coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुपारीजस्तै सेटिङमा अदुवा तस्करी

धरान- मंगलबारयता पूर्वी नाका काँकडभिट्टाबाट भारतले नेपालको अदुवा निकासीमा रोक लगाएपछि व्यापारी र किसान चिन्तित बनेका छन्। तर, धरानका अदुवा निर्यातकर्ता (व्यापारी) नन्दकिशोर शाहलाई भने यो नौलो कुरा लागेन।

कुनै दिन यस्तो अवस्था आउँछ भन्ने उनलाई पूर्वानुमान थियो। नेपाली भन्दै चिनियाँ अदुवा धमाधम भारत निकासी भइरहेकोबारे उनी जानकार थिए। यसले नेपाली अदुवाको बजार तहसनहस पार्छ भन्ने उनलाई पहिल्यै लागेको थियो। त्यसैले करिब डेढ महिनाअघि उनले मेची भन्सार कार्यालय, रानी भन्सार कार्यालय, वीरगन्ज मूल भन्सार र बेहलिया भन्सार कार्यालय रुपन्देहीलाई चिनियाँ अदुवाको चोरी निकासी रोकिदिन माग गर्दै निवेदन दिए। कहीँबाट पनि उनको निवेदनको सुनुवाइ भएन। 'भारतमा चाइनिज अदुवामा प्रतिबन्ध छ, तर नेपालबाट चोरी–तस्करी गरेर भारतीय बजारमा गइरहेको छ,' शाहले भने, 'चाइनिज अदुवाले नेपाली अदुवाको बजार बिगार्छ भन्ने थाहा थियो, त्यही भएर सबै भन्सार कार्यालयलाई निवेदन गरेको थिएँ। कहीबाट सुनुवाइ भएन।'

धरानका व्यापारी शाह कोसी पहाडी जिल्लामा उत्पादन हुने अदुवाको सबैभन्दा ठूला निर्यातकर्ता हुन्। उनलाई जुन कुराको आशंका थियो, अहिले नेपाली अदुवा व्यापारी र किसानले सरकारी अर्कमण्यताको त्यही नियति भोगिरहेका छन्। भारतले नेपालबाट अदुवा निकासी रोक लगाउनुमा अवैध रुपमा चाइनिज अदुवा निकासी प्रमुख कारण हो। नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जान्छ। भारत निकासी गर्न नपाएपछि व्यापारीले किसानबाट किनिसकेको अदुवा गोदाममा थन्किएको छ भने व्यापारीले पनि अदुवा किन्न छाडेपछि किसानको बारीमै कुहिन लागेको छ। पूर्वको कोसी र मेचीका पहाडी जिल्लामा उत्पादन हुने अधिकांश अदुवा काँकडभिट्टा नाका हँुदै भारत निकासी हुन्छ।

नेपालमा उत्पादन हुने अदुवाको खपत स्वदेशमा सम्भव छैन भन्ने सबै सरकारी निकायलाई थाहा छ। तर पनि सरकारले चाइनिज अदुवा आयात गर्न छुट दिएको छ। स्थानीय व्यापारीका अनुसार नेपालका ठूला घरानाका उद्योगी, व्यावसायीले नै चाइनिज अदुवा ल्याएर सेटिङ गरी भारत निकासी गर्छन्। यसको मारमा अहिले नेपालका अदुवा किसान र अन्य व्यापारी परेका हुन्। आफ्नै देशको उत्पादनले बजार नपाएर भारत निकासी भइरहँदा आयात गरिएको चाइनिज अदुवा पनि भारत निकासी गर्नुको विकल्प छैन। भारतमा प्रतिबन्धित चाइनिज अदुवा नेपाल हँुदै निकासी भइरहेको बारे नेपाल र भारत दुवै भन्सारका अधिकारी जानकार छन्। तर, आर्थिक प्रलोभनमा परी मिलेमतोमा भन्सार पास गराउँछन्।

व्यापारीका अनुसार चाइनिज र नेपाली अदुवा परैबाट प्रस्ट छुटिन्छ। चाइनिज अदुवा आधुनिक प्रविधिबाट धोएको, ठूलो र राम्रो ग्रेडिङ भएको हुन्छ भने २० किलोको प्याकेजिङ भएर आएकोे हुन्छ। तर, चाइनिज अदुवा नेपालको कृषि बजारस्थल वा खुद्रा बजरसम्म आइपुग्दैन। ठूला व्यापारीले आफ्नो गोदाममा स्टक गर्छन् र नेपाली अदुवा जस्तो बनाउन जुटको बोरामा हालेर निकासी गर्छन्। 'चाइनिज अदुवा परैबाट प्रस्ट चिनिन्छ, तर बजारमा कही देखिँदैन,' व्यापारी राकेश शाह भन्छन्, 'चाइनिज अदुवा २० केजीको राम्रो प्याकिङ हुन्छ, त्यसलाई नेपालमा आएपछि खन्याउँछ, र बोरामा प्याक गरेर नेपालकै भनेर भारत लैजान्छ।'

