७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सिकलसेलको अवस्था भयवह

काठमाडौं - नेपालको तराई क्षेत्रका थारु समुदायमा बढी केन्द्रीत सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन रोगको परीक्षण, परामर्श र जनचेतनालाई बढाउनुपर्ने स्वास्थ्य क्षेत्रका अनुसन्धानदाता सरकारी संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। बर्दियाका थारु समुदायमा सिकलसेलबाट लामो र व्यवस्थित अनुसन्धान गरिरहेको परिषद्ले परीक्षाबाट रोग भए नभएको यकिन भएपछि भावी पुस्तामा रोग सर्न रोक्न काम अगाडी बढाउन सकिने भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ। विश्व सिकलसेल एनिमिया दिवस (१९ जुन) को अघिल्लो दिन विज्ञप्ति जारी गर्र्दै परिषद्ले यो रोग लागेपछि निको नहुने र यसबाट बच्ने भएको नयाँ संक्रमण रोक्ने मात्रै विकल्प भएको भन्दै त्यसका लागि प्रयास गर्नुपर्ने जनाएको छ।

कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले सिकलसेल जेनिटिक विधिबाट मात्रै सर्न रोक्न सकिने बताए। ‘केटा र केटी दुवै सिकलसेल भएमा जन्मिने बच्चामा समेत सिकलसेल हुने अधिक सम्भावना भएकाले रोग भएन÷भएको पहिचान गरी सकेपछि उनीहरुलाई विवाह नगर्ने सल्लाह दिन र त्यसमा दम्पत्तिलाई राजी गराउन सकियो भने भावी पुस्तालाई यो रोगबाट जोगाउने सक्ने सम्भावना अधिक हुन्छ,’ उनले भने।

डा. झाले त्यसका लागि थारु समुदायको बाहुल्यता रहेको बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्ला बृहत् परीक्षण (स्क्रिनिङ) कार्यक्रम चलाउनुपर्ने बताए। ‘अहिले बर्दियामै धेरै प्रतिशत जनसंख्यामा यो रोग देखिएको प्रारम्भिक नतिजा आइरहेको छ,’ उनले भने, ‘यही अवस्था अन्यत्र पनि छ।’ परिषद्को नेतृत्वमा बर्दियाका १ देखि २९ वर्षका २० हजार थारुहरुमा यो रोगको जाँच भइरहेको छ। अनुसन्धानका क्रममा बर्दियाका १–२९ वर्षका २० हजार व्यक्तिहरुसँग अन्तर्वार्ता लिनुका साथ साथै रगत परीक्षण गरी तथ्यांक संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ५ हजार २ सय ८८ व्यक्तिहरुसँग अन्तवार्ता लिई रगत संकलन गरिसकिएको छ। संकलन गरिएको रगत बारबर्दियाकै स्वास्थ्य केन्द« तथा वीर अस्पतालमा परिक्षण गरिरहेको परिषद्ले जनाएको छ।

जसमा हालसम्म आएको परीक्षण रिपोर्टका क्रममा झन्डै १२ देखि १५ प्रतिशत जनसंख्यामा सिकलसेल प्रमाणित भएको पाइएको छ। जुन निकै भयावह अवस्था हो। त्यो आधारमा रोग भए नभएको पहिचान गर्ने र सो आधारमा रोग नसर्ने तरिकाबाट परामर्श दिने योजना रहेको उनले सुनाए। ‘जोखिममा रहेका जनसमुदायमा यो विषयमा सचेतना जगाउन जरुरी छ। साथै, नयाँ पुस्तामा रोग सर्न नदिने उपायलाई अपनाउन पनि उनीहरुलाई प्रतिबद्ध गराउँदै आगामी दिनमा देशभरका जोखिममा रहेका समुदायलाई यस्तै खालको परीक्षण र जनचेतनामार्फत् सिकलसेल शून्य पुस्ता निर्माण गर्न सरकारी नेतृत्व चाहिन्छ,’ उनले भने।

सिकलसेललाई जनस्वास्थ्य समस्याको रुपमा पहिचान गरेर परिषद्ले नेपालमै पहिलोपटक आर्थिक वर्ष २०७४/०७५ देखि पहिलो चरणमा बर्दियाको बारबर्दिया नगरपालिकामा बसोबास गर्ने थारु समुदायमा परीक्षण र अनुसन्धान कार्य सुरु गरेको जनाएको छ। अनुसन्धानको उद्देश्य उक्त समुदायमा सिकलसेल एनिमियाका भार (अवस्था) पत्ता लगाई रोकथाम तथा नियन्त्रणमा सहयोग पु-याउने परिषद्ले जनाएको छ।

चिकित्सकका अनुसार सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो। यो रोगले शरीरमा रगत बनाउने रातो रक्त कोषिकाको संख्या घटाउँदै लान्छ। नेपालका थारु समुदायबाहेक अफ्रिका र इन्डियन कन्टिनेटका केही देशका आदिवासीहरुमा यो रोग देखिएको छ। संसारभर २ करोड ५० लाख मानिस यो रोगबाट पीडित भएको अनुमान छ। सरकारले अहिले सिकलसेल एनिमियाको उपचार निःशुल्क रुपमा प्रदान गर्दै आएको छ।

यो रोगले मुख्य रुपमा रगत बन्ने प्रक्रिया ढिला गराउने अनेकौं समस्या निम्त्याउँछ। एक पटक शरीरमा यो प्रणाली (डिअडर) विकास भएपछि १ देखि ५० वर्षसम्म पनि जुनसुकै समयमा रोगका लक्षण देखापर्न सक्छ । सामान्य अवस्थाको रातो रक्तकोष गोलो र चिप्लो हुनुका साथै यसको आयु १ सय २० दिनको हुन्छ। सिकलसेल एनिमिया भएको व्यक्तिमा रक्तकोष हँसिया आकारको (विकृत) हुन्छ। यस्तो विकृत रक्तकोषको आयु पनि १० देखि २० दिन मात्र हुने गर्दछ। एकातिर रगत ढिला बन्ने र अर्कोतिर बनेको रक्तकोषको पनि आयु छोटो हुँदा सिकलसेल एनिमिया भइसकेपछि शरीरको विभिन्न महत्वपूर्ण अंग र प्रणालीमा यसको प्रभाव देखिन थाल्छ।

सिकलसेल एनिमिया सामान्यतया बाल्यकालबाटै देखिन थाल्छ। जसले रातो रक्तकोषको संख्या घट्ने हुँदा एनिमियाका लक्षण देखिनुका साथै बारम्बार संक्रमण भइरहने, शरीरको विभिन्न भागमा दुखाइ महशुस हुने भएकाले यसले बाँचुन्जेल सास्ती दिन्छ। सिकलसेल एनिमिया भएका व्यक्तिहरुमा शरीरका विभिन्न अंगहरुमा अक्सिजनसहित रातो रक्तकोषहरु पर्याप्त मात्रामा पुग्न नसक्दा गम्भीर समस्याहरु देखिन सक्छन्। फोक्सो, मिर्गौला, फियो तथा मष्तिस्कलगायत अन्य अंगहरुमा क्षति हुनसक्छ। फोक्सोमा रगत पु-याउने रक्तनलीमा रक्तचाप बढ्दा हृदयघात भई मानिसको मृत्यु हुनसक्छ। संक्रमित व्यक्तिले काम गर्न पनि कठिन हुने भएकाले यसले व्यक्ति एवं परिवारको आर्थिक अवस्थालाई नै प्रभावित पार्छ।

प्रकाशित: ५ असार २०७५ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App