coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगमको ‘अन्नपूर्ण’ असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

काठमाडौँ- नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान यही असार १४ गते काठमाडौँ आइपुग्ने भएको छ।

नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ । निगमले जहाज हाल परीक्षणमा रहेको र असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको जनाएको छ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो विमान आइपुग्न लागेको उल्लेख गरेको छ।

निगमले आगामी साउनको पहिलो सातादेखि व्यावसायिक उडान शुरु गर्ने तयारी गरेको छ । नयाँ विमान आइपुगेको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने तयारी गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको अन्नपूर्ण जहाजका लागि नाइन एन एएलवाई कलसाइन दिएको छ । कूल २७४ सिट क्षमताको सो जहाजमा १६ वटा ‘विजनेस क्लास’ र बाँकी इकोनोमी सिट रहेको छ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विमान अवतरण भएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गर्नेछ।

निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो। अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएको जहाज निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिइएको हो।

दुईवटा जहाजको लागत रु २१ अर्ब ९० करोड छ । सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म आउने भनिएपछि दुई महिनाभन्दा बढी समय लागेको हो।

नयाँ जहाज दोहा र दुबईमा उडाउने तयारी गरिएको छ। यस्तै निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ।

दुई वर्ष पहिले अर्थात् सन् २०१६ मा अन्तर्राष्ट्रिय उडानतर्फ त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा बढी यात्रु बोकेको निगमले सन् २०१८ को तीन महिनामा आइपुग्दा तेस्रो स्थानमा पुगेको छ।

सन् २०१७ मा निगम दोस्रो स्थानमा थियो । निगमको एयरबसमा आएको समस्याका कारण यात्रु संख्या गुमाएको हो । तर महाप्रबन्धक कंसाकारले नयाँ जहाज आएपछि नयाँ गन्तव्य पनि थपिने र यात्रुसमेत बढ्ने बताउँछन्।

निगमले सन् २०१८ को तीन महिनामा ८९ हजार २१४ यात्रु बोकेको छ। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले नयाँ विमान आउनुअगावै आवश्यक कागजात र प्राविधिक तयारीको काम भइरहेको बताए। उनले विमान अवतरण भएपछि गर्नुपर्ने कामबाहेक अरु सबै काम सकिइसकेको जानकारी दिए।

सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ। जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने तथा त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति समेत निगमको छ।

पहिलो जहाज अवतरण भएको दुई महिनापछि अर्को जहाजसमेत आइपुग्ने निगमले जनाएको छ। निगमले नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले निगमको जहाज अवतरण भइसकेपछि आवश्यक सबै प्रक्रिया पूरा गरिने जानकारी दिए।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ। एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो।

निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चारवटा, एमए ६० दुईवटा तीनवटा ट्विनअटर विमान छन्। रासस

 

 

प्रकाशित: ५ असार २०७५ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App