coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन

बर्दियाको चितलहवाास्थित दसगजामा रहेको गाउँ। तस्बिर : शरद/नागरिक

बर्दिया - भारतीय पक्षको किचलोका कारण जिल्लाका सीमावर्ती गाउँहरू अशान्त थिए। भारतीय पक्षले बेलाबेलामा गर्ने मनपरी र ज्यादतीबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली आजित हुन्थे। दुई देशबीचको सीमांकन हुने दसगजावारि राज्यसंयन्त्रको पहुँच थिएन। जसले गर्दा भारतीय पक्षको बलजफ्ती र प्रताडना भोग्न नेपाली बाध्य थिए।

दसगजामै सडक खनेर वारिका बस्तीलाई डुबानमा पार्ने, अन्तरसीमा आवतजावतमा व्यवधान पु-याउने र आपराधिक घटनालाई प्रश्रय दिने गरी दसगजा क्षेत्रका अवाञ्छित गतिविधि नियन्त्रण गर्न उदासीनता देखाउने भारतीय पक्षका कारण असुरक्षित ठान्ने नेपाली केही समययता राहतको सास फरेका छन्। ८० किलोमिटर खुला सीमा क्षेत्रमा नेपाल प्रहरीको सघन र प्रभावकारी परिचालन भएसँगै सीमावर्ती क्षेत्रका नेपाली सुरक्षाको अनुभूति गर्न थालेका छन्। प्रहरीको गस्तीका कारण सीमा क्षेत्रका बासिन्दा सुरक्षित बनेको अनुभव गरेका हुन्। सीमामा हुने अपराध नियन्त्रण र शान्तिसुरक्षाका लागि खटिने नेपाल प्रहरीको रणनीतिक योजना कार्यान्वयन हुन थालेपछि दसगजा क्षेत्र त्रासमुक्त भएको स्थानीय बताउँछन्।

८० किलोमिटर खुला सीमा क्षेत्रमा नेपाल प्रहरीको सघन र प्रभावकारी परिचालन भएसँगै सीमावर्ती क्षेत्रका नेपाली सुरक्षाको अनुभूति गर्न थालेका छन्। प्रहरीको गस्तीका कारण सीमा क्षेत्रका बासिन्दा सुरक्षित बनेको अनुभव गरेका हुन्।

‘सीमामा भारतीय पक्षले गर्ने बलमिच्याइँमा कमी आएको छ,’ दसगजामा भेटिएका गुलरिया नगरपालिका ७ का कमल गोडियाले भने, ‘सीमा क्षेत्रमा वर्षौंदेखि बसोबास गरे पनि शान्तिको यस्तो अनुभव यसअघि कहिल्यै भएको थिएन।’ भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा आउजाउ गर्ने नेपालीलाई बिनाकारण दुःख दिनेलगायत दुव्र्यवहारका घटनामा निकै कमी आएको छ। सीमामा नेपाली सुरक्षाकर्मीसमेत तैनाथ भएको मनोवैज्ञानिक प्रभाव भारतीय सुरक्षाकर्मीमा परेको देखिन्छ। ‘सीमामा हाम्रा सुरक्षाकर्मीको सक्रियता बढेपछि नेपालीलाई अनाहकमा तनाव र सास्ती दिने भारतीय सुरक्षाकर्मीको व्यवहार क्रमिक रूपमा बदलिँदै गएको छ,’ गोडियाले भने, ‘पहिले जस्तोसुकै समस्या हुँदा पनि चुप लाग्नुपर्ने भए पनि अहिले कुनै पनि अप्ठ्यारो हुँदा सीमामा परिचालित नेपाली सुरक्षाकर्मीलाई जानकारी गराउने गरेका छौं।’ नेपाली सुरक्षाकर्मी आफ्नो देशका जनताको समस्या तत्काल सुनेर समाधान गर्न अग्रसर हुने गरेको उनको भनाइ छ।

