coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिद्धबाबाको वैकल्पिक मार्ग झुम्सा–चरङ्गेको ट्रयाक खुल्यो

सिद्धबाबाको वैकल्पिक सडकमा पुगेका गाडी । तस्बिर : नागरिक

पाल्पा– सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ। जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षात् हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन्। वर्षैदेखि यस सडकमा सयौं व्यक्तिहरुले ज्यान गुमाइसकेका छन्। सिद्धबाबा सडकखण्ड क्षेत्रमा सुरुङ्गमार्गको अध्ययन सरकारको प्राथमिकतामा छ। ‘मृत्युमार्ग’ को परिचय बनाएको यस क्षेत्रको विकल्प पनि अगाडि बढेको छ। 

सिद्धार्थ राजमार्गको सिद्धबाबामा जोखिम बढेपछि झुम्सा–चौकीभञ्याङ–चरङ्गे सडक वैकल्पिक मार्गको रुपमा नयाँ ट्रयाक खोल्ने कार्य भएको छ। जिल्ला समन्वय समिति पाल्पाको अगुवाईमा स्थानीय सरकारहरूले आफ्नो लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने गरेका हुन्। तिनाउ गाउँपालिकाको ३० लाख रुपैयाँ र रिब्दीकोट गाउँपालिकाको १० लाख रूपैंयाँको लगानीमा ट्रयाक खोल्ने काम पुरा भएको छ।

नयाँ बाटो अनुगमनपछि जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले गाउँपालिका र नगरपालिकाको आर्थिक सहयोग, पाल्पा र रूपन्देहीका प्रशासकहरूको नैतिक साहस र सबैको सद्भावका कारण ट्रयाक खोल्न सम्भव भएको बताए। उनी भन्छन्, ‘वैकल्पिक मार्गको निर्माणले सिद्धबाबा क्षेत्रमा खस्ने पहिरोले वर्षेनी हुने जनधनको क्षति रोक्न मद्दत गर्ने छ। यसले पाल्पा, गुल्मी, रुपन्देही, अर्घाखाँची, स्याङ्जासँगै पोखरा तथा यस क्षेत्र भएर आवतजावत गर्ने यात्रुले सुविधा प्राप्त गर्नेछन्।’

पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले जिल्लाको विकासका लागि यो सडक महत्वपूर्ण  योजना अगाडि बढेको बताए। ‘ग्रेड मिलेको यो सडक पाल्पाको विकासमा ऐतिहासिक कोसेढुंगा हुन्छ। पाल्पाको पर्यटनसँगै अन्य विकासमा टेवा पुग्नेछ’, प्रजिअ ढकालले भने, ‘यस वर्षको दशैंमा सिद्धबाबामा ५/६ दिन सडक अवरुद्ध हुँदा अर्घाखाँची जिल्ला घुमेर तथा गोठादी हुँदै धेरैले यात्रा गर्नुपर्यो। अब वैकल्पिक मार्गको स्तरोन्नती गर्नुपर्छ।’

दोभान गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले काम सुरू गरेको १ महिनामा ट्रयाक खोल्ने काम भएको बताए। उनी भन्छन्, ‘विकासको साझा एजेन्डा बने जस्तासुकै काम पनि गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ। वैकल्पिक मार्गले पाल्पा र रुपन्देहीलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ।’

वैकल्पिक मार्ग निर्माणका लागि तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख रूपैंयाँ प्रदान गर्ने प्रतिवद्धता गरेका छन्। यो वैकल्पिक मार्गका निम्ति ५ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि १० करोड रूपैंया विनियोजन गरिसकेको छ।

‘झुम्सा–चौकीभञ्ज्याङ्–चरङ्गे’ वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर रहेको छ। पाल्पाको झुम्सा चौकीभञ्ज्याङ ७ किलोमिटर र रूपन्देहीको चरङ्गे मुढाबास ७.५ किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो। चौकीभञ्याङ मुढाबास खण्डको करिब साढे ५ किलोमिटरमा नयाँ ट्रयाक खोलेपछि झुम्सा चरङ्गे सडकले जोडिएको छ। पाल्पाली जनप्रतिनिधिहरूले आउने आर्थिक वर्षमा सडक फराकिलो बनाउने र ग्राभेल सम्मको काम सक्ने रणनीतिसमेत अघि सारेका छन्।

प्रकाशित: ६ असार २०७५ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App