८ वैशाख २०८१ शनिबार
समाज

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो

विपी राजमार्गस्थित खुर्कोट नेपालथोक सडक खण्डको एक दृश्य । तस्विर : नागरिक

सिन्धुली– विपी राजमार्गमा ठूला सवारी रोकिएसँगै साना सवारीले मनपरी भाडा असुलेको गुनासो आउन थालेको छ। सर्बोच्च अदालतले ठूला बस सेवा सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश जारी गरेसँगै साना गाडीमात्र सञ्चालन भएको विपी राजमार्गमा स्थानीय यात्रुसँग मनपरी भाडा लिएको गुनासो आएको हो। 

मापदण्ड विपरितका सवारी साधन चलेको भन्दै सबोच्च अदालतमा रिट परेपछि उक्त रिटको सुनावाई गर्दै सर्वोच्च अदालतले इजाजत विनाका सवारीलाई नचलाउन अन्तरिम आदेश जारी गरेपछि पुर्वी तराईका विभिन्न स्थानबाट विपी राजमार्ग हुँदै काठमाडौं पुग्ने र यहाँका ग्रामिण क्षेत्रबाट काठमाडौं आवतजावत गर्ने अधिकांश ३२÷१८ सीट क्षमता माथिका यात्रुबाहक बस सेवा रोकिएपछि साना गाडीले मनपरी भाडा असुलेको स्थानीयको आरोप छ। सिन्धुली सदरमुकाम सिन्धुलीमाढीदेखि सिन्धुलीगढीसम्मको करिब २० किलोमिटर सडकमा यात्रा गर्दा साना सवारीले दुई सय ५० देखि ४ सयसम्म भाडा असुल्ने गरेको स्थानीयले जनाए। ‘२० किलोमिटर यात्रा गर्दा ३ सय रुपैयाँ गाडी भाडा तिरेर पूर्वको हायस चढियो’, सिन्धुलीगढीमा भेटिएका रमेश महर्जनले भने– ‘अब फर्कदा कति तिर्नुपर्ने हो थाहा छैन।’ सर्बोच्चको अन्तरिम आदेश अनुसार रुट परिमिट विनाका सबै सवारी साधनलाई स्थानीय प्रशासनले रोक लगाएपछि दैनिक सञ्चालन हुदै आएको बस सेवा रोकिएपछि साना सवारीले मनपरी भाडा असुलेका हुन्। 

गत जेठ १३ गते भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको निर्देशन अनुसार यातायात व्यवस्था विभागले विपी राजमार्गमा यात्रुबाहक सवारी साधन चालक सहित ३२ सिट सम्म भएका सवारीलाई विहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्न दिने र मालवाहक सवारी साधन ६ टन भारवहन क्षमता वृद्धि गरि मालवाहक सवारी जिभिडव्लु (कुल वजन) १६२०० किलो (१६.२ टन) ह्लिवेस चार हजार दुई सय २५ एमएम सम्मका सवारी साधन प्रति एक्सल भार १०.२ टन नबढ्ने गरि राती ९ बजेदेखि विहान ५ बजेसम्मका लागि अनुमति दिने निर्णय गरेको थियो। सो निर्णय विरुद्ध सबोच्चमा रिट परेपछि न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले गत जेठ २१ गते रुट परमिट विनाका बढी भारवहन क्षमताका सवारी नचलाउन अन्तरिम आदेश जारी गरेको हो। 

सर्बोच्च अदालतको आदेश अनुसार परमिट विनाका सबै गाडीलाई रोक लगाइएको जिल्ला ट्राफिक प्रहरीका सई चन्द्रकुमार फाजु श्रेष्ठले जानकारी दिए। पूर्वबाट सञ्चालन हुने र स्थानिय गरि झन्डै २५ ओटा बढी यात्रुवाहक बस विपी राजमार्गमा आवातजावत गर्दै आएका थिए। तिनै सवारीमा आवातजावत गर्ने स्थानीय यात्रुले भने हाल महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ। ‘हामीले ठुला सवारी सबै रोक लगाएका छौ’, ट्राफिक सई श्रेष्ठले भने– ‘साना गाडीले बढी भाडा असुलेको हामीलाई कुनै गुनासो आएको छैन, बढी भाडा लिएको जानकारी पाएमा तत्काल कारबाही गर्छौ।’

स्थानीय यात्रुलाई सास्ती

विपी राजमार्गमा बस नचल्दा स्थानिय यात्रुलाई भने ठुलो सास्ती भएको छ। सिन्धुलीमाढीबाट काठमाडौं जाने साना सवारी सबैले काठमाडौंकै यात्रुले भरिभराउ हुने र स्थानीय यात्रु नबोक्ने गर्दा मार परेको हो। पूर्वबाट आउने समेत सबै भरिएर आउँदा स्थानीय यात्रु १२ किलोमिटरसम्म हिडेरै पार गर्न बाध्ये छन्। विपी राजमार्गस्थित भद्रकालीको चियाबारी माथिको घुम्तिमा भेटिएका एक स्थानीयले साना गाडीले काठमाडौं पुग्ने भाडा मागेपछि आफू हिडेरै यात्रा गर्न बाध्य भएको बताए। ‘चर्को गर्मी छ, तर बस छैनन्, साना गाडीलाई तिर्ने पैसा छैन, चार सय रुपैया कसरी तिर्ने?’ उनले गुनासो गरे। 

सिन्धुली खुर्कोट खण्डमा बस सेवा सञ्चालन नभएपछि स्थानीयले अटो टेम्पो रिजर्भ गरेर यात्रा गर्ने गरेका छन्। सिन्धुलीमाढीबाट खुर्कोटसम्म झन्डै ४० किलोमिटर दुरीलाई अटोले १५ सयमा रिजर्भ लाने गरेको र सोही अनुसार यात्रुले आवातजावत गरेको स्थानीयको गुनासो छ। बस सेवा सञ्चालन नहुँदा सिन्धुली खुर्कोट खण्डका यात्रुलाई धेरै मार परेको छ। अन्यत्रबाट सिधै काठमाडौं जाने यात्रुलाई भने बाइरोडको बाटोबाट बस सञ्चालन भइहेका छन्। 

प्रकाशित: ५ असार २०७५ ०९:०१ मंगलबार

विपी राजमार्गमा साना सवारीले मनपरी भाडा असुलेको गुनासो