७ वैशाख २०८१ शुक्रबार
विचार

योग साधना

पाँच हजार वर्ष पुरानो परम्पराका रुपमा रहेको योग फेरि हाम्रो जीवनको एउटा अभिन्न अंग बन्न थालेको छ। चौथो अन्तर्राष्ट्रिय योग दिवस बिहीबार संसारभरि यसको अभ्यास गरेर मनाइएको छ। नेपाल र भारतमा योगलाई विशेष महत्वका साथ लिइने भएकाले यसलाई झनै उत्साहका साथ आत्मसात् गर्न थालिएको छ। संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउने निर्णय गरेयता यसको महत्ता थप उजागर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो। त्यसमा नेपाललगायत एक सय ७५ मुलुकले सहर्ष साथ दिएका कारण आज यो विश्वकै सम्पदाका रुपमा प्रयुक्त हुन पाएको छ। भारतीय प्रधानमन्त्री मोदीले योगको फैलँदो प्रभावलाई उजागर गर्दै योग दिवसका सन्दर्भमा भनेका छन्, ‘देहरादुनदेखि डब्लिन, सांघाईदेखि सिकागोसम्म, योग जताततै फैलिएको छ।’ वास्तवमा अमेरिकाको टाइम्स स्क्वायरदेखि फ्रान्सको आइफेल टावरसम्म गरिएका बृहत् योगाभ्यासले संसारलाई यसको आवश्यकताबारे बुझाएका छन्। यसपटक भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा मुक्तिनाथ दर्शन र त्यसैको पृष्ठभूमिका हालै गरिएको योगाभ्यासले समेत यस क्षेत्रको प्रवद्र्धनमा योगदान पुगेको छ। संसारभरिका सञ्चारमाध्यमका निम्ति योग दिवसका विभिन्न बान्की आकर्षणको विषय बन्न पुगेका छन्।

संसारभरि नेपालको ‘ब्रान्ड’ सुन्दर र शान्त मुलुकका रुपमा छ। यहाँका नागरिकको उन्मुक्त हाँसोलाई यहाँ आउने पर्यटकले हत्पति बिर्सन सक्दैनन्। यसकारण पनि आध्यात्मिक शान्तिका निम्ति नेपालमा आएर ध्यान गर्न प्रेरित गर्ने गतिविधि सञ्चालन गर्न सकिन्छ।

संयुक्त राष्ट्रसंघले चौथो योग दिवस २०१८ को नारा ‘शान्तिका लागि योग’ दिएको छ। हाम्रै क्षेत्रमा उत्पत्ति भएको योगलाई शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासका रुपमा प्राचीन कालदेखि अभ्यास गरिँदै आएको हो। विशेषगरी सन्तहरूले यसलाई जीवनको एक अभिन्न अंगका रुपमा अंगीकार गरेका थिए। योग साधनाकै कारण उनीहरू शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहे र समाजलाई योगदान गरे। केही वर्षयता हाम्रो समाजमा पनि योगप्रतिको आकर्षण बढेको छ र धेरैले यसलाई आफ्नो जीवनपद्धति बनाएका छन्। योगमा शारीरिक अभ्याससँगै जागरणलाई समेत जोडेर हेर्ने गरिन्छ। यसले व्यक्तिमा बढाउने चेतनाबाट समाजोपयोगी कार्य सम्पन्न गर्न समेत सहज हुन्छ। चित्तशुद्धिबाट कर्मशुद्धि सम्भव छ। नियमित शारीरिक अभ्यासको आवश्यकतालाई अहिले संसारभरि अंगीकार गरिएको छ। विश्व स्वास्थ्य संगठनले शारीरिक सक्रियताका निम्ति निरन्तर आग्रह गर्दै आएको छ। यस्तो सक्रियताले अहिले उच्च रक्तचाप, हृदयाघात, चिनीजस्ता नसर्ने रोगबाट हुने मृत्युदर घटाउन मद्दत पुग्ने भएकाले पनि योगाभ्यास वा यस्तै अन्य शारीरिक क्रियाकलापमा जोड दिइँदै आएको छ । नेपालमै पनि मृत्युको ६० प्रतिशत कारणका रुपमा यस्ता रोगहरूलाई लिने गरिएको छ। भारतमा ६१ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गर्छ। यसका आधारमा पनि व्यक्तिको सक्रियताले मृत्यु घटाउन र व्यक्तिको कार्यक्षमता बढाउन मद्दत पुग्ने देखिन्छ । विश्व योग दिवसको उपलक्ष्यमा यस्ता विषयमा चर्चापरिचर्चा भएका छन्।

आज योगलाई भारतले आफ्नो उपहारका रुपमा संसारमा प्रस्तुत गरिरहेको छ। हाम्रो मुलुकमा पनि केही वर्षदेखि माघ १ गते योग दिवस मनाउने गरिएको थियो । अन्तर्राष्ट्रिय योग दिवसमा हामी सहभागी भएर धुमधामसाथ मनाए पनि राष्ट्रिय योग दिवसलाई समेत मनाउन सरकारी तबरबाट पहल गरे अझ राम्रो हुनेछ। आखिर स्वस्थ जीवनका निम्ति यस्ता दिवसमार्फत सर्वसाधारणलाई प्रेरित गर्न सक्दा सकारात्मक प्रभाव पर्न सक्छ। भारतले अन्तर्राष्ट्रिय योग दिवसलाई अगाडि बढाएजस्तै नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवसलाई अघि बढाउनुपर्ने धारणा पनि यहाँ बनिरहेको छ। संसारभरि नेपालको ‘ब्रान्ड’ सुन्दर र शान्त मुलुकका रुपमा छ। यहाँका नागरिकको उन्मुक्त हाँसोलाई यहाँ आउने पर्यटकले हत्पति बिर्सन सक्दैनन्। यसकारण पनि आध्यात्मिक शान्तिका निम्ति नेपालमा आएर ध्यान गर्न प्रेरित गर्ने गतिविधि सञ्चालन गर्न सकिन्छ। योगमा ध्यान, श्वासप्रश्वास र व्यायामको समेत संयोग हुनेहुँदा यसलाई जीवनशैलीका रुपमा अपनाउन सर्वसाधारणलाई प्रेरित गर्नु उचित हुन्छ। विशेष गरी सहरी क्षेत्रमा बस्ने व्यक्तिको शारीरिक अभ्यास कम हुन्छ। तिनका मुटु, मांसपेशी र सम्पूर्ण शरीरको तन्दुरुस्तीका लागि योगाभ्यास उपयोगी हुन्छ। यसबाहेक पनि नगरपालिकाहरूले खुला पार्कहरूको व्यवस्था गरी व्यायाम र योगका निम्ति ठाउँको व्यवस्था गर्न सक्छन्। साइकल लेन र पैदल यात्राका लागि पनि स्थानीय तहले पहल गरून्। स्वस्थ नागरिक भएमात्र देश समृद्ध बन्छ। स्वास्थ्य नै धन हो।

प्रकाशित: ८ असार २०७५ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App