नेपाली सुरक्षाकर्मी नहुँदा दसगजावारि नेपाली बस्तीमा समेत भारतीय सुरक्षाकर्मीले नै गस्ती गर्ने गरेका थिए। जसकारण उनीहरूलाई ज्यादती गर्न सजिलो भएको थियो । तर, अहिले अवस्था फेरिएको छ । स्थानीय राधेलाल गुप्ताका अनुसार नेपाल प्रहरी परिचालन भएपछि भारतीय पक्षको दादागिरी गर्ने प्रवृत्ति कमजोर बनेको छ।

प्रहरी परिचालन भएपछि दसगजा क्षेत्रमा हुने अपराध नियन्त्रणमा आएको बर्दियाका एसपी जनक भट्टराईले बताए। ‘शान्तिसुरक्षाको दृष्टिले दसगजा क्षेत्र अत्यन्त संवेदशील मानिन्छ। त्यसैले सीमा क्षेत्रमा हामीले पहुँच बढाएका छौं,’ उनले भने, ‘यसको प्रतिफल निकै सकारात्मक भएको पाएका छौं।’

नेपाली सुरक्षाकर्मीको नियमित गस्तीपछि अपराध नियन्त्रणमा स्थानीयको सकारात्मक सहयोग गरिरहेको उनको भनाइ छ। ‘भारतीय पक्षले दुःख दिनेबित्तिकै सीमावासीले हामीलाई खबर गर्छन्,’ एसपी भट्टराईले भने, ‘हामी तत्काल आधिकारिक व्यक्तिसँग सम्र्पक गरेर समस्या समाधान गर्ने गरेका छौं।’ लागूऔषध, अवैध आयात, मानव बेचबिखनजस्ता अपराध नियन्त्रणका लागि भारतीय पक्षको पनि सहयोग लिइएको उनले जानकारी दिए।

प्रहरी तथ्यांकअनुसार एक वर्षको अवधिमा लुकीछिपी भारत छिर्न खोज्ने एक दर्जनभन्दा बढी नेपाली चेलिबेटी दसगजा क्षेत्रबाट उद्धार गरिएका छन्। दसगजा क्षेत्रबाटै हातहतियार र लागूऔषध बरामद गर्न प्रहरी सफल भएको तथ्यांकमा उल्लेख छ। प्रहरी सक्रियता बढेसँगै दसगजमा निर्माण भइरहेका सडक भारतीय पक्षबाटै रोकिएको छ। सडक निर्माण रोकिएसँगै बर्खामा डुबानमा परिने पिरलो टरेको स्थानीय विजय गुप्ताले बताए। एसपी भट्टराईले दुवै देशका सुरक्षा संयन्त्रबीच समन्वय भएर अपराध नियन्त्रण भइरहेको बताए। उनले अन्य समस्यासँगै सीमामा रहेका पिलरको संयुक्त अनुगमन भइरहेको पनि उल्लेख गरे।

सीमामा तीनखाले सुरक्षा प्रबन्ध
नेपाल–भारत सीमासँग जोडिएका जिल्लामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्रिय भएको छ। सीमा क्षेत्रकेन्द्रित सुरक्षा अभियान सुरु गरेपछि आपराधिक क्रियाकलाप नियन्त्रणमा आएको प्रहरीको दाबी छ। रणनीतिक योजनाअनुरूप तीन प्रकारका अपरेसनका माध्यमले आपराधिक क्रियाकलाप नियन्त्रण गरिएको प्रहरीले जनाएको छ। एसपी भट्टराईका अनुसार सुरक्षा संवेदशीलता अत्यधिक भएका ठाउँमा प्रहरीले झुक्याएर गर्ने चेकिङ (एम्बुस) टोली, पट्रोल (गस्ती) र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको छ। आवश्यक परेका बेला ‘क्विक रेस्पोन्स टिम’ समेत परिचालित गर्ने प्रबन्ध मिलाइएको उनले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा तस्करीका घटनामा प्रहरीले निगरानी बढाएकोे भट्टराईले बताए। उनका अनुसार सीमामा दुवै देशको संयुक्त गस्ती निरन्तर भइरहेको छ।

प्रकाशित: ८ असार २०७५ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App