अदुवा निर्यातकर्ता नन्दकिशोर शाह त चाइनिज अदुवा आयात गर्न दिने मन्त्रालय, सरकारी अधिकारी, ठूला घरानाका व्यापारी मिलेर किसान मार्ने काम गरेको दोष दिन्छन्। उनका अनुसार आर्थिक प्रलोभनमा परी चाइनिज अदुवालाई नेपालको उत्पादन हो भनेर उद्योगी, व्यावसायीको संस्था र सरकारी अधिकारीले सिफारिस गरिदिएको हुन्छ। चाइनिज अदुवा प्रस्टै देखे पनि नेपाल र भारत दुवैको भन्सार अधिकारीले हिस्सा पाएपछि नदेखे झैं गर्छन् र, भारत निकासी हुन्छ। 'ठूलो उद्योगपतिले चाइनिज अदुवा मगाउँछ, पैसा खाएर कतिपय संघले पनि नेपाली अदुवा हो भनेर लेखिदिन्छ। नेपाल र भारतको भन्सारले पनि पैसा पाएपछि रोक्दैन,' शाह भन्छन्, 'चाइनाबाट अदुवा आउँदा नेपाली किसान मर्छ भन्ने सबैलाई थाहा छ, तर हिस्सा पाएपछि माथिका सबै सरकारी मान्छे चुप छन्। किसानमारा त सरकार नै हो।' एक गाडी चाइनिज अदुवा पास गराउँदा नेपालका भन्सार अधिकारीले ७५ हजार र भारतीय भन्सारले १ लाख रुपैयाँ लिने गरेको उनको दाबी छ।

धरान १३ स्थित कृषि उपज बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराई पनि लुकीछिपी चाइनिज अदुवा भारत निकासी भइरहेको जानकारी आए पनि बजारस्थलले चाइनिज अदुवालाई सिफारिस नदिएको बताउँछन्। ५ वर्षदेखि रानी भन्सार कार्यालयले नेपाली अदुवा भएको सिफारिस माग गरेपछि बजारस्थलले दिँदै आइरहेको छ। तर, अन्य नाकाबाट भने यस्तो सिफारिस माग भएको छैन। 'जोगवनीको भारतीय भन्सारले अदुवा नेपालकै उत्पादन हो भनेर सिफारिस माग्नुले पनि चाइनिज अदुवा निकासी भइरहेको बारे भारतीय भन्सारलाई पहिल्यै थाहा थियो। त्यही भएर त जोगवनीले नेपालकै हो भनेर प्रमाणित गर्ने सिफारिस मागेको हो,' व्यावस्थापक भट्टराई भन्छन्, 'किसानबाट कृषि बजारमा संकलन भएर यहीँ किनेर लोड भएको अदुवालाई मात्र नेपालको भनेर सिफारिस गर्छौैं।' सिफारिस भए पनि अहिले रानी भन्सारबाट पनि अदुवा निकासी ठप्प छ।

कृषि बजार विकास निर्देशनालयका वरिष्ठ कृषि बजारविज्ञ मकबुल अली नेपालमा भारत र चीनबाट कृषिजन्य वस्तु खुला रुपमा आयात हुने तर नेपालबाट निर्यात गर्न भने समस्या हुने गरेको बताउँछन्। पछिल्लो समस्या नेपाल र भारत दुवै देशबीच समन्वय अभावले सिर्जना भएको उनको बुझाइ छ। 'नेपालमा आयात गर्न सहज छ, तर नेपालको उत्पादन निर्यात गर्न गाह्रो छ। भारत र चीन दुवै देशले कडा सर्त राख्छन्। शंका लाग्दा रोक लगाउँछन्। तर, यो रोक अस्थायी मात्र हो,' उनले भने, 'अहिल कोअर्डिनेसनको समस्या हो, उच्च सरकरीस्तरबाट यो समस्या सुल्झाउनुपर्छ।'

किसानको बारीमा ३० प्रतिशत अदुवा

असारदेखि भदौ महिना माउ अदुवा उत्पादन हुने प्रमुख समय हो। व्यापारीका अनुसार किसानको बारीबाट अझै पनि ३० प्रतिशत माउ अदुवा निकाल्न बाँकी छ। चाँडै निकासी नखुल्ने हो भने ती माउ अदुवा किसानको बारीमै कुहिने व्यापारी दिलबहादुर राई बताउँछन्। '३० प्रतिशत माउ अदुवा त अझै बारीमा निकाल्न बाँकी छ, २–४ दिनसम्म त केही हुँदैन। त्यसपछि कुहिन थाल्छ,' व्यापारी राईले भने, 'भारत पठाउन नपाएपछि अब हामीले पनि किनेर के गर्ने?'

व्यापारीका अनुसार निकासी समस्या लम्बिए सिजन सुरु हुनु अगावै किसानको नयाँ अदुवाको लगानी पनि अन्योल बनेको छ। नयाँ अदुवा असोजदेखि मात्र उत्पादन सुरु हुन्छ। कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यो वर्ष करिब १० हजार मेटि्रक टन कारोबार हुने अनुमान गरिएको छ। कोसी पहाडी जिल्लाका अदुवा यो बजारस्थल हुँदै निकासी हुन्छ। अहिले ३ हजार मेटि्रक टन अदुवा किसानको बारीमा भएको अनुमान छ। गत आवमा ६ हजार ८ सय २१ टन अदुवाको कारोबार भएको थियो।

प्रकाशित: २० भाद्र २०७३ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App