७ वैशाख २०८१ शुक्रबार
राजनीति

दैलेखकाे सीमाङ्कन टुङ्गियो !

दैलेख- स्थानीय तह पुनःसंरचनाअन्तर्गत दैलेख जिल्लाको सीमाङ्कन कार्य टुङ्गिएको छ । लामो छलफल र बहसपछि जिल्लामा पाँचवटा नगरपालिका र तीनवटा गाउँपालिका गठन गर्नेगरी सर्वसम्मत रुपमा टुङ्गाइएको बुझिएको छ ।

निर्वाचन क्षेत्र नं .२ मा तीनवटा नगरपालिका साथै क्षेत्र नं १ मा दुईवटा नगरपालिका र तीनवटा गाउँपालिका रहने गरी जिल्लास्थित सर्वदलीय बैठकले टुङ्गो लगाएको हो ।

जिल्लाका सबै क्षेत्रबाट आएका सुझावसँगै हेरफेरसहित सीमाङ्कन गरिएको साथै साविक नारायण र दुल्लुसँगै राकम कर्णाली, देवलोक, रानीमत्ता गरी पाँचवटा नगरपालिका र ज्वाला, वेस्तडा र नौमुले गरी तीनवटा गाउँपालिका प्रस्ताव पेस गरिएको छ ।

सदरमुकामको नगरपालिकालाई ४५ हजार र अन्य नगरपालिकालाई ३५ हजार जनसङ्ख्या हुनुपर्ने निर्देशिकामा उल्लेख भएअनुसार नगरपालिको र गाउँपालिकाको हकमा २५ हजार जनसङ्ख्या पुग्ने गरी प्रस्ताव गरिएको जिल्लास्थित सर्वदलीय समितिका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

दैलेख जिल्लामा प्रस्ताव गरिएका नगरपालिका र गाउँपालिकाको केन्द्रविन्दु पनि सर्वदलीय बैठकले तोकेको छ ।  नगरपालिकाको हकमा राकमकर्णालीको तिलेपाटाको शीतलचौर, देवलोकको चामुण्डाको देउराली र रानीमत्ताको घोडावासलाई केन्द्रविन्दु मानिएको छ ।

त्यसैगरी गाउँपालिकाको हकमा ज्वालाको छिउडीबजार, नौमुलेको नौमुले बजार र वेस्तडाको विक्रमचौर तोकिएको छ । पुराना नारायण र दुल्लु गाविसको केन्द्रविन्दु साविक नै मानिएको साथै नारायण नगरपालिकासँग इलाका नं २ र वेलपाटा गाविसलाई समाहित गरिएको छ भने दुल्लु नगरपालिकामा इलाका नं .८ र इलाका नं. ७ का नाउलेकटुवाल र छिउडीपुसाकोट गाविसको आधा भूभाग समेटिएको स्रोतले जनाएको छ ।

रानीमत्ता नगरपालिकामा साविकको इलाका नं ५ र ६ साथै देवलोक नगरपालिकामा साविकको इलाका नं ९ समेटिएको छ भने राकमकर्णाली गाविसमा इलाका नं १० र ११ का सातवटा गाविस समेटिएको स्रोतबाट बुझिएको छ ।

गाउँपालिकाको हकमा वेस्तडामा इलाका नं .४ का सात गाविस, नौमुलेमा इलाका नं ३ का सातवटा गाविस र ज्वालामा इलाका नं ७ का गमौडी, कालभैरव, गौरी, मालिका र छिउडीपुसाकोट गाविसको आधा भूभाग समेटिएको बुझिएको छ ।

जनजाति समुदायको बाहुल्यता रहेको नौमुले गाउँपालिकालाई विशेष संरक्षित गाउँपालिकाका रुपमा सिफारिस गरिने तयारी गरिएको जिविस स्रोतको भनाइ रहेको छ ।

सीमाङ्कनका विषयमा नारायण, दुल्लु र देवलोक नगरपालिकाका वडा विभाजनमा सामान्य विवाद भएको बुझिएको छ । जिल्लाको सीमाङ्कनका सन्दर्भमा राष्टिय जनमोर्चाले सङ्घीयताको विषयमा फरक मत भएको भन्दै सहभागी नभएको जनाएको छ । रासस

प्रकाशित: २० भाद्र २०७३ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App