८ वैशाख २०८१ शनिबार
अन्य

समृद्ध हुने सपनाको अन्त्येष्टि

गएको साता राहदानी नवीकरणका लागि म परराष्ट्र मन्त्रालय जानुपर्यो। पछिल्लो समय एमआरपी अर्थात् मेसिन रिडेबल पासपोर्ट बनाइएपछि मेरो राहदानी चाँडै सकिन थालेको छ । यस बीचमा चाँडै–चाँडै विभिन्न देशको भ्रमणमा जानु परेकाले पनि भिसाका लागि लगाइने स्टाम्प स्पेस चाँडै सकिएको होला तर यसले मलाई तनाव थप्यो।

कुनै पनि राहदानी १० वर्षसम्मका लागि काम लाग्छ । १० वर्षपछि राहदानी प्रयोग भए पनि वा नभए पनि नयाँ बनाउनुपर्छ । नयाँ राहदानी बनाउनका लागि नयाँ सूचना, नयाँ फारम, नयाँ नागरिकता र त्यसको प्रतिलिपि सबै–सबै बुझाउनु पर्छ । म पछिल्लो समय जाँदा मेरो १० वर्षे समयावधि सकिएको थिएन । पहिलेकै सबै किसिमका सूचना, पुरानै नागरिकताको प्रतिलिपि बुझाउँदा हुने थियो तर मैले यस पटक झेलेको समस्या अर्कै थियो । मेरो राहदानीमा थोरै भिसा लगाउने पाता भएकाले यो चाँडै सकिएको थियो र नयाँ राहदानी लिनका लागि मैले फेरि उही दिइसकेको सूचना नै बारम्बार दोहोर्याएर भेला पारी राहदानी विभागलाई बुझाउनु परेको थियो।

आफ्नै देशको भाषा लेख्न पढ्न त यी युवालाई गाह्रो छ भने विदेशमा गएर उहाँहरुले कसरी संवाद गर्नुहुन्छ ? रोजगारदाताका कुरा के बुझ्नुहुन्छ ? यस्तोमा कसरी उहाँहरुको दैनिकी चल्छ ? अनि, यस्तो अवस्थामा काठको बाकसमा फिर्ता नभए उनीहरुको जिन्दगी केमा फिर्ता आउला त !

हुन त कर्मचारीको तहबाट हेर्दा यो एउटा प्रक्रिया हो, जुन हामी सर्वसाधारण जनताले मान्नै पर्छ । तर एकैछिन सोच्ने हो भने दुई तीन वर्ष लगातार केही देशको भ्रमणमा निस्कने व्यक्तिले एमआरपीको नयाँ प्रतिलिपि लिनका लागि दोहो¥याएर जुन प्रक्रिया हुँदै समय मिलाउनुपर्छ वा त्यसका लागि दिनुपर्छ, त्यसले निकै तनाव दिँदोरहेछ भन्ने आफैँले महसुस गरेँ।

पहिल्यै मेरा सबै जानकारी र सूचना परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा छँदैछ भने राहदानी नवीकरणका लागि मैले सबै सूचना दोहोर्याएर दिनुको के तुक ? अनि, एमआरपीमा कति थोरै पाना बनाएको हो ? जसका कारणले बारम्बार यात्रा गर्नुपर्ने व्यवसायीलाई १० वर्षसम्म प्रयोग गर्न मिल्ने राहदानीलाई केही पाता सकिनेबित्तिकै फ्याँक्नुपर्ने ! यसमा केही पाता अझ बढी थपे न त सरकारको केही जान्थ्यो न त सर्वसाधारणले त्यसैका लागि झन्झटपूर्ण विभागको परिक्रमा गर्नुपर्यो।

खैर, यो त एउटा सानो समस्या होला किनभने यस्तो समस्या लिएर सायदै कोही विभागमा गुनासो गर्न जाँदो हो । म विभागको परिक्रमा गर्ने क्रममा भने त्यहाँ लाइन लागेका सयौँ नागरिकलाई देख्दा भने मन कटक्क खाँदोरहेछ । त्यहाँ लाइन लागेका अधिकांश युवा पढ्न र ज्ञान आर्जन गर्न बाहिर गइरहेको थिएन, पसिना बेच्न सकिन्छ कि भनी प्रतीक्षामा थियो । तीमध्ये अधिकांशलाई फारम भर्नसमेत आउँदैनथ्यो । उनीहरुले विभागका कर्मचारीलाई के–कसरी भर्ने भनी सोध्दा झर्कोफर्काे गरिरहेका हुन्थे।

