६ वैशाख २०८१ बिहीबार
विचार

अनुसन्धानका निचोड र प्रस्तुति

केहीअघि काठमाडौँ गएका बखत सहपाठी भेट्न जाँदा ऊ आफ्नो छोरालाई चकलेट खुवाउन मरिहत्ते गर्दै थियो। किन गुलियो खुवाउन बल गरेको भन्दा चकलेटले मानिसको बौद्धिक क्षमता खारिने हुँदा आफूले छोरालाई नियमितरूपमा टफी खुवाउने गरेकोमात्र बताएन बरु चकलेट खुवाउँदा पढाइमा तेजहुने सन्दर्भमा प्रकाशित भएको अनुसन्धानको हवाला दिँदै मलाई पनि त्यसै गर्न सल्लाह दिन भ्यायो मित्रले। आफू उक्त अनुसन्धानको अद्योपान्त परिचित भए पनि एकछिनका लागि भेट भएको मित्रसँग वैज्ञानिक बहसमा समय खर्चिनुभन्दा पारिवारिक सद्भावमा रम्न उचित हुने ठानेँ।

सन् २०१२मा चकलेटको प्रयोग र बौद्धिक क्षमताबीचको अन्तरसम्बन्ध स्थापित हुनेगरी एउटा अनुसन्धानात्मक टिपोट सार्वजनिक भयो। युरोपका २३ मुलुकमा खपत हुने चकलेटको परिमाण र ती देशका बौद्धिक जमातले पाएको नोबल पुरस्कारको संख्या विश्लेषण गरी उक्त अनुसन्धानात्मक निचोडसार्र्वजनिक भएको थियो । स्विडेनलाई अपवाद मान्नेहो भने समावेश भएका मुलुकमा प्रतिव्यक्तिले खाने चकलेटको सरदर मात्रा र देशले भित्र्याएको नोबल पुरस्कारबीच प्रत्यक्ष सम्बन्ध स्थापित भएको पाइयो। अथवा जुन देशमा प्रतिव्यक्ति चकलेटको खपत अत्यधिकछ उक्त मुलुकले नोबल पुरस्कार पनि बढी ल्याएको देखियो ।संसारमा प्रतिव्यक्ति चकलेट अत्यधिक खपत हुने र जनसंख्याको तुलनामा सबैभन्दा बढी नोबल पुरस्कार पाउने मुलुक पनि स्विजरल्यान्डनै देखियो। चकलेटको खपत र पुरस्कारबीच प्रत्यक्ष तालमेल देखिए पनि नोबल पुरस्कार पाउने वैज्ञानिकहरूले चकलेट खान्थे कि खाँदैनथे भन्ने कुरा उक्त अनुसन्धानमा समेटिएकै थिएन । त्यसैले चकलेट खाने व्यक्ति तीक्ष्ण बुद्धिको हुन्छ भन्ने भाखा उक्त अनुसन्धानको निष्कर्ष छँदै थिएन। अझवैज्ञानिक भाषामा भन्नुपर्दा अत्यधिक चकलेट खाने मुलुकले धेरै नोबल पुरस्कार पाउनु संयोगमात्र हो। तर त्यसबेला अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषण भएका समाचार नियाल्ने हो भने अधिकांश खबरको निचोड चकलेट खाए बुद्धि बढ्छ भन्ने हिसावमैआएको पाइयो । स्तम्भकार वैज्ञानिक डा. दयानन्द वज्राचार्यले समेत त्यसबेला त्यसै लाइनमा आलेख लेख्नुभएको स्मरण यस पंक्तिकारको मानसपटलमा अद्यापि ताजैछ ।दयानन्दसरका स्तम्भको नियमित पाठक भएकाले नै होला,छोरालाई चकलेट ख्वाउन मित्र संघर्षशील हुनुको कारण। अपूर्ण समाचारले समाजमा कस्ता नकारात्मक असर पार्छन् भन्ने कुराको उदाहरणहो उक्त घटना।

