७ वैशाख २०८१ शुक्रबार
विचार

समृद्धिको सुवर्ण अवसर

विगतमा २२ वर्षमा २६ पटक परिवर्तन भएको सरकारबाट जनताले पनि ठूलो आशा गरेनन्, केवल शान्ति सुरक्षाबाहेक।

एकातिर अस्थिर सरकार थियो भने अर्कोतर्फ नौ महिनाभन्दा बढी सरकार चल्न सक्दैन भन्ने पक्का पक्की नै थियो । एउटा सरकारले ल्याएका योजनालाई अर्को सरकारले पन्छाउदै नयाँ योजना ल्याउने प्रवृत्तिले पनि योजनाहरूले पूर्णता पाउन सकेनन् । हामीकहाँ अर्कोले ल्याएको कामलाई निरन्तरता दिँदा आफू लोकप्रिय हुन सकिँदैन र जस अर्कैको पोल्टामा नै जान्छ भन्ने धारणा छ ।

नयाँ नयाँ योजनाहरू बनाएर केवल बजेट तर्जुमा गरेको खण्डमा आफ्नो भोट सुरक्षित हुन्छ भन्ने गलत धारणाले छोड्न सकेको अवस्था देखिएन पहिलेका सत्तासीनहरूमा । हरेक सरकार या पार्टीको लक्ष्य भोट कमाउने बाहेक विकासका कामहरूलाई अगाडि बढाउनेतर्फ भएन यो तीन दशकको समयमा जुन जनताले महसुस गरेको कुरा हो ।हरेक पटक लोकप्रिय बजेट ल्याएर चुनाव जित्ने माहौल बनाउने कोसिस भइरहेको थियो । यो क्रम लामो समयदेखि चल्दै आएको हो । जनताले स्थिर सरकार पाउने आशामा धेरै वर्ष बिताए भने स्थिर सरकारले रातारात परिवर्तन ल्याउँछ भन्ने आशा पनि थियो ।

देशले आजको भोलि नै समृद्धितर्फ छलाङ्ग मार्न सक्छ भन्ने ठूलो अपेक्षा पालेका जनताले गरेको अपेक्षा निकै ठूलो थियो । त्यो अपेक्षालाई पूरा गर्न पक्कै पनि सकेन यो सरकारको पहिलो बजेटले । अहिले लामो समयपश्चात आएको पाँच वर्षे सरकारले ल्याउन सक्ने पहिलाको भन्दा विशेष आकर्षक बजेट सुन्ने व्यग्र प्रतीक्षामा रहेका जनताहरूले बजेट भाषणपश्चात् मन खुम्चाउनु र कहाँ कमजोरी भेटिन्छ भनेर चियाएर बसेका कतिपय राजनीतिक दलका नेता कार्यकर्ताहरू उफ्रनु यी सब सामान्य कुरा हुन्।

अहिलेको बजेटले पुनर्निर्माण, विज्ञान प्रविधि, वाणिज्य तथा आपूर्ति, यातायात पूर्वाधार, सिँचाइ आयोजना, ऊर्जा, हवाइ, वन तथा वातावरण, स्वास्थ्य, सहरी विकासलाई प्राथमिकतामा राखेको छ । १३ खर्ब १५ अर्बको राजस्वमुखी बजेट ल्याएको ओली सरकारले जनताले अपेक्षा गरेअनुसार वृद्धभत्ता बढाएन । तर एक लाख बराबरको स्वास्थ्य बीमाको व्यवस्था भने गरिदिने भएको छ ।

यो बजेट करछली गर्नेहरूका लागि तगारो बन्नेछ, नियतवश मिलाएर पैसा कमाउनेहरूलाई पनि यसले छोड्ने देखिँदैन तर साना निमुखा र निम्न आर्थिक अवस्थाका मानिसहरूलाई विशेष फाइदा हुने खालको छ जसले गर्दा देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि यी वर्गबाट योगदान हुनेछ । यस अर्थमा कि यदि निम्न वर्गकालाई मध्यम वर्गीय अवस्थासम्म ल्याउन सक्ने हो भने देशमा गरिबी मात्र घट्दैन शिक्षित वर्गको पनि विकास हुन्छ । शिक्षामा उचित लगानी गर्न सक्षम हुन्छन् यो वर्ग । शिक्षामा लगानी गर्नु भनेको देशको अर्थतन्त्रलाई बलियो बनाउनु हो यस अर्थमा यो बजेट प्रभावकारी हुनेछ । लामो समयदेखि खस्कँदै गएको देशकोअर्थतन्त्रलाई ट्रयाकमा ल्याउन यो बजेट सही नै साबित हुनेछ भन्ने ठाउँ छन् । हुनत तत्कालैका लागि यसले निराशा पैदा गर्ला तर हानिकारक भने छैन ।