आफ्नै देशको भाषा लेख्न पढ्न त यी युवालाई गाह्रो छ भने विदेशमा गएर उहाँहरुले कसरी संवाद गर्नुहुन्छ ? रोजगारदाताका कुरा के बुझ्नुहुन्छ ? यस्तोमा कसरी उहाँहरुको दैनिकी चल्छ ? अनि, यस्तो अवस्थामा काठको बाकसमा फिर्ता नभए उनीहरुको जिन्दगी केमा फिर्ता आउला त ! सोच्दा पनि मन भरङ्ग हुन्छ।रोजीरोटीका लागि बाध्यताले विदेश जान विवश हुनेहरुले आफ्नै देशमा त काँपेको स्वरले फाराम भरिदिनुस् न भन्छन् भने विदेशी भूमिमा कति हप्कीदप्की खान्छन् होला ! कठै !

यिनै दुःखी युवा हुन्, जो बाहिर गएर कमाई ल्याएको रकमले देश चलिरहेको छ, ती कर्मचारीको पेट पालिएको छ तर तिनीहरुमाथि नै असहिष्णु र अभद्र व्यवहार भइरहेको थियो । यस्तो अभद्र व्यवहार त हामी देशका हरेक सेवा लिने ठाउँमा देख्न सक्छौँ । चाहे त्यो जुनसुकै सरकारी अस्पताल होस् या सरकारी कार्यालय, उनीहरु त्यहाँ सेवाका लागि होइन, अरुमाथि हैकम लाद्न नियुक्त भएका हुन्।

यस्तो देख्दा मलाई हाम्रा प्रधानमन्त्री केपी ओलीको देश समृद्ध पार्ने सपना याद आउँछ । प्रधानमन्त्री सपना मात्र देख्नुहुन्छ, उहाँ अन्तर्गतका कर्मचारीको व्यवहार भने जनतालाई सेवाभन्दा पनि रैतिको व्यवहार गर्न उद्दत छन् । उहाँको सपना र उहाँ अन्तर्गतका कर्मचारीको व्यवहारमा कहीँकतै तालमेल देखिदैन।अहिलेको सरकारले ठूला सपना धेरै देखाएको छ तर त्यो सपना पूरा गर्ने बाटो देखाएको छैन । अहिलेकै व्यवहारले देशमा व्याप्त गरिबी, भ्रष्टाचार, अन्याय र अत्याचार न्यून हुने कुनै छाँट छैन।

देशको पहिचान लिएर पहिलो पटक देशबाहिर जान लागेका युवालाई पहिलो पाइलामा नै यो देश मेरो हो भन्ने गर्व दिलाउन अब ढिला भइसकेको छ । देशबाहिर निस्केर उनीहरुले जुन नरक भोग्नेवाला छन्, त्यसअघि कम्तीमा देशमा राम्रो व्यवहार भएको थियो भन्ने मीठो सम्झना त बोकेर जाऊन् !

त्यसै पनि राज्यको दायित्व भनेका आफ्ना युवालाई देशभित्रै रोजगारीको सुनिश्चितता दिनु हो । त्यो सकिँदैन भने कुनै श्रममा पोख्त बनाएपछि पठाउनुपर्ने हो । उनीहरुलाई शिक्षा, तालिम दिने अनि सबल र सक्षम बनाउने पहिलो प्राथमिकतामा राखी काम गर्नुपर्ने बेलामा हामी सपना चाहिँ पानीजहाज, मोनोरेल, हाइड्रोको देखिरहेका छौँ । जनताको सबलीकरण बिनाको सपनाको कुनै तुक हुँदैन।

हजार सपना बोकेर विदेश जान लागेका युवाको सपना जोगाउनु छ भने तिनलाई सशक्त बनाऊँ, तिनलाई देशमै गरिखाने बाटो बनाइदिऊँ । नत्र भने समृद्ध बन्ने सपनाको अन्त्येष्टि हुन कुनै समय लाग्ने छैन ।
 

प्रकाशित: ८ असार २०७५ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App