८ वैशाख २०८१ शनिबार
खेल

दोस्रो जितको खोजीमा फ्रान्स

इकाटेरिनबर्ग – उपाधि दाबेदारका रूपमा रूस पुगेका टोलीहरूको प्रदर्शन पहिलो चरणमा सन्तोषजनक रहन सकेन । प्रतियोगिताअघिका मुख्य दाबेदारहरूमध्ये साबिक विजेता जर्मनी तथा पूर्वविजेताहरू अर्जेन्टिना, ब्राजिल र स्पेन पहिलो चरणमा सुखद नतिजा ल्याउन असफल रहे । तर प्रदर्शनमा सन्तुष्ट हुन नसके पनि १९९८ को विजेता फ्रान्सले भने जितका साथ रूस यात्रा थालेको थियो।

पहिलो खेलमा अस्ट्रेलियामाथि २–१ को संघर्षमय जित हासिल गरेपछि फ्रान्सलाई समूह ‘सी’बाट अगाडि बढ्ने आधार बलियो बनेको छ । यही विश्वकपबाट प्रयोगमा ल्याइएको भिडियो सहायक रेफ्री (भिएआर) पहिलो पटक प्रयोग हुँदा अस्ट्रेलियाविरुद्ध फ्रान्स भाग्यशाली बनेको थियो । फिफा विश्व वरीयताको शीर्ष ७ भित्र रहेकामध्ये जारी विश्वकपको पहिलो खेलमा जित हासिल गर्न सफल टोली फ्रान्स र बेल्जियम मात्र हुन्।

पहिलो खेलमा जितका साथ बनाएको अन्तिम १६ प्रवेशको आधार बलियो बनाउने लक्ष्यसहित फ्रान्सले बिहीबार पेरूसँग खेल्नेछ । पहिलो खेलमा डेनमार्कसँग पराजित भएको पेरूमाथि जित हासिल गर्न सके फ्रान्सको दोस्रो चरण यात्रा थप सहज बन्नेछ । समूहमा पेरूलाई १–० को नतिजामा हराएको डेनमार्क र फ्रान्स दुवैको खातामा समान ३ अंक छ भने पेरू र अस्ट्रेलियाले अंकका खाता खोल्न सकेका छैनन्।

पहिलो खेलमा शनिबार डेनमार्कविरुद्ध अधिकांश समय बल नियन्त्रणमा लिए पनि आत्मघाती गोलको सिकार बन्दा पेरू निराश भएको थियो । त्यसैले स्टार खेलाडीले भरिपूर्ण भए पनि पहिलो खेलमा अपेक्षित प्रदर्शनबाट चुकेका फ्रान्सेली खेलाडीका लागि पेरू सहज प्रतिद्वन्द्वी हुने छैन। 

डेनमार्कसँगको खेलमा भएका गल्तीमा पूर्णविराम लगाउँदै बिहीबार जितका साथ आगामी चरण प्रवेशको सम्भावना जीवित राख्नु पेरूको पनि लक्ष्य हुनेछ । किनकि १९७८ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न पेरूलाई फ्रान्ससँग जितबाहेकको विकल्प छैन । हारले पेरू प्रतियोगिताबाट बाहिरिनेछ भने बराबरीले पनि टोलीको व्यावहारिक सम्भावना जीवित राख्दैन।

विश्वकपमा फ्रान्स र पेरू आमने–सामने हुन लागेको यो पहिलो पटक हो । यसअघि सन् १९८२ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरूले १–० को विजयी नतिजा निकालेको थियो । अस्ट्रेलियाविरुद्धको खेलमा फ्रान्सका स्टारहरू काइलियान एमबाप्पे, एन्टोनी ग्रिजम्यान र ओसामाने डेम्बेलेले अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन्।

फ्रान्सले अस्ट्रेलियाको पोस्टमा १२ पटक आक्रमण गर्दा ग्रिजम्यानले पाँच अवसर खेर फालेका थिए । यद्यपि उनले भिएआरको सहयोगमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलअवधिभर एम्बाप्पेले केवल एक पटक मात्र पोस्टमा आक्रमण गर्दा ७० मिनेट मैदानमा बिताएका डेम्बेलेले अस्ट्रेलियाको पोस्टमा आक्रमण गर्न सकेका थिएनन्।

‘पहिलो खेलमा पाएका अवसर सदुपयोग गर्न नसक्दा कठिन जितमा चित्त बुझाउन बाध्य भयौं,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले भने, ‘तर हामीसँग उत्कृष्ट टोली छ । त्यसैले प्रदर्शनमा सुधार गर्दै दोस्रो खेलमा पनि जितको लयले निरन्तरता पाउनेमा म अशावादी छु।’

यता सर्वकालीन उच्च गोलकर्ता स्ट्राइकर पाउलो गुइरेरोको उपस्थितिले टोलीको मनोबल उच्च बने पनि पेरूका प्रशिक्षक रिकार्डो गारेसाले उनको प्रयोग कुन तरिकाले गर्छन् भन्नेमा धेरैले चासो देखाएका छन् । विश्वकपको केही दिनअघि मात्र डोपिङ प्रकरणमा सफाइ पाएसँगै टोलीमा फर्किएका गुइरेरोले डेनमार्कविरुद्ध ७०औं मिनेटमा मैदान प्रवेश गर्दैै प्रभावशाली प्रदर्शन गरेका थिए।

प्रकाशित: ७ असार २०७५ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App