क्लिष्ट अनुसन्धानात्मक परिणामहरूलाई यथार्थरूपमा पस्कँदा निष्कर्षहरू सर्वसाधारणाको समझभन्दा बाहिर पुग्छन्। तसर्थ त्यस्ता खबरलाई प्रशोधन गरी जनसमक्ष पु-याउने माध्यम भनेको समाचार गृह नै हुन्।

असत्य खबरहरूतीव्र गतिमा हिँड्छन् भन्ने सदियौँदेखिको मान्यतालाई यसै वर्ष तथ्यगतरूपमा पुष्टिगरे संयुक्त राज्य अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ता सरोज भोसौगीले। १० वर्षको अवधिमा अग्रजी भाषामा सम्प्रेषण भएका खबरहरूको विश्लेषण गर्दा गलत समाचारहरू सत्य सूचनाको तुलनामा ६ गुणा छिटो पुग्ने उनको निष्कर्ष रह्यो । सामाजिक सञ्जालमा देखिने नेपाली समाचारहरूको सतही विश्लेषणले समेत डा. भोसौगीको अनुसन्धानलाई गलत भन्दैन। व्यापार, मनोरञ्जन, राजनीतिमा मात्र होइन, सदैव तथ्यमा आधारित विज्ञानका खबरहरूमा समेत असत्य समाचारले जरो गाडेको पाइयो।

जेम्स बाट्सन र फ्रान्सिस क्रिकले सन् १९५३मा पत्ता लगाएको अणुवांशिक पदार्थ डिएनएको ढाँचा अहिलेसम्मको मेडिकल साइन्सको फिल्डमा भएको सबैभन्दा गहकिलो आविष्कार मानिन्छ । सञ्चार संयन्त्रको विकासलाई सरलीकृत गरेर हेर्दासमेत उपरोलिखित चकलेटको अनुसन्धानले आयुर्विज्ञानको अनुसन्धानलाई नवीन दिशा प्रदान गर्ने डिएनएको आकृतिको उत्खनन्भन्दा अत्यधिक चर्चा पाएको देखिन्छ । कमसल खबरहरू खँदिला उत्खनन्को तुलनामा लोकप्रिय हुन्छन् भन्ने उदाहरणहो चकलेट र नोबल पुरस्कारको अन्तरसम्बन्धको खबर।

नेपालको सन्दर्भमा भन्नुपर्दा सामान्य रोगमा समेत डाक्टरले औषधि देओस् भन्ने बिरामीको प्रवृत्ति तथा जाँच्न आउने बिरामीलाई औषधि नलेख्दा आफ्नो औचित्य पुष्टि गर्न कठिन हुने ठहर गर्ने डाक्टरहरूले आफ्नो सोचमा सामान्य परिवर्तन ल्याउने हो भने मानसिक रोगीको संख्या घट्थे कि?

