८ वैशाख २०८१ शनिबार
राजनीति

नेपालको समृद्धिमा चीनले सघाउँछ : राष्ट्रपति सी

बेइजिङ– चीनका राष्ट्रपति सी जिनपिङले चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्। चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भएको भेटमा राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए। राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी छिट्टै नेपाल आउने आश्वासन दिएका हुन्। 

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो। यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो। 

सो अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए। नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको स्पष्ट पारे। राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण पनि गरे। 

प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उहाँले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताए। साथै चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएकोमा राष्ट्रपति सी लाई उनले बधाई समेत दिए। 

दुबै नेताबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। 

दुई शीर्ष नेताबीचको भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ। सो वार्तामा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव शंकरदास बैरागी र चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागी थिए। 

चीनका तर्फबाट राष्ट्रपति सी, विदेशमन्त्री वाङ यीलगायत वरिष्ठ चिनियाँ अधिकारीको सहभागिता थियो। रासस

प्रकाशित: ६ असार २०७५ १०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App