८ वैशाख २०८१ शनिबार
समाज

हुन्डी र सुन तस्करी आरोपमा पोद्दार पक्राउ

काठमाडौं- हुन्डीको मुख्य कारोबार गर्ने र सुन तस्करीमा संलग्न रहेको भन्दै व्यापारी विमलकुमार पोद्दारलाई नियन्त्रणमा लिइएको छ । ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले पोद्दारलाई नियन्त्रणमा लिएको हो।

उनलाई अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । पोद्दारलाई अनुसन्धान टोलीले पक्राउ गरे पनि काठमाडौं जिल्ला अदालतबाट सार्वजनिक अपराधमा समय लिएर कालिमाटी प्रहरी हिरासतमा राखिएको छ । लामो समयदेखि उनी हुन्डी कारोबारमा संलग्न रहेको प्रहरीले दाबी गरे पनि उनलाई पक्राउ भने गरिएको थिएन ।

विदेशी मुद्रा तस्करीमा पनि उनलाई प्रहरीले अनुसन्धान गरेको थियो । ३३ किलो सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भन्ने मोहनकुमार अग्रवालसँग पोद्दारको सम्पर्क रहेको देखिएको छ । ‘केही शंकास्पद व्यक्ति अझै पक्राउ पर्न सक्छन्, पोद्दारको उठबस एमकेसँग देखिएको छ,’ अनुसन्धान टोलीका एक सदस्यले भने, ‘उनको विगत र हालको सम्पर्क पनि सुन तस्करसँग देखिएको छ ।’

२०६९ असोज १९ को त्रिभुवन विमानस्थलमा भारतीय नागरिक विनोदकुमार सोनी दुबई जाने फ्लाई दुबईको उडानबाटै १ करोड २४ लाख रुपैयाँबराबर विभिन्न विदेशी मुद्रासहित पक्राउ परेपछि सोनीले पोद्दारको नाम लिएका थिए ।

त्यतिबेला भारतीय नागरिक सोनी सुन किन्न दुबई जाने क्रममा पक्राउ परेका थिए । सो घटनामा विमानस्थलको सुरक्षा जिम्मेवारीमा रहेका तत्कालीन एसएसपी रविराज श्रेष्ठको नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको संलग्नताबारे अनुसन्धान गरेको थियो । विदेशी मुद्रा संकलन गरेर सुन तस्करीका लागि सोनीले पैसा लिएर गएको रहस्य सार्वजनिक भएपछि एसएसपी श्रेष्ठ बर्खास्तगीमा परेका थिए । यीमध्ये तत्कालीन समयमा फरार रहेका मुरारीलाल गोयल (जमालिया), पवन अग्रवाल, विमल पोद्दार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, राजेश अग्रवाल, ज्ञानकुमार श्रेष्ठलगायतका व्यक्ति अवैध हुन्डी, विदेशी मुद्राको कारोबार तथा सुन तस्करीको काममा सक्रिय रूपमा संलग्न भएको निष्कर्ष प्रहरीले निकालेको थियो।

सो समूहले दिएको सामान प्रहरीले विमानस्थलको सबै सुरक्षा घेरा कटाएर भित्र लगी तस्करको सहयोगीलाई दिने गरेको सोही अनुसन्धानमा खुलेको थियो । त्यसबेला प्रहरीले पोद्दारले नै पैसा संकलन गरी पठाएको जनाएको थियो तर प्रहरीकै केही अधिकृतसँग उनको राम्रो संगत भएकाले उनी तत्काल पक्राउ परेका थिएनन् ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित अनुसन्धान टोलीले पूर्व प्रहरी अधिकृतको पारिवारिक सदस्यका विषयमा पनि अनुसन्धान गरिरहेको छ । २०५५ मंसिरमा तत्कालीन प्रहरी उपरीक्षक कल्याणकुमार तिमल्सिनालाई विदेशी मुद्रा तस्करी रोक्न नसकेको र दिएको जिम्मेवारी पूरा नगरेको भन्दै ३ वर्ष तलब वृद्धि रोक्कासहितको कारबाही गरिएको थियो ।

हाल अनुसन्धान टोलीले पोद्दार पक्राउ गरेपछि राजस्व चुहावट छानबिनसम्बन्धी संयुक्त संसदीय समितिको प्रतिवेदन र २०६९ सालमा प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिका विषयमा अनुसन्धान गरिरहेको छ । ‘सुन तस्करीसम्बन्धी पुराना प्रतिवेदनमा उल्लेख गरिएका व्यक्ति र उनीहरूले त्यतिबेला तस्करीमा कसकसलाई सहयोग गरेका रहेछन् भन्ने विषयमा पनि अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धान टोलीका एक सदस्यले भने।

२०६९ सालमा विमानस्थलमा कार्यरत एसएसपी श्रेष्ठ बर्खास्तगीमा परेपछि प्रहरीले अनुसन्धान गर्दा विमानस्थलमा चार वर्षदेखि कार्यरत असई हिराकाजी कुमालको पनि संलग्नता देखिएको थियो । कुमालको हुन्डी कारोबारी पोद्दारसँग सम्पर्क देखिएपछि कुमाललाई नियन्त्रणमा लिइएको र कुमालले एसएसपी श्रेष्ठमार्फत नै पोद्दारले पनि विदेशी मुद्रा तस्करी गराउने गरेको बयान दिएका थिए । अनुसन्धान टोलीले यसअघि केही हुन्डी कारोबारी पक्राउ गरे पनि सुन र हुन्डी दुवै कारोबारमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

प्रकाशित: ७ असार २०७५ ००:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App