७ वैशाख २०८१ शुक्रबार
समाज

‘स्तब्ध बन्यो देवकोटाको जन्म गाउँ’

जेठ २६ गते डाक्टर देबकोटा पण्डित गाउँबाट फर्कँदा भेला भएका स्थानीय। तस्बिर : नरहरि/नागरिक

गोरखा – बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनपछि उनको गृहगाउँ पालुङटार नगरपालिका–४ पण्डितगाउँमा सन्नाट छाएको छ। स्थानीयहरु ‘स्तब्ध’ छन्। जेठ २६ गते उनलाई घरको पिँडीमा देख्नेबित्तिकै आशा मारेर गहभरी आँसु बगाएका स्थानीयले अन्ततः उनलाई गुमाउँदा निकै पिडाबोध गरिरहेका छन्।

‘उनको परिवारमा जति बेदना छ हाम्रो गाउँको सबै परिवारमा पनि त्यत्ति नै बेदना छ’, पण्डित गाउँका ठाकुरप्रसाद देवकोटाले भने। रुखले च्यापेर भाँचिएको खुट्टा हिड्न मिल्ने गरी देवकोटाले उपचार गरेको सम्झँदै उनले आफुहरु बिरामी हुँदाको भरोसा देवकोटानै रहेको बताए। खुट्टाको उपचार ठिक भएर भेट्न जाँदाको क्षणमा डाक्टर देवकोटाले ‘बाबु तँ बाचिस्, मलाई गर्व छ, भनेको कुरा अहिले पनि गुन्जिरहेको छ उनको कानमा।’

गत मंसिर १ गते राधिका बस्नेतको शल्यक्रिया पछि डाक्टर देवकोटा निकै अस्वस्थ बनेका थिए। गोरखा पालुङटारकी ती बालिकाको शल्यक्रियापछि उनले भनेका थिए ‘सि ईज माई लास्ट केस’। बालिकाका बुवा इश्वर बस्नेतले छोरीको उपचार पछि देवकोटालाई भेट्न जाँदा आफ्नो बेदना लुकाएर नानीको चिन्ता गरेको बताए। छोरीको जीवन बचाउने डाक्टर गुमाउँदा उनलाई निकै दुःख लागेको छ।

देवकोटाका बाल्यकालका सहपाठीहरु बिगतका दिन सम्झिँदै नरमाइलो मानिरहेका छन्। उनका सहपाठी शंकरमान श्रेष्ठलाई देशकै कुसल डाक्टरको निधनले दुःखी बनाएको छ। सँगै खाए, खेले, हुर्केको बाल्यकाल सम्झँदै उनले भने, ‘किस्सा गरेर हँसाउँथे, धेरै बोल्ने तर कहिलेकाही रिसाउँने देवकोटाको बानीलाई सम्झे।’ खेतबारीमा काम गर्ने, घरको काममा सघाउने देवकोटाको बानि पनि उनको मनसपटलमा ताजै छ। देवकोटाकी सानीआमाका छोरा प्रदिपचन्द्र देवकोटा उनको केटाकेटीलाई माया गर्ने, पढाईमा चासो दिएर सोधखोज गर्ने र गाउँघरकाले दुःख सुनाउँदा सक्दो सहयोग गर्ने बानी सम्झिन्छन

भूकम्पले क्षति पुर्याएको आफ्नो पण्डिगाउँमा रहेको दुई तले घरको पनि उनले मर्मत गरेका थिए। प्राय उनी गाउँ आइरहन्थे। गाउँ आउँदा त्यही घरमा बस्थे। प्रतिनिधि सभाको निर्वाचनमा घर आएका उनी त्यसपछि भने जेठ २६ गते उनको अन्तिम इच्छा पुरा गर्न परिवारले हेलिकप्टर चार्टर गरेर स्टेचरमा बोकेर यहाँ ल्याएका थिए।

घरछेउको सिस्नेपानी धाराको पानी पिएर, पिँडीमा आराम गरेर उनी फर्किएका थिए। उनका सहकर्मी पूर्व प्रधानमन्त्री एवम् गोरखा–२ का संसाद् डा. बाबुराम भट्टराई, यहाँका जनप्रतिनिधि, सामाजिक, राजनीतिक ब्यक्तीहरु सबैले सामाजिक सञ्जालमा उनको योगदानको चर्चा र स्मरण गर्दै समवेदना  ब्यक्त गरेका छन्।

प्रकाशित: ५ असार २०७५ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App