गत वर्ष संयुक्त अधिराज्यको युनिभर्सिटी अफ् एक्सटरका प्राध्यापकले जम्मा ८८ जना अंग्रेजी भाषाभाषी बेलायतीलाई केन्द्रमा राखी रक्सी सेवनको प्रभावको अध्ययन गरे। उक्त संख्यालाई दुई समूहमा विभक्त गरी एक झुण्डलाई अल्कोहल र अर्को समूहलाई सामान्य पेय पदार्थ दिएर उनीहरूमध्ये कुन वर्गले पिउनुअघि दिएको पाठ पछिल्लो समयमा राम्रोसँग बुझाउन सक्छन्भनी अध्ययन गर्दासीमित मात्रामा रक्सी खाने मानिसको स्मरण क्षमता अब्बल देखियो। पिउने समूहले सालाखाला ९० ग्राम अल्कोहल सेवन गरेकोहुँदा ठीक मात्रामा रक्सी खाँदा स्मरण क्षमत तीक्ष्ण हुन्छ भन्ने खबर बाहिरियो। नशा सेवन गर्नेहरूका लागि बरदान सावित भयो उक्त निचोड । अब उक्त अनुसन्धानको गहिराइ हेरौँ । १ सयभन्दा पनि कम समूहमा गरेको अनुसन्धानको प्रभावकारिता अति न्यून हुन्छ। अझ, एकै देशका नागरिकमा गरिएको अध्ययनलाई केवल टिपोटमा राख्न मिल्छ त्यसलाई सार्वजनिक चासोको वैज्ञानिक अनुसन्धानका रूपमा लिन मिल्दैन। खानपिनसँग सम्बन्धित यस्ता अनुसन्धानले आधिकारिकता पाउनकालागि सहभागीको संख्या हजारौँमा भएरमात्र पुग्दैन, बरु उक्त अनुसन्धानका सहभागीले अन्तर्राष्ट्रिय सीमारेखा छिचोल्न आवश्यक देखिन्छ। चकलेटको खबरझैँ रक्सीको सेवनले स्मरण शक्ति बढ्छ भन्ने खबरले व्यापक चर्चा पायो। उक्त खबर सार्वजनिक भए उपरान्त मेडिकल साइन्सका प्रोटोकल निर्माण गर्ने मेयो क्लिनिक र क्लिभल्यान्ड क्लिनिकले आआफ्नो बेभसाइटमा संयमितरूपले ठीक मात्रामा पिउने बानीनै छ भने अर्को कुरा अन्यथा सार्वजनिक भएका खबरका आधारमा रक्सी सेवन गर्न उद्यत नहोऊ भनेर सूचना जारी गरे।

अन्तर्राष्ट्रियरूपमै अल्कोहलको खपत बढ्दै गएका बखत रक्सीको सामान्य उपयोगले मानिसको स्वास्थ्यलाई सकारात्मक प्रभाव पारेका खबरहरू आए। तर त्यसरी सोमरसको खपतलाई उचित ठह-याउने अधिकांश अनुसन्धानको लगानीकर्ता रक्सी उत्पादक कम्पनीहरू नै देखिए । रक्सी उत्पादकसँग पैसा लिएर गरिएका अनुसन्धान एकांकी हुने र त्यसका नतिजाहरू सदैव लगानीकर्ताको पक्षमा जाने भएकाले अल्कोहलको सम्बन्धमा निष्पक्ष अनुसन्धानको आवश्यकता खड्किएकै थियो । त्यसै सन्दर्भमा अल्कोहलको प्रयोग मानिसका लागि लाभदायक हो÷होइन भन्ने यथार्थ संसारका सामु आओस् भन्ने चाहना राख्दै अमेरिकाको सबैभन्दा ठूलो अनुसन्धानात्मक संस्था न्यासनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)ले १० करोड डलर लगानी खर्च गर्ने अठोट ग-यो। त्यस कार्यका लागि अनुसन्धानकर्ता पनि तोक्यो। ८ हजार रक्सी सेवनकर्तालाई समावेश गरी भिन्न देशका १६ स्थानबाट तथ्यांक संकलन गर्ने लक्षकासाथ थालिएको उक्त अनुसन्धानले अल्कोहलले मानव स्वास्थ्यमा अनुकूल परिणाम दिन्छ/दिँदैन भन्ने ठोस उत्तर दिने आशा गरिएको थियो । तर उक्त अध्ययनको मुख्य अनुसन्धानकर्ताले केहीअघि मात्र रक्सी उत्पादन कम्पनीसँग अनुसन्धानकालागि पैसा लिएको तथ्य सार्वजनिक भयो। अल्कोहल बनाउने कम्पनीसँग पैसा लिने मानिसले निरपेक्षरूपले रिसर्च गर्न नसक्ने बरु रक्सी बनाउने कम्पनीको पक्षमा नतिजा ढल्काउन सक्ने भएकाले गतहप्ता मात्रएनआइएचले उक्त अध्ययन रोक्ने फैँसला ग-यो। रक्सीको प्रयोग मानिसका लागि लाभदायक हो÷होइन भन्ने सन्दर्भका ठोस नतिजाका लागि अझ केही कुर्नुपर्ने देखियो । सरोकारवालाको लगानीमा गरिने अनुसन्धानको निचोड कस्तो हुन्छ भन्ने बुझ्न एक काल्पनिक उदाहरण हेरौँ । मानौँ, काठमाडौँ उपत्यकाका इँटा उत्पादक कम्पनीको लगानीमा इँटा तथा टायल भट्टाले उत्पादन गरेको धुलोधुवाँले जनताको स्वास्थ्यमा के असर पारेको छ भन्ने विषयमा अध्ययन गर्ने हो भने परिणाम के आउला?

