७ वैशाख २०८१ शुक्रबार
खेल

लय समाउन प्रतिबद्ध उरुग्वे

रोस्तोभ – इजिप्टविरुद्धको खेलमा शुक्रबार १–० को जित हात पर्दै प्रतियोगितामा विजयी सुरुआत गरे पनि उरुग्वेका प्रशिक्षक ओस्कार टाबारेजको रणनीति पूर्ण रूपमा सफल भएन।

आक्रामक रणनीति लिएको टाबारेजको टोलीले पूरा समय बल नियन्त्रणमा लिँदै इजिप्टको पोस्टमा १३ पटक धावा बोले पनि जितका लागि अन्तिम समयसम्म कुर्नुर्याे । खेल सकिन एक मिनेट बाँकी हुँदा जोसियो मारिया जेमिनेजले गोल गरेपछि मात्र उरुग्वे कठिन ३ अंकको लायक भएको थियो।

विश्वकपमा त्यो उरुग्वेको ४८ वर्षपछिको पहिलो जित थियो । समूह ‘ए’ मा आयोजक रूस र एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियाको समेत उपस्थिति रहँदा उरुग्वे त्यो विजयी सुरुआतलाई निरन्तरता दिने अभियानमा हुनेछ। 

बुधबार समूहको दोस्रो खेलमा साउदी अरेबियासँग खेल्दा सहज जितका साथ अन्तिम १६ मा स्थान सुरक्षित गर्नु मात्र उरुग्वेको लक्ष्य हुने छैन । टाबारेजको टोली प्रतियोगितामा कमजोर देखिएको साउदीसँगको खेललाई आगामी खेलहरूका लागि अभ्यासको रूपमा पनि उपयोग गर्न चाहन्छ।

पहिलो खेलमा राम्रो प्रदर्शनका बावजुद स्टार स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीले गोलमा नाम लेखाउन सकेका थिएनन् । यस क्रममा स्वारेजले तीन पटक गोलको सुवर्ण अवसर गुमाएका थिए । तर बुधबार साउदीविरुद्ध मैदान उत्रिँदै उरुग्वेका लागि १ सयौं खेलको कोसेढुंगो छुँदा स्वारेज गोलका साथ त्यसलाई थप स्मरणीय बनाउन चाहन्छन् । ९९ खेलमा स्वारेजले हालसम्म ५१ गोल गरेका छन्।

टाबारेजले साउदी अरेबियाविरुद्ध भेट्रान मिडफिल्डर कार्लोस सान्चेज र क्रिस्टियन रोड्रिग्वेजलाई पहिलो रोजाइमा खेलाउने अपेक्षा गरिएको छ । सान्चेज र रोड्रिग्वेज इजिप्टविरुद्धको पहिलो खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए । ३२ वर्षे रोड्रिग्वेजले उरुग्वेबाट १ सय ५ खेल खेल्दै ११ गोल गरेका छन् भने ३३ वर्षे सान्चेजले ३६ खेलमा १ गोल गरेका छन् । ‘जितका साथ प्रतियोगिताको सुरुआत गर्नु सुखद हो,’ रोडरिग्वेजले भने, ‘जितको यो लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिनु महत्वपूर्ण छ।’

‘पहिलो चरणका खेल समाप्तिमा दाबेदार मानिएका ब्राजिल, अर्जेन्टिना र जर्मनीजस्ता टोलीले अपेक्षाअनुरूप नतिजा ल्याउन सकेनन् । यसले रूस विश्वकपमा सबै टोली सन्तुलित भएको देखाउँछ,’ उनले थपे।

दुई पटकको विश्वविजेता उरुग्वे र साउदी अरेबिया प्रमुख प्रतियोगितामा आमनेसामने हुन लागेको यो पहिलो पटक हो । यसअघि सन् २००२ र २०१४ मा यी दुई टोलबीच भएको दुवै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको थियो।

यता उद्घाटन खेलमा आयोजक रूससँग ५–० को गोल भारी बोकेको साउदी अरेबियाले बुधबार उरुग्वेलाई नतिजा सुम्पिए प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्नेछ । ‘उरुग्वे विश्वकै उत्कृष्ट टोली हो । उनीहरूको सामना गर्नु कठिन हुनेमा दुबिधा छैन,’ साउदी अरेबियाका मिडफिल्डर तासिर–अल जासिमले भने, ‘तर हामी सुखद नतिजाका साथ समर्थकलाई खुसी दिन प्रतिबद्ध छौं।’

प्रकाशित: ५ असार २०७५ २१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App