७ वैशाख २०८१ शुक्रबार
कला

यल : फिल्म फेस्टिभल हुने

काठमाडौं – फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ । ललितपुरमा आगामी सन् २०१९ को फेब्रुअरी १ बाट फेब्रुअरी ३ सम्म हुने फेस्टिभलमा विभिन्न देशका स्वतन्त्र फिल्मकर्मीको सहभागिता हुनेछ।

आयोजक नेपाल इन्डिपेन्डेन्ट फिल्मकी अध्यक्ष तथा फेस्टिभल निर्देशक निशा श्रेष्ठले जुनसुकै थिममा बनाइएका फिल्मले फेस्टिभलमा सहभागिता जनाउन सक्ने बताइन् । ‘अधिकांश फेस्टिभलमा दुःख र पीडाका विषयलाई प्राथमिकता दिइएको पाइन्छ ।

तर यो फेस्टिभलमा भने सकारात्मक विषयबस्तुका फिल्मले पनि उचित स्थान पाउनेछन्,’उनले भनिन्,‘नेपालमा निर्माता तथा स्क्रिप्ट राइटरको दबाबले निर्देशकले स्वतन्त्र किसिमले काम गर्न पाइरहेका छैनन् । यो अवस्थाको अन्त्य गर्न अन्तर्राष्ट्रिय रुपमा बनेका फिल्म तथा वृत्तचित्रमार्फत हाम्रा फिल्मकर्मीलाई त्यसको सन्देश दिन चाहन्छौं ।’
उनले आगामी असार १७ गतेबाट ‘ओपन सिनेमा’ नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् ।

यो कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड प्राप्त नेपाली फिल्म तथा वृत्तचित्रलाई पहिलो चरणमा ललितपुरका २९ वटै वडामा खुला स्थानमा देखाइने छ । निशाका अनुसार हाल संस्थासँग रहेको वृत्तचित्र ‘कमारो’ र सुशन प्रजापतिको ‘लाज’लाई समुदायमाझ देखाइनेछ ।

शुक्रबार ललितपुरमा आयोजित फेस्टिभल घोषणा कार्यक्रममा संस्कृतिविद सत्यमोहन जोशीले गणित र संगीतजस्तै स्वतन्त्र फिल्म पनि विश्वले बुझ्ने भाषा बनिसकेको बताए । ‘यस्ता फिल्मले मानिसको वास्तविक काम, वास्तविक जीवनलाई चित्रण गरेको हुन्छ । जुन आफैमा महत्वपूर्ण छ ।’ उनले भने।

फेस्टिभलका महानिर्देशक गोविन्द खड्काले एसियाका धेरै मुलुकले विश्व सिनेमा आफ्नो पहुँच पु¥याइसकेको अवस्थामा स्थानीय प्रतिभाको स्वतन्त्र फिल्म निर्माणको काममा प्रोत्साहन गर्न फेस्टिभल हुन लागेको बताए ।
नेपालका लागि ब्राजिलियन राजदूत मारिया टेरेसा मस्कुइटा पेसोआले ब्राजिलमा पनि गारामाडो फिल्म फेस्टिभल हुने स्मरण गर्दै त्यहाँको र यहाँको फेस्टिभबलबीच अन्तरसम्बन्ध कायम गर्न आफ्नो प्रयास रहने बताइन् ।
 

प्रकाशित: ५ असार २०७५ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App