८ वैशाख २०८१ शनिबार
अर्थ

अब दुवै देशबाट सातामा १४ उडान

काठमाडौं - दुवै देशका तोकिएका वायुसेवाले सातामा १४ उडान गर्न पाउने गरी नेपाल र जापानबीच द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ।

साढे दुई दशकपछि भएको पुनरावलोकन वार्तामा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र उपसचिव प्रमोद नेपाल सहभागी थिए । सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न वार्तामा दुवै देशले सातामा १४÷१४ उडान गर्ने सहमति भएको हो ।वार्तामा सहभागी उपसचिव नेपालका अनुसार दुवै देशका तोकिएको वायुसेवा कम्पनीले सातामा १४ उडान गर्न पाउँछन् । यसमा सिट संख्या तोकिएको छैन । जत्रो आकारको जहाज भए पनि सातामा १४ उडान गर्ने हो।

नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाहेक अन्य वायुसेवालाई पनि सरकारले जापान उडान अनुमति दिए त्यही १४ उडानबाट बाँडेर लिनुपर्छ । जापानमा पनि यस्तै नियम लागू हुन्छ ।‘पच्चीस वर्षअघि सन् १९९३ मा भएको सम्झौताअनुसार दुवै देशका तोकिएका वायुसेवाले सातामा चार सय सिट अथवा सातामा दुई उडानसम्म गर्न पाउँथे,’ उपसचिव नेपालले भने, ‘अहिले भने त्यसमा सात गुणा बढाउन सहमति भएको छ ।

हाम्रो वायुसेवा निगमदेखि अन्य निजी वायुसेवा कम्पनीलाई यो सहमतिबाट पक्कै फाइदा पुग्नेछ ।’पर्यटन मन्त्रालयका अनुसार जापानले टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य सबै विमानस्थलमा उडान–अवतरण गर्न दिने सहमति गरेको छ । हानेदा विश्वकै पाँचौं व्यस्त विमानस्थलमा पर्छ । त्यही भएर ‘स्लट’ दिन मुस्किल पर्ने भन्दै जापानी पक्षले त्यसबाहेकका विमानस्थलमा उडान–अवतरण गर्न सहमति गरेको हो ।
त्यसैगरी, जापानले नेपाललाई ‘फिफ्थ फ्रिडम ट्राफिक राइट’मा पनि लचकता देखाएको छ ।

यो भनेको सातामा १४ उडानबाहेक थप तीन उडान गर्न पाउने हो । नेपाली वायुसेवा कम्पनीले यताबाट उडेपछि जापानबाहेक अन्य देशका विमानस्थलमा अवतरण गरी थप यात्रु बोकेर जापान जान पाउने अधिकारलाई फिफ्थ फ्रिडम ट्राफिक राइट भनिन्छ ।त्यसबाहेक जापानले तोकेको कुनै पनि विमानस्थलबाट नेपालका वायुसेवा कम्पनीले संसारका कुनै पनि विमानस्थलमा साताको दुई उडान गर्न पाउने सहमतिमा पनि जापानी पक्षले हस्ताक्षर गरेको छ।

हानेदा विमानस्थलमा नेपालले उडान गर्न नपाउने भएपछि अब सबैभन्दा उत्तम विकल्प नारिता अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । विगतमा नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान गरेको थियो । त्यसबेला एक सय सय ९० सिटको ‘बि७५७–२००’ सिरिजका जहाजबाट उडान गरेको थियो । निगमले एक दशकअघि जापान उडान बन्द गरेको थियो।

अब पुनः जापान उडान गर्ने तयारी निगमको छ । निगमले लामो दुरीमा उडान गर्ने ठूलो (वाइड बडी) आकारको जहाज ‘ए३३०–२००’ दुईथान ल्याउँदैछ । तीमध्ये पहिलो जहाज यही असार दोस्रो साताभित्र काठमाडौं अवतरण गर्दैछ भने दोस्रो वाइड बडी त्यसको एक महिनापछि आइपुग्ने ।

निगमले तिनै वाइड बडी जहाजबाट जापान उडान गर्ने घोषणा यसअघि नै गरेको थियो । निगमले युरोप, अमेरिका, अस्ट्रेलियाका गन्तव्यमा पनि वाइड बडी उडाउने योजना बनाएको छ । वाइड बडी काठमाडौं आएको कम्तीमा तीनदेखि चार महिनासम्म हाल उडान गरिरहेका गन्तव्यमै वाइड बडीबाट उडान सञ्चालन गर्ने निगमले जनाएको छ ।

प्रकाशित: ६ असार २०७५ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App