४ वैशाख २०८१ मंगलबार
अर्थ

पाँच दर्जन पाइलट भर्ना गर्दै निगम

काठमाडौं - राष्ट्रिष्य ध्वजावाहक नेपाल वायुसेवा निगमले विश्वसनीय ‘रिक्रुटिङ कम्पनी’ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्ट अफिसर) छन्।

यसरी लिइने पाइलटले निगमसँग रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका ६ किसिमका जहाज उडाउन लगाइने छ । पटक–पटक पाइलट भर्ना गर्न सार्वजनिक सूचना जारी गर्दा पनि सफल हुन नसकेपछि निगमले भाडामा पाइलट उपलब्ध गराउने रिक्रुटिङ कम्पनीमार्फत ठूलो परिमाणमा पाइलट लिन लागेको हो । यसका लागि निगम व्यवस्थापनले सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

‘यसअघि धेरै पटक व्यक्तिगत हिसाबमा पाइलट माग्दा धेरैले चासो दिएनन्, त्यही भएर विश्वसनीय रिक्रुटिङ कम्पनीमार्फत पाइलट लिन लागेका हौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले सोमबार नागरिकसँग भने, ‘अब भने यो काममा सफलता मिल्ने विश्वास छ।’

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ८० सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजका दुईथान, एयरबसमै निर्मित १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजका दुई, अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिटे एकथान ‘बि७५७२–००’, क्यनाडाको डे हेभिल्यान्डमा निर्मित १९ सटे ‘डिएचसी६’ ट्विनअटर तथा चीनमा निर्मित ५८ सिटे मोडर्न आर्क (एमए–६०) सिरिजका दुई र १७ सिटे ‘वाई१२–ई’ सिरिजका चारथान जहाज जहाज उडाउन पाइलट लिन लागेको हो ।

ती जहाजमध्ये ए३३० सिरिजको एउटा ‘वाइड बडी’ जहाज यही असार दोस्रो साताभित्र काठमाडौं अवतरण गर्ने तालिका छ । दोस्रो वाइड बडी पहिलो आएको एक महिनापछि आइपुग्ने छ । त्यसबाहेक निगमले क्यानडाकै भाइकिङ कम्पनीमा निर्मित १९ सिट क्षमताका ६ थान ‘ट्विनअटर’ र एयरबसमा निर्मित १ सय ५८ सिटे दुईथान ‘ए३२०एनइओ’ जहाज खरिद गर्ने तयारी गरिरहेको छ।

निगमका अनुसार ए३३० जहाजलाई १० क्याप्टेन र १० कोपाइलट, ए३२० लाई दुई क्याप्टेन र चार कोपाइलट, बि७५७ लाई दुई क्याप्टेन र दुई कोपाइलट, एमए–६० लाई पाँच क्याप्टेन, डिएचस६÷भाइकिङलाई २१ क्याप्टेन र वाई१२–ई जहाजलाई ६ जना क्याप्टेन लिइने छ ।

‘यसरी लिइने पाइलटलाई दुई वर्षसम्म जहाज उडाउन लगाइने छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यदि हामी र रिक्रुटिङ कम्पनीबीच आपसी सहमति भयो भने पाइलटको करार अवधि थप एक वर्ष बढाउन सकिन्छ ।’पाइलट उपलब्ध गराउने कम्पनीहरूले प्रत्येक सिरिजका जहाजको नामसहित ती जहाज उडाउने पाइलटले पाउनुपर्ने पारिश्रमिक उल्लेख गरेर प्रस्ताव पेस गर्नुपर्ने निगमले जनाएको छ ।

प्रस्ताव पेस गर्ने अन्तिम म्याद असार १९ सम्म रहेको छ । ‘हामी कुनै पनि पाइलटसँग व्यक्तिगत वार्ता गर्दैनौं,’ श्रेष्ठले भने, ‘सेवा–सुविधा सम्बन्धी सबै विषय रिक्रुटिङ कम्पनीसँग वार्ताबाट तय गरिने छ ।’प्रवक्ता श्रेष्ठका अनुसार नयाँ लिइने पाइलट बिरामी भए, बिदामा बस्नेदेखि विविध विषय रिक्रुटिङ कम्पनीले व्यवस्थापन गर्छ । यसमा निगम व्यवस्थापनले केही पनि हेर्दैन ।

पाइलटलाई पारिश्रमिक पनि निगमले सिधै नदिई रिक्रुटिङ कम्पनीलाई पहिला दिन्छ र उसले सम्बद्ध पाइलटलाई चुक्ता गर्ने छ ।‘हाम्रो काम अधिकतम गन्तव्यमा अधिकतम उडान गरी बजार विस्तार गर्दै जाने हो, पाइलटसम्बन्धी सबै विषय उनीहरूकै रिक्रुटिङ कम्पनीले व्यवस्थापन गर्ने छ,’ उनले भने, ‘हामी पाइलट भाडामा उपलब्ध गराउने विभिन्न अन्तर्राष्ट्रिय विश्वसनीय रिक्रुटिङ कम्पनीसँग यसबारे पत्राचार पनि गरिरहेका छौं ।’

निगमले हाल दुईथान ए३२०–२०० र ३० वर्ष पुरानो एकथान बि७५७ जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा, हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई गरी आठ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

निगमले तीन जहाजबाट सातामा ३७ उडान गरिरहेको छ । दिल्लीका लागि दैनिक दुई, दोहा र दुबईका लागि सातामा चार- चार, बैंगलोर, मुम्बई, क्वालालम्पुर, हङकङ र बैंककका लागि प्रत्येक साता तीन÷तीन उडान गर्दै आएको छ।

आन्तरिक उडानमा रहेका दुईथान ट्विनअटर, दुइटै एमए–६० र चारथान वाई१२–ई जहाजमध्ये ट्विनअटर, एमए–६० र एकथान वाई१२–ईमात्र सञ्चालनमा छन् । तीनवटा वाई१२–ई भने लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् । वाई१२–ई जहाज उडाउन पाइलट नहुँदा निगमले चारवटै उडाउन सकेको छैन ।

प्रकाशित: ५ असार २०७५ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App