८ वैशाख २०८१ शनिबार
समाज

प्रदेशको बजेट पुगेन गाउँ

इलाम – स्थानीय तह पुनर्संरचना हुनुअघि तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र विकासे कार्यालयहरूले गर्ने ‘असारे विकास’को चटारो स्थानीय तह गठनपछि पनि उस्तै देखिएको छ। बजेट विनियोजन गर्ने तर भुक्तानी चाहिँ असारमा मात्रै गर्ने प्रवृत्तिले जिल्लामा विनियोजित मोटो रकम ‘बालुवामा पानी’ बन्ने सम्भावना बढेको छ। 

१ नम्बर प्रदेश सरकारले स्थानीय तहका वडामा चालू आर्थिक वर्षभित्र जम्मा २ करोड १२ लाख रुपैयाँका योजना सञ्चालन गर्ने जानकारीसहितको पत्र जेठ २४ मा स्थानीय तहमा पठायो। तर, असार पहिलो साता बित्दासम्म बजेट भने आएको छैन। बजेट नआएपछि ती योजनाको काम गर्ने या नगर्ने भन्नेमा स्थानीय तह अन्योलमा छन्। कतिपय स्थानीय तहले सम्बन्धित योजनाको उपभोक्ता समिति गठन नै गर्न सकेका छैनन्।

सूर्याेदय नगरपालिकामा विभिन्न योजना सञ्चालन गर्न प्रदेश सरकारले ४२ लाख ९० हजार रुपैयाँ विनियोजन गर्याे। ‘नगरका वडामा फलानो योजनालाई यति रकम भन्ने तोकेर चिठी आयो तर पैसा अहिलेसम्म आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले भने, ‘२० गतेसम्ममा सक्नुपर्ने योजनाको पैसा अहिलेसम्म नआएपछि काम गर्नुपर्ने हो कि होइन भन्ने नै अन्योल छ।’ 

प्रदेशले इलाम नगरपालिकाका विभिन्न ४ योजनाका लागि विनियोजन गरेको बजेट पनि अहिलेसम्म आएको छैन। प्रदेशले १७ लाख रुपैयाँमा योजना सञ्चालन गर्नुपर्ने पत्र पठाएको नगरपालिकाले जनाएको छ। ‘असार पहिलो हप्ता बित्दासम्म पैसा चाहिँ आएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याहाङले भने। उनले समयमा बजेट नआउँदा ती योजनाको कामबारे अन्योल भएको जनाए। देउमाई नगरपालिकामा योजना सञ्चालन गर्न १५ लाख रुपैयाँ पठाउने भनिएको छ। नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले यी योजनाको बजेट आउन बाँकी नै रहेको बताए।

माई नगरपालिकामा पनि ५ योजना सञ्चालन गर्न प्रदेशले १४ लाख रुपैयाँ पठाउने भनेको छ। तर, रकम आएको छैन। ‘२० गतेसम्ममा काम सक्नू भनेर पत्र आएको छ, काम पनि गर्दैछौं तर पैसाको टुंगो छैन,’ नगरपालिका प्रमुख दीपककुमार थेवेले भने, ‘काम गर्नुपर्ने जानकारी नै ढिलो आएकाले केही काम भर्खर सुरु मात्रै हुँदैछन्, समयमै खर्च नभए बजेट फिर्ता जाने भएकाले तोकिएको मितिमा काम सक्न लागिपरेका छौं।’ 

माङ्सेबुङ गाउँपालिकामा ३८ लाख रुपैयाँ लगानीमा ४ योजना सञ्चालन गर्न प्रदेश सरकारले पत्र पठाएको छ। ‘कुनै योजना बन्दैछन्, कुनैको काम सुरु मात्रै हुँदैछ,’ प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले भने, ‘छुट्टिएको ३८ लाख रुपैयाँ हो तर चेक चाहिँ ३२ लाख रुपैयाँको मात्रै काटिएको छ भन्ने खबर सुनेको छु, पैसा आइसकेको छैन।’

फाकफोकथुम गाउँपालिकामा सडक र विद्युत् विस्तारका २ योजना सञ्चालन गर्न प्रदेशबाट ३५ लाख रुपैयाँको सिलिङ आएपनि रकम आएको छैन। ‘विद्युत् विस्तारको भर्खरै उपभोक्ता समिति मात्रै बन्दैछ, खेलमैदान निर्माणको काम सुरु भएको छ,’ अध्यक्ष रामकुमार श्रेष्ठले भने, ‘२० गतेभित्रमा काम सक्नुपर्ने भनेपनि विद्युत्को काम कति हुन्छ टुंगो छैन, बजेट नै ढिलो आएपछि समयमा काम सक्न समस्या भएको हो।’ 

चुलाचुली गाउँपालिकालाई प्रदेशले १५ लाख रुपैयाँका ३ योजना पठाएको छ। बजेट चाहिँ आउ बाँकी नै रहेको अध्यक्ष प्रदीपचन्द्र राईले बताए। ‘२० गतेसम्ममा सक्नेगरी काम त हुँदैछ तर बजेट चाहिँ आएको छैन,’ उनले भने, ‘काम गर्नुपर्ने जानकारी नै जेठ अन्तिम साता मात्रै गाउँपालिकामा आएकाले हतारमा काम सक्नुपर्ने भएको छ।’ रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा पनि विभिन्न योजना सञ्चालन गर्न प्रदेश सरकारले पत्र पठायो। माइजोगमाई र रोङ गाउँपालिकामा भर्खरै रकम आएको छ भने सन्दकपुरलाई तोकिएको १० लाख रकम आएको छैन। गाउँपालिका अध्यक्ष उदयबहादुर राईले रकम नआएकाले काम सुरु नभएको बताए।

माइजोगमाई गाउँपालिकामा ७ आयोजना सञ्चालन गर्न २२ लाख रुपैयाँ आएको छ। ‘रकम चाहिँ भर्खरै मात्र आएकाले काम सुरु गर्न पनि निकै ढिलो भयो,’ उनले भने, ‘असार २० सम्ममा काम पनि सकिनुपर्ने हो।’  ‘हिजो मात्रै यो रकमको चेक आइपुगेको छ,’ गाउँपालिका अध्यक्ष समशेर राईले बुधबार भने, ‘योजनाका लागि उपभोक्ता समिति गर्दैछौं, तोकिएको मितिमा काम सकिन्छ।’ 

१ नम्बर प्रदेश सरकारको अर्थ तथा योजना मन्त्रालयका शाखा अधिकृत तिलक आलेले गाउँपालिका र नगरपालिकाले मन्त्रालयबाट भुक्तानी लिइरहेको बताए। ‘हामीले अस्ति जेठ २४ गते नै पत्र पठाएर सम्बन्धित स्थानीय तहलाई योजनाको काम गर्न भनेका थियौं,’ उनले भने, ‘कतिपयले काम गरेर रकम लैजानुभएको छ, कतिपयको बाँकी नै छ।’ उनले योजनामा विनियोजित रकमको चेक चाहिँ असार १–२ गतेतिर मात्रै काटेको बताए।

प्रकाशित: ६ असार २०७५ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App