८ वैशाख २०८१ शनिबार
अन्य

धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक

भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि ६ कम्पनी मात्रै तयार भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि आह्वान गरेको टेन्डरमा ६ कम्पनीले मात्रै आवेदन दिएका हुन्।

प्राधिकरणले वैशाख ३१ गते टेन्डर आह्वान गरेर बिहीबार आशयपत्र खोलेको थियो । प्राधिकरणले सीमित निर्माण कम्पनीलाई मात्रै लक्षित गरेर मापदण्ड राखेकाले धरहरा पुनर्निर्माणमा अत्यन्तै कम कम्पनीको निवेदन परेको बुझिएको छ।

प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न चाहने कम्पनीको पछिल्लो तीन वर्षभित्र भ्याटबाहेक तीन अर्ब ९१ करोड २८ लाखको कारोबार हुनुपर्ने मापदण्ड राखेको थियो । त्यसैगरी भ्याटसहित तीन अर्ब १३ करोड दुई लाख ठेक्कामा धरहराजस्तै प्रकृतिको डबल बेसमेन्टको भवन सम्पन्न गराएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । जबकी, यस्तो मापदण्ड पुर्याउन सक्ने निर्माण कम्पनी आधा दर्जन मात्रै रहेको एक निर्माण व्यवसायी बताउँछन् ।

अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग साझेदारीमा कालिका रसुवा जेभी, लामा, रमन, आसिस, स्वच्छन्दता, कुमार नेपाली निर्माण कम्पनीले धरहरा पुनर्निर्माणमा आवेदन दिएका छन् । यि ६ वटै कम्पनीले विदेशी निर्माण कम्पनीलाई जोइन्ट भेन्चरको रूपमा संलग्न गराएर निवेदन दिएका छन्।

प्राधिकरणले सीमित निर्माण कम्पनीलाई मात्रै लक्षित गरेर मापदण्ड राखेकाले धरहरा पुनर्निर्माणमा अत्यन्तै कम कम्पनीको निवेदन परेको बुझिएको छ ।

प्राधिकरणकै स्रोतका अनुसार सीमित निर्माण व्यवसायीलाई टेन्डर दिने उद्देश्यले अवैज्ञानिक मापदण्ड राखिएको हो । ‘प्राधिकरणका केही कर्मचारी र सीमित ठेकेदारको सेटिङमा मापदन्ड राखिएको हो,’ स्रोतले भन्यो, ‘आवेदन दिनेको संख्या हेर्दा पनि त्यो प्रस्ट हून्छ ।’प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धर पनि न्युन निर्माण कम्पनीको मात्रै निवेदन पर्नुलाई मापदण्ड मिट गर्न नसकेको मान्न सकिने बताउँछन् ।

‘तुलनात्मक रूपमा टेन्डर आह्वानमा दर्जनौं कम्पनीले निवेदन दिने गर्छन्,’ उनले भने, ‘धरहराको पुनर्निर्माणमा पनि दुई दर्जनभन्दा बढी कम्पनीको निवेदन पर्ला भनेर सोचेका थियौं । तर, आधा दर्जन कम्पनीको मात्रै परेको छ ।’ मापदण्डलाई नै मिट गर्न नसक्दा कम कम्पनीको आवेदन परेको मानन्धरको अनुमान छ । धरहरा पुनर्निर्माण राष्ट्रिय गौरवको आयोजना तथा फरक प्रकृतिको भवन भएकाले मापदन्ड पनि त्यही अनुसार राखिएको उनले बताए।

मानन्धरको अनुसार धरहरा पुनर्निर्माणका लागि टेन्डर दिएका कम्पनीको मापदण्ड अनुसारको प्राविधिक पक्ष अध्ययन गरिन्छ । त्यसबाट छनोट भएका कम्पनीमध्ये सबैभन्दा कम रकम राख्नेले ठेक्का पाउनेछ । यसको निक्र्याैलका लागि अझै हप्ता दिन समय लाग्ने प्राधिकरणले बतायो ।धरहरा पुनर्निर्माणमा झण्डै चार अर्ब लगानी लाग्ने अनुमान प्राधिकरणको छ । दुई वर्षभित्र सम्पन्न गर्न धरहरा पुनर्निर्माण अगाडि बढाउन ठेक्का लगाएर असारको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गर्ने बुझिएको छ।

धरहरा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा आफ्नी महारानी त्रिपुरा सुन्दरीदेवीका निर्माण गरेको इतिहास पाइन्छ ।थापाले दुई वटा धरहरा बनाएका थिए । १९९० सालको भूकम्पमा भीमसेनको नामको धरहरा भने जगैदेखि भत्कियो, महारानीको नामको पनि चिरा मात्रै पर्यो । तत्कालीन राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालअघि ११ तला रहेको त्यही धरहरालाई नौ तलाको बनाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पमा त्यो धरहरा ढल्यो।

उक्त धरहराको ठूलोलाई यथावत राखेर त्यसैको छेउमा अर्को २२ तलाको धरहरा बनाउने प्राधिकरणले योजना अघि सारेको छ । प्राधिकरणले धरहराको डिजाइन यसअघि सार्वजनिक गरिसकेको छ । नयाँ बन्ने धरहरा २२ तलाको हुन्छ भने मोटाइ पनि साबिकको भन्दा ठूलो हुनेछ । नयाँ बन्ने धरहरामा पहिलेको जस्तै भर्याङ हुनेछ भने ‘लिफ्ट’को व्यवस्था गरिने जनाइएको छ । अब बन्ने धरहरा भने पर्यटकीय दृष्टिकोणबाट निर्माण हुने प्राधिकरणले बतायो ।

प्रकाशित: ८ असार २०७५ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App