१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सञ्चारकर्मी अनुपाको ‘रहस्यमय’ निधन

नेपालगन्ज– नेपालगन्जमा क्रियाशिल सञ्चारकर्मी अनुपा सिंह राजवंशीको ‘रहस्यमय’ निधन भएको छ। स्थानीय बागेश्वरी टेलिभिजनकी समाचार वाचिका रहेकी उनको नेपालगन्जस्थित एक होटलमा आयोजित पुल पार्टीमा सोमबार राती नृत्य गरिरहेको अवस्थामा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) राजेन्द्र अर्यालका अनुसार स्थानीय सिग्नेट ईन कृष्णा होटलमा आयोजित उक्त पार्टीमा नृत्य गरिरहेको अवस्थामा राती साढे ९ बजेतिर सञ्चारकर्मी अनुपा लडेर बेहोस भएकी थिइन्। 
 
‘लडेर बेहोस भएपछि तत्कालै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पु¥याएपनि मृत्यु भयो,’ डिएसपी अर्यालले भने। कार्यक्रम स्थलमै रहेका अनुपाका पति सञ्जय श्रेष्ठले घटनाको विषयमा मंगलबार बेलुकासम्म लिखित जाहेरी नदिएको प्रहरीले जनाएको छ। ‘श्रीमतीको अपत्यारिलो निधनले उहाँ शोकमा हुनुहुन्छ, पोष्टमार्टम रिर्पोटको आधारमा जाहेरी दिने कुरा गर्नु भएको छ, हामीले पनि बाध्य गराएका छैनौं,’ डिएसपी अर्यालले थपे। मृतकको पोष्ट मार्टम रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै घटनाका प्रत्यक्षदर्शीसँग बयान लिएर अनुसन्धान सुरु गरिएको डीएसपीले बताए। अनुपाको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको भन्दै आफन्त र शुभेच्छुकले घटनाको छानविन गर्न माग गरेका छन्। 
 
बाँके, खजुरा निवासी अनुपा स्थानीय रेडियो एक्सप्रेसबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनी टेलिभिजनमा समाचार वाचनका साथै स्टेज कार्यक्रमकी कुशल प्रस्तोता थिइन्। सञ्चारकर्मी अनुपाको निधनप्रति बाँकेको सिंगो सञ्चार क्षेत्र स्तब्ध बनेको छ। नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन बाँके लगायत पत्रकारका संघ, संगठनले मृतकप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। महासंघ बाँकेका सचिव तिलक गाउँलेले विज्ञप्ती जारी गर्दै उनको शंकास्पद तरिकाले मृत्यु भएको प्रारम्भिक जानकारी आएको जनाएका छन्। विज्ञप्तीमा भनिएको छ, ‘उक्त घटनाबारे विभिन्न कोणबाट प्रश्न उठिरहेकोले नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानआर्कषण भएको छ।’ घटनाको सत्यतथ्य छानबिन गर्न र दोषी पाइएका व्यक्तिमाथी कडा कारबाही गर्न माग गरेको छ।
 
यस्तै प्रेस युनियनले पनि उक्त घटना अस्वभाविक भएको भन्दै टिका टिप्पणी भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ। घटनाको निश्पक्ष रुपमा सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदै घटनामा कोही दोषी पाइएमा कडा कारबाहीको माग गरेको छ। 

प्रकाशित: ५ असार २०७५ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App