांश समय मैदानबाहिर बसेका बोरुसिया डर्टमन्डका स्ट्राइकर मार्कुस रिउस मेक्सिकोविरुद्धको खेलमा ६०औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेपछि जर्मनीको आक्रमण थप मजबुत बनेको थियो । यद्यपि टोलीले पाएका अवसर सदुपयोग गर्न विफल भयो।

‘म पहिलो रोजाइमा पर्छु वा पर्दिनँ त्यसबारे म केही बताउन चाहन्नँ,’ रिउसले भने, ‘म खेल सुधार गर्दै टोलीमा आफ्नो आवश्यकता प्रमाणित गर्न चाहन्छु ।’ पहिलो खेलमा साबिक विजेता जर्मनीलाई स्तब्ध पार्दै प्रतियोगितमा सुखद सुरुआत गरेको मेक्सिको शनिबार दक्षिण कोरियाको सामना गर्दा लगातार दोस्रो जितका साथ अन्तिम १६ मा प्रवेश पक्का गर्न चाहन्छ।

‘जर्मनीलाई पराजित गर्ने पहिलो लक्ष्यमा हामी सफल भइसकेका छाैं,’ मेक्सिकोका मिडफिल्डर मार्को फाबियानले भने, ‘तर हाम्रो प्रदर्शनमा अझै सुधार आवश्यक छ । उक्त जितपछि केहीले हामीलाई समूहविजेताको दाबेदार टोलीको दर्जा दिएका छन् तर हामीले त्यसमा विश्वास गर्नुभन्दा पनि ३ अंक जोड्नमा केन्द्रित हुन जरुरी छ । यहाँ सबै टोली उत्तिकै उत्कृष्ट छन्।’

त्यस्तै पहिलो खेलमा स्विडेनलाई नतिजा सुम्पिएको दक्षिण कोरियालाई प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न शनिबार जितको विकल्प छैन । ‘हाम्रो मनोबल घटेको छैन,’ दक्षिण कोरियाका मिडफिल्डर को जा–चेउलले भने, ‘सबैले कठिन मिहिनेतबाट नै यहाँसम्मको यात्रा तय गरेका हुन् । हामी पहिलो खेलमा भोगेको हारपछि निराश भएका समर्थकलाई खुसी पार्न चाहन्छाैं।’

सन् २००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको सेमिफाइनलसम्मको यात्रा पक्का गरेको दक्षिण कोरिया त्यसपछि २०१० मा मात्र समूहचरण पार गर्न सफल भएको थियो।

 

प्रकाशित: ९ असार २०७५ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App