७ वैशाख २०८१ शुक्रबार
राजनीति

क्षमा अभियानलाई तमलोपाको साथ

लहान- साताअगाडि मधेसका सामाजिक अभियन्ताले चलाएको  विभेद, छुवाछुत, कुरीतिविरुद्ध क्षमा अभियानले मधेसकेन्द्रित दलको साथ पाउन थालेको छ। तराई मधेस लोकतान्त्रिक पार्टीले नवलपरासीको रामग्राममा जारी पहिलो महाधिवेशनबाट यो अभियानलाई व्यापकता प्रदान गर्ने निर्णय गरेको छ।

रामग्रामको महाधिवेशन बन्दसत्रमा दलका तर्फबाट उपाध्यक्ष हृदयेश त्रिपाठीले प्रस्तुत गरेको छुवाछुतमुक्त समाज निर्माणका लागि क्षमायाचनासहितको संकल्प प्रस्ताव सर्वसम्मत पास भएको छ। सामाजिक रुपान्तरणको निमित्त 'सम्पूर्ण मधेसका हैं यह मान, हम मधेसी एक समान' प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले अनुमोदन गरेको तमलोपाका नेता सुरेश मण्डलले जानकारी दिए।

'दलित र अछुत भनेर किनारामा पारिएकासमक्ष पुगेर, विभेद, छुवाछुत हटाउन राजनीतिक आन्दोलन अगाडि बढाउने संकल्प गरेका छौं,' त्रिपाठीले नागरिकसँग भने, 'पार्टीले यो अभियानलाई संस्थागत गरेको छ।'

नेता मण्डलले भने, 'अबदेखि व्यवहारमा कसैसँग जातीय, लैंगिक र धार्मिक रूपमा कहिल्यै अन्यथा व्यवहार नगर्ने संकल्प गरेका छौं। वर्ण विभेद र रुढीवादका कारण समाज ग्रस्त छ, हामी यसलाई हटाउन संस्थागत रूपमा आन्दोलन चलाउँछौं,' उनले भने। मधेसी अभियन्ताले व्यक्तिगत प्रयत्नमा थालेको क्षमायाचना अभियानलाई तमलोपाले राजनीतिक रूपमै अघि बढाएको उनले बताए। 'सामाजिक विभेद, कुरीति र छुवाछुतमुक्त समाज निर्माण गर्न तराई मधेसभरि अभियान चलाउछौं,' उनले भने, 'सामाजिक रूपमा किनारामा पारिएकाको बीच समानताको भावना कायम गराउन पार्टीले यो अभियान अघि बढाउनेछ।'

अभियन्ता तुलानारायण साह, प्रशान्त झा, दीपेन्› झा, सिके लाल, विजयकान्तलाल कर्णलगायतले क्षमा अभियान 'वी आर सरी' अभियान फैलाउँदै छन्। सामाजिक अभियन्ताको रुपमा चर्चा पाइरहेको यो अभियानलाई तमलोपाले राजनीतिक रूप दिएको छ।

डोम बस्तीबाटै समानता अभियान

सप्तरीको दुर्गम गाउँ हो गोइठी। पोखरीको डिलमा सुकुम्बासी जीवन बाँचिरहेका देवनारायण मरिक बाँसबाट बनाइएका सामग्री बिक्री गरेर जीविकोपार्जन गरिरहेका छन्। यहाँका गैरदलित समुदायभित्र उनले छोएको पानी चल्दैन। तर, जेठ अन्तिम साता उनको जीवनमा सम्मान र समानताको नयाँ सञ्चार भयो। उनको घर पुगेर गाउँका गैरदलित तुलानारायण साहले चिया खाए। यो घटना समाजका सबैलाई अनौठो थियो।

आफ्नो घरमा चिया मागेर पिएको घटनाले अलमलमा परेका देवनारायण तुलाले हात जोडेर माफी माग्दा झन् अक्मकिए। ‘माफी किन माग्नुभयो हजुर?' चिया मिठो पाकेन कि भनेर देवनारायणले प्रश्न गरे। ‘माफी माग्नुको कारण चिया नभई तपाईंहरुमाथि हाम्रा पूर्खाबाट भएको ऐतिहासिक विभेद हो,' उनले प्रष्ट्याए।

तुलाले गोइठीका देवनारायणसँग गरेको विभेदको प्रायश्चित अहिले अभियानकै रूपमा मधेसभरि फैलिँदै छ। यो सामाजिक आन्दोलनमा बिस्तारै मधेसकेन्द्रित राजनीतिमा सक्रिय दलका नेता पनि जोडिँदै छन्। समाजिक अभियन्ता, प्राध्यापक र वुद्धिजिवी पनि वि आर सरी भन्दै मधेसका दलित बस्तीमा  आत्मालोचना अभियान चलाइरहेका छन्।

प्रकाशित: ९ असार २०७३ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App