७ वैशाख २०८१ शुक्रबार
समाज

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा – दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ।

सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला सवारीसाधन आवतजावतमा मुस्किल पर्दै आएको थियो भने वर्षात्मा समेत पहिरो झरेर सडक अवरुद्ध हुँदा स्थानीयले समस्या भोग्दै आएका थिए।

नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले २० दिनसम्म कार्य क्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा कार्य सम्पन्न गरेको खडग दल गण, रोल्पाका गणपति अजय गुरुङले जानकारी दिए। विभिन्न खण्डमा गरी ७०० मिटरभन्दा बढी कडा चट्टान फोडेर सडक चौडा गरिएको गणले जनाएको छ। सडक विस्तारसँगै विपद्को समयमा रेस्क्यु गर्नसमेत सहज हुने गणपति गुरुङले आशा व्यक्त गरे।

जोखिमपूर्ण अवस्थामा रहेको सो सडकखण्डमा सवारी आवतजावत गर्दा सधैँ संसयपूर्ण मानसिकताका साथ यात्रा गर्नुपरे पनि अहिले भने ढुक्कसँग गाडी चलाउन पाएका छौँ, यातायात व्यवसायी खिमबहादुर केसीले भने। सडक चौडा बनेसँगै उत्तरी रोल्पामा निर्माणाधीन विकास योजनाले तीव्रता पाउनुका साथै सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन्।

सडक निर्माणसँगै बस, ट्रकजस्ता ठूला सवारीसाधनसमेत सहजै आवतजावत हुँदा उत्तरी रोल्पाका कुरेली, मिरुल, थवाङका साथै रुकुम पूर्वका जनता समेत लाभान्वित भएका छन्। रुकुमको मैकोट हुँदै गएको मध्यपहाडी लोकमार्गसंग रोल्पालाई जोड्ने एकमात्र सडकका रुपमा शहीद मार्ग रहेको छ।

स्थानीयसँगको सहकार्यमा नेपाली सेनाको खड्ग दल गण रोल्पाले यसअघि जिल्लाका विभिन्न स्थानमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ।

उत्तरी रोल्पाको वीर बलभद्र माविमा कक्षा कोठा थप, फिल्ड निर्माण, तारा मावि, वामरुकमा सुविधासम्पन्न शौचालय निर्माण, खुमेलमा सामाजिक घर निर्माण, उत्तरी रोल्पाको दुईखोलीमा कडा चट्टान फोडी सडक चौडा बनाउनुका साथै विगत २५ वर्षदेखि निर्माण अवरुद्ध भएको शिरक्याङ भिरको कडा चट्टान फोर्ने कामसमेत गरेको खड्ग दल गण, रोल्पाले जानकारी दिएको छ। रासस

प्रकाशित: ६ असार २०७५ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App