यो सरकारले पाँच वर्षसम्म निरन्तर बजेट ल्याउनेछ र हरेक वर्ष यो बजेटले छुटेका क्षेत्रहरूलाई समेट्ने मौका पाउनेछ । उद्योग व्यवसाय गर्नेहरूका लागि यो बजेटले न्याय गरेको छ भने राजस्व बढी संकलन गर्नुपर्ने चुनौती छ । करछली गर्नेहरूका लागि भने अपाच्य हुनेछ भनेर अनुमान लगाउन सकिन्छ ।अहिलेको समय भनेको देशले छलाङ मार्नुपर्ने समय हो ।विविध सम्भावना रहेको समय हो । अबको १० वर्षभित्र नै देशले समृद्धि हासिल गर्नसक्नु पर्नेछ ।

अहिले देशमा युवा जनशक्ति प्रशस्तै छन् । सरकारले चाहेको खण्डमा युवा जनशक्तिलाई बाहिरिनबाट रोकेर देशविकासका काममा सञ्चालन गर्न सक्नेछ । खाडीमुलुकमा गएर तातो घाममा काम गरिरहेका हाम्रा दाजुभाइहरूले अवसर पाए भने देशमा नै बसेर पसिना बगाउन चाहन्छन् । यो अवसर अबको सरकारले दिने र यी जनशक्तिलाई सही परिचालन गर्न सक्षम भएको खण्डमा देश विकास गर्न समय लाग्दैन तर अबको २५ वर्षपछि देशमा वृद्ध र बालबालिकाको संख्या बढीहुनेछ । अहिले एक सन्तानको अवधारणाविकास हुँदै गएको छ भने ढिलो विवाह गर्नु सही लाग्न थालिसकेको छ हरेकलाई । जुन देशको भविष्यका लागि अनुकूल हुँदै होइन ।

भविष्यमा काम गर्न सक्ने जनशक्ति कम हुँदै जानेछन् । अहिलेका युवा पिँढीवृद्ध अवस्थातिर जान्छन् भने जन्मदर कम हुने कारण देशले प्रशस्त युवा शक्तिलाई परिचालन गर्न नसक्ने अवस्थाको सिर्जना हुनेछ । वृद्धलाई दिने सेवा–सुविधा र बालबालिकालाई दिने सेवा–सुविधाका कारण देशलाई आर्थिक भार पर्न जान्छ । यो अवस्थामा देशले चाहे जसरी विकास गर्न गाह्रो मात्रै पर्दैन, आर्थिक भारले

थिचिन्छ सरकार
लामो समयदेखि बिग्रेको अर्थतन्त्रलाई फ्रेममा ल्याउनु नै यो सरकारलाई चुनौती बनेको छ । त्यसैले पनि अहिलेको बजेट सुन्दा आकर्षक नलाग्न सक्छ तर शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकता दिएका कारण केही आशा गर्ने ठाउँभने पक्कै छाडेको छ । पहिले मीठो, पछि तीतो हुनुभन्दा पहिले तीतो र पछि मीठो हुनुपर्छ भन्ने मान्यतामा आएको यो बजेटले अहिले जनतामा उत्साह प्रदान गर्न नसके पनि यसको कार्यशैलीले जनताले बिस्तारै यसलाई राम्रो मान्नेछन् भन्ने लाग्छ ।

र त्यो वातावरणकोसिर्जना गर्नैपर्छ यो सकरारले । अबको जनताको चाहना यही नै हो । देश समाजवादतर्फ उन्मुख हुनुपर्छ भन्ने जुन चाहना छ, त्यसलाई ओली नेतृत्वको सरकारले पूरा गर्नेपर्छ । यदि यो पूरा गर्न सकेन भने कम्युनिस्ट सरकार फेरि सरकार चलाउन सक्षम हुनेछैन । जनताको विश्वास फेरि कहिल्यै पनि जित्न सक्नेछैन ।

प्रकाशित: ७ असार २०७५ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App