संसारमा औषधिको उपभोग व्यापकरूपमा बढेको देखियो। सामान्य अवस्थामै ठीक हुने रोगका लागिसमेत ओखती लेख्ने प्रवृत्ति बढेको देखियो। नेपाललगायत विश्वका अधिकांश देशमा औषधिको अनावश्यक उपभोग भएकै अवस्थामा गत हप्ता युनिभर्सिटी अफ इलिनोइस, सिकागोका अनुसन्धानकर्ताले सन् २००५ देखि २०१४ को बीचमा सहभागी २६ हजारले उपभोग गरेको औषधि र उनीहरूको स्वास्थ्यमा आएको परिवर्तनलाई प्रशोधन गर्दा परिवार नियोजनका चक्की, रक्तचापको औषधि, दुखाइ तथा अम्लियपन घटाउन प्रयोग गरिने २०० भन्दा अधिक औषधिले मानिसमा उदासी तथा अत्महत्याको सोच ल्याउने गरेको देखायो। मेडिकल भाषामा भन्दा झण्डै ३० हजारलाई सहभागी गराइएका अनुसन्धानहरू यथार्थको नजिक मानिन्छ। औषधिको मुख नदेखेका नेपालका दुर्गम भेगका बासिन्दाका तुलनामा अगे्रजी दबाइउपभोग गर्ने सहरिया बासिन्दामा अत्यधिक मानसिक रोगका लक्षण देखिनुले युनिभर्सिटी अफ इलिनोइज सिकागोको अनुसन्धानलाई ठीक भन्छ नै। तसर्थ, नेपालको सन्दर्भमा भन्नुपर्दा सामान्य रोगमा समेत डाक्टरले औषधि देओस् भन्ने बिरामीको प्रवृत्ति तथा जाँच्न आउने बिरामीलाई औषधि नलेख्दा आफ्नो औचित्य पुष्टि गर्न कठिन हुने ठहर गर्ने डाक्टरहरूले आफ्नो सोचमा सामान्य परिवर्तन ल्याउने हो भने मानसिक रोगीको संख्या घट्थे कि?

क्लिष्ट अनुसन्धानात्मक परिणामहरूलाई यथार्थरूपमा पस्कँदा निष्कर्षहरू सर्वसाधारणाको समझभन्दा बाहिर पुग्छन्। तसर्थ त्यस्ता खबरलाई प्रशोधन गरी जनसमक्ष पु-याउने माध्यम भनेको समाचार गृह नै हुन्। सार्वजनिक चासोका अनुसन्धानलाई यथार्थपरक ढड्गले प्रस्तुत नगर्दा सर्वसाधारणको दिमागमा चकलेट खाँदा नोबल पुरस्कार पाइने अनि अल्कोहल सेवन गर्दा स्मरण शक्ति बढने जस्ता यथार्थभन्दा भिन्न छाप पर्ने भएकाले सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखियो। सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित अनुसन्धानका निचोडप्रस्तुत गर्दा अध्ययनको आकार, सरोकार समूह, परिणाम, खर्च गर्ने निकायलगायतका विषय सुषुप्त राखी लोकप्रिय नाराकालागि समाचार संम्प्रेषण गर्दा जनतामा नकारात्मक असर पार्ने यथार्थ विश्वासिला सञ्चारगृहहरूले ध्यान दिन आवश्यक देखियो।

प्रकाशित: ५ असार २०७५ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App