coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काम नगर्ने ठेकेदार जनप्रतिनिधि र दलका नेता

अलपत्र अवस्थामा रहेको काँडा स्वास्थ्य चौकीको भवन। तस्बिरः नागरिक

बाजुरा- निर्माणको जिम्मा लिएर समयमै काम नगर्नेमा जनप्रतिनिधि र नेता ठेकेदार नै बढी देखिएका छन्। जिल्लाका ६८ वटा विकास निर्माणका अलपत्र योजना मध्ये आधा बढी नेता र जनप्रतिनिधिका ठेका नै रहेको प्रशासनले गृह मन्त्रालयमा पठाएको पत्रमा उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालयलाई पठाएको विवरणमा ६८ विकास निर्माणका योजना काम सम्पन्न नभई अलपत्र रहेको उल्लेख छ। समयमै काम सम्पन्न नभएका ६८ वटा अलपत्र योजनामध्ये ४२ वटा विद्यालय भवन, १३ वटा सडक, ६ वटा स्वास्थ्य चौकी र अन्य ७ वटा आयोजना छन्।

अलपत्र अवस्थामा रहेका र समयमै काम नभएका योजना जनप्रतिनिधि, राजनीतिक दलका नेता र पहुँच भएकाहरुकै रहेको पाइएको छ । निर्माणका लागि जिम्मा लिएका ठेकेदार र प्रतिनिधि कसैले पनि वास्ता नदिएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर जंगबहादुर थापाले बताएका छन्। काम नगर्ने जनप्रतिनिधिमध्ये डडेलधुराको पशुराम नगरपालिका प्रमुख भीमबहादुर साउद, बुढीनन्दा नगरपालिका नगरप्रमुख पदमकुमार गिरी, खप्तड छेडेदह गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष खगे्रन्द्र रावतलगायत छन् भने कांग्रेस महासमिति सदस्य चक्रबहादुर शाह, विघठित नेकपा माओवादी केन्द्रका नेता पूर्ण अधिकारीलगायत छन्।

अन्य ठेकेदार पनि राजनीतिक पहुँच र प्रभावका कारण संरक्षणमा हुने मध्येकै रहेको श्रोतको दाबी छ । जिल्लाका काँडा स्वास्थ्य चौकी, साप्पाटा, आटीचौर, बह्रमतोला, तोली, छतारा स्वास्थ्य चौकी भवन अलपत्र अवस्था छन् । जिल्ला प्रशासन कार्यालयले छतारा हेल्थ पोष्ट भवन देवसिंह निर्माण सेवाका हर्कबहादुर शाह, बडिमालिका नगरपालिकाको भवन बेतालमाडौं निर्माण सेवा मातादेवी बुढा, सरकारी वकिल कार्यालय ग्याल्बा खड्का कृष्णदेवी निर्माण सेवा गणेशकुमार गिरी, जनप्रकाश मावि कोल्टीको भवन ग्वाल्वा निर्माण सेवा प्रालि काठमाडौं पदमकुमार गिरी प्रतिनिधि रहेर जिम्मा लिएको देखिएको छ।

यस्तै घट्टेखोला आरसिसी ताँप्रीसेरा साउँद स्वारदेवी निर्माण सेवा पूर्ण अधिकारी, काँडा स्वास्थ्य चौकी र गुईगाडी पुल राजेन्द्र निर्माण सेवा भीमबहादुर साउँद, साप्पाटा स्वास्थ्य चौकी तुल्सी दुर्गा एमके जेवी निर्माण सेवा चक्रबहादुर शाह, आटीचौर स्वास्थ्य चौकी, बुढीगंगा निर्माण सेवा अछाम पदमकुमार गिरीसँग जोडिएका छन्।

योजना लामो समयसम्म निर्माण नगरेपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको छ । निर्माण अवस्था बारे जानकारी लिने र अनुगमन गरी सम्बन्धित ठेकेदारलाई भेटेर निर्माणका लागि निर्देशन दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् । समयमै भवन निर्माण नहुँदा स्वास्थ्य सेवा दिन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर रुपचन्द्र बिकले बताएका छन् । जिम्मा लिएको काम पूरा नहुँदै अर्को योजनामा हात हाल्ने र समयमै काम नगरी सम्झौता थप्ने परिपार्टीले योजना अलपत्र परेका हुन् ।

निर्माण अवधि सकिएको पाँच वर्ष बितिसक्दा पनि योजना अलपत्र अवस्थामा छन् । साँफे मार्तडी सडक खण्डमा पर्ने गुइगाडी पुल निर्माण अवधि सकिएको पाँच वर्ष बितिसकेको छ । तर, निर्माणको जिम्मा लिएका भीमबहादुर साउँद परशुराम नगरपालिकाको मेयर भए पनि पुल निर्माण गर्न सकेका छैनन् । काम गर्न जिल्लास्थित नागरिक समाजले दिएको दबाबले कुनै काम गरेको छैन ।

 

 

प्रकाशित: ६ असार २०७५ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App