८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

योग गरे स्वस्थ, नगरे रोग

काठमाडौं - शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ। योग साधनाले भरिपूर्ण व्यक्ति मात्र परिवार, समाज र विश्वमा सुखी रहने योग गुरुहरुले बताएका छन्। ४ औं विश्व योग दिवसका अवसरमा बिहीबार योगगुरुहरुले योगको महत्व दर्शाएका हुन्। योगले शरीरमा प्रतिरक्षा शक्ति बढाउने हुनाले योगीलाई रोगले सजिलै आक्रमण नगर्ने बताए। सोही अवसरमा शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालयले प्रवचन कार्यक्रम आयोजना गरेको हो। योग गुरुहरुले योगको बहुआयमिक फाइदाका बारेमा बताए।

‘योगपद्धतिबाट समपुगेसम्म योग काम लाग्दैन, विश्वका धेरै नसर्ने रोगहरु योगकै अभावमा भइरहेका छन् ’ स्वामी आनन्द अरुणले भने। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा मृत्युजन्य रोगको धेरै हिस्सा डिप्रेशन बन्ने कुरा औंयाएकाले यसको औचित्य योगकै आयम ध्यानसँग गाँसिएको उनले बताए। उनका अनुसार मनमा प्रति दिन ७० हजार विचार खेल्छन्। जसमा एउटा विचार मात्र ४० देखि ५० सेकेन्ड मनमा बस्छ। मनमा आउने अनावश्यक विचारले मान्छेलाई अशान्त बनाउँछ। ‘आज २५ प्रतिशत विद्यार्थीमा मानसिक रोग भइसकेको छ,’ उनले भने। ‘मानसिक रोगको समाधान रसायन औषधीवाट सम्भव छैन, पश्चिममा विश्वविद्यालयहरुमा योगको अनुसन्धान गरिहेका छन्,’ उनले भने। पछिल्लो समय नसर्ने धेरै रोगहरु डिमेन्सिया, अल्जाइमर, हृदयघात, मधुमेह, पक्षघात, दम जस्ता रोगहरु योगकै कमीले बढिरहेको योगगुृरुहरुले औंल्याए।

स्वामी अरुणले नेपालले बुद्धजयन्तीलाई विश्व ध्यान दिवसको रुपमा प्रस्ताव लैजान आग्रह गरे। योगको प्राज्ञिक विकास गर्न सकेको खण्डमा विश्वभरका योग पर्यटक भित्रिने र नेपाली अर्थतन्त्रमै समेत सहयोग पुग्ने अरुणले बताए। ‘उद्योगलाई जस्तै योग र ध्यानलाई उद्योगको रुपमा विकास गरौं,’ उनले भने।

कार्यक्रममा योग गुरु डा. हरिप्रसाद पोख्रेलले योग पद्धति शरीरको लागि प्रतिरोधात्मक थेरापी भएको उनले बताए। ‘योगले नै मानिस सबै रुपमा स्वस्थ र शान्त बन्छ’ रोग लागिसकेपछि पुनस्र्थापनका लागि उपयोगी हुन्छ,’ पोखरेलले भने। यसलाई जनस्वास्थ्यसँग जोड्नको लागि प्रत्येक अस्पतालहरुमा योग क्लिनिक राख्न उनले सुझाए। यस विषयमा पच्चीस वर्ष अघि नै सरकारसँग प्रस्ताव राखेको भए पनि लागू गर्न पछि परिरहेको बताए। ‘योग साधना हुनेबित्तिकै अस्पतालमा बिरामीको लाइन स्वतः घट्छ र उपचारमा खर्च स्वतः घटेर जान्छ,’ उनले भने।

सोही क्रममा योग गुरु टिएन पथिकले गलत शिक्षा पद्धतिको कारण समाज योगमय बन्न नसकेको र सबै क्षेत्रमा त्यसको प्रभाव परेको बताए। ‘यो शिक्षाको सुधार योग शिक्षाबाट मात्र सम्भव छ,’ उनले भने। यसको लागि शिक्षानीतिमै योगशिक्षालाई समावेश गरेर लैजानुपर्ने पथिकले जोड दिए। पथिकका अनुसार मानिसको तीन वटा मस्तिष्क मध्ये अहिलेसम्म चेतन मस्तिष्कलाई सघाउन पु-याउने शिक्षानीति भएकाले अवचेतन र अचेत मस्तिष्कको प्रयोग हुन नसकेको उनले बताए। यी दुई मस्तिष्कले कला र अविष्कारको क्षेत्रमा काम गर्छ। तर हाम्रो शिक्षानीतिले यी दुई मस्तिष्कको उपयोग हुन दिएको छैन। उनले भने, ‘नीति,नैतिकता र मानवीयतावाट कर्मशिल बन्न योगले मात्र सम्भव छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, प्रविधी तथा विज्ञान मन्त्री गिरीराजमणि पोखरेलले योगलाई सरकारले व्यवहारिक रुपमै लागू गर्दै जाने प्रतिबद्धता जनाए। ‘अब मन्त्रीलाई बोलाएर योग ध्यानको विधी सुरु गर्छौं,’ उनले भने। योगको क्षेत्रमा विकास गर्न योगमाया विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिसकेको जनाए। ‘सरकारले योगसँगै जीवनउपयोगी र व्यवसायिक शिक्षामा जोड दिँदै जानेछ,’ मन्त्री पोखरेलले भने।

कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुरु पूर्णिमाको दिनलाई ध्यान दिवसको लागि पहल गर्ने प्रतिबद्धता जनाए। ‘पहिला यो प्रस्तावले बल पाएन, अब यो प्रस्तावले बल पाउँछ,’ उनले भने। उनले योग शिक्षालाई शारीरिक अभ्यास, जीवनपद्धति बनाउन यो दिवसले भूमिका खेल्ने बताए। ‘यो दिवस औपचारिकतामा सीमित नहोस्, आउने दिनमा पाठ्यक्रमै योगलाई समावेश गर्नेछौं,’ उनले भने। उनले योगमा शरीर, नैतिकता र चेतनाको रंगहरु मिसिएकाले यो स्वस्थ रहन सबैको लागि उपयोगी भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध र सुखी नेपाल नारालाई लागू गर्न योगबाटै सम्भव भएको बताए। ‘योग शिक्षाको जगमै मात्र सुखी र समृद्ध नेपाल सम्भव छ,’ उनले भने। यो वर्षको योग विश्व शान्ति र सामान्जस्यताको लागि योग,’ भन्ने नाराको साथ विश्व योगदिवस मनाइएको छ। संयुक्त राष्ट्र संघले सन् २०१५ मा विश्व योग दिवस पारित गरेपछि तीन वर्षदेखि नेपालले यो दिवस मनाइरहेको छ।

प्रकाशित: ८ असार २०७५ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App