रहेनन् एसियाकै विख्यात न्युरोसर्जन

अन्तिम पटक देवकोटाले भनेका थिए – ‘अगाडिको यात्रा मलाई एक्लै गर्न देऊ’

मङ्गलबार, ०५ असार २०७५, ०६ : ५० दीपक दाहाल  | @DeepakDahal1

1264


काठमाडौं – गम्भीर रोगको ६ महिनाभन्दा लामो उपचार प्रयत्नको प्रतिफल निरन्तर निराशाजक आइरहेको थियो। महत्वपूर्ण अंगको कार्य घटिरहेको थियो। शनिबार राति उपेन्द्र देवकोटाले आफन्त र परिवारलाई बोलाए र भने, ‘योभन्दा अगाडिको यात्रा एक्लै गर्न देऊ, म अब थप दुःख सहन सक्दिनँ।’

सबैभन्दा जटिल र भयवह मानिने पित्तनलीको क्यान्सर फोक्सोसम्मै फैलिसकेको थियो। क्यान्सरको दुःखाइ कम गर्न दिइने औषधिले निकै गलाइसकेको थियो। त्यसमा पनि केही दिनदेखि मिर्गौलाले पनि काम गर्न छोडेपनि डाइलासिस भइरहेको थियो। दक्षीय एसियाकै अब्बल र चर्चित न्यूरो सर्जन ६५ वर्षे डा.उपेन्द्र देवकोटालाई न परिवारले आत्मबल बढाउँने नाममा उपचारबारे कुनै सत्यता लुकाउन सक्थे, न उनी नै अवस्थाबारे अनविज्ञ थिए। एक चिकित्सकका अनुसार डा.देवकोटाले परिवारसँग अब थप उपचार नगर्न आग्रह स्वरुप यस्तो कुरा गरेका थिए।

देवकोटाको त्यो इच्छासँगै चिकित्सक र परिवारले कडा औषधिहरु बन्द गरेर केवल सहज निद्रा र आरामको लागि सहयोगी हुने औषधिमात्रै दिइरहेका थिए। विस्तारै खस्किरहेको रक्ताचाप, धड्कन र चेतनाले सोमबार साँझ ५.३५ मा सदाका लागि शरीर छाड्यो।

उपचार भइरहेको स्वर्गीय देवकोटाले स्थापना गरेको अस्पतालले केहीबेरमै विज्ञाप्तिमार्फत् निदन भएको सार्वजनिक गरेको थियो। विज्ञाप्तिमा देवकोटाको स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम अस्पतालमा आखिरसम्म उपचार भएको भन्दै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीप्रति कृतज्ञता जनाएको छ।

नेपाल फर्किएपछि देखि नै उपचारमा संलग्न थोरासिस सर्जन डा.रञ्जन सापकोटाका अनुसार पित्तथैलीको क्यान्सरले एकपछि अर्को जटिलता थाप्दै गएको थियो। ‘एउटा समस्या देखिन्छ, त्यसको व्यवस्थापनको कोशिस ग-याे अर्को थपिन्छ,’ डा.सापकोटाले भने, ‘नेपालमा थुपै विशेषज्ञ लागेर दिनरात सकेसम्म सहज जीवन लम्ब्याउँने प्रयात्न भएको थियो,’।

स्वर्गीय देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पताल प्राङ्गणमा मंगलबार विहान ८ बजेदेखि १ बजेसम्म राखिनेछ। त्यसपछि शबलाई नारायणगोपाल चोकबाट रिंगरोडहुँदै पशुपति आर्यघाट लगेर विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने छ। देवकोटाको काजक्रिया हेपाली हाइटस्थित घरमा श्रीमती मधु र छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्ने र सात दिनमै काजक्रिया सम्पन्न गरिने परिवारले जनाएको छ। अस्पतालले शोकको घडीमा आफन्त र सम्पूर्ण शुभचिन्तकलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेको छ। देवकोटाको मृत्युप्रति विभिन्न दलका नेतादेखि सर्वसाधारणले सामाजिक सञ्चालमा श्रद्धाञ्जली प्रकट गरेका छन्।

क्षमतावान, बोल्ड व्यतित्वका धनी देवकोटालले विरामी पर्दाको समयमा समेत मृत्युलाई सहज रुपमा लिएर सकेसम्म आफन्त र साथीभाईसँग समय गुजारेका थिए।

बेलायतको किङ्स कलेज हस्पिटलमा कोलोन्जियोकार्सिनोमा (पित्त नली) को क्यान्सर प्रमाणित भएपछि अन्तिम विकल्पको रुपमा केमोथेरापी दिइएको थियो। तेस्रो चरणसम्म केमो दिँदा पनि आशातीत सुधार आइरहेको थिएन्। साथमै रहेको परिवार निराश थियो, तर सधै बोल्ड र हिम्मतिलो रुपमा प्रस्तुत हुने देवकोटाले अप्रिलको दोस्रो साता अस्पतालकै शैयामा परिवारलाई निर्णय सुनाए ‘अब म वाँकी जीवन देशमै साथी, शुभेच्छु र आफन्तसाझ बिताउँछु,’।

नेपाल फर्किएपछि उनको दैनिकी आफन्त, साथीभाई र शुभेच्छुक भेट्नु अधिकांश समय श्रीमती र छोरीहरुसँग बिताउँनु थियो। केही दिनअघि (जेठको अन्तिम साता) अचानक स्वास्थ्य अवस्थाले अर्को अप्रत्याशीत मोड लियो, जीवन रक्षाका लागि क्रितिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर)मा राखियो। करिव पाँच दिनपछि केही सुधार देखिएपछि भेन्टिलेटरमा सारिएको थियो। जेठ २६ गते उनले फेरी अर्को निर्णय सुनाए ‘म पण्डित गाउँ जान्छु र घरको पीढिमा बसेर सिस्नेपानी धाराको पानी पिउँछु’। परिवारले कत्ति विलम्ब नगरी हेलिकप्टरमा राखेर सोही दिन गोरखा पण्डित गाउँ पु-याउँने प्रवन्ध ग-यो।

डा.देवकोटाले जन्म गाउँ, आफ्नै देश जत्तिकै प्यारो ठानेर १८ वर्षअघि आफैले स्थापना गरेको बाँसबारीस्थित नेशनल इन्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड सान्सेज् सोमबार अन्तिम श्वास लिए।

आजीवन देशको स्वास्थ्य प्रणाली बलियो बनाउँन खर्चिएका डा.देवकोटाको देशप्रेम यत्तिले मात्रै झल्काउँदैन्। अब्बल क्षमताका चर्चित न्यूरो सर्जन डा.देवकोटाले मुलुकलाई भावनात्मक प्रेम मात्रै गरेनन्, मुलुकमो स्वास्थ्य क्षेत्र र न्यूरो चिकित्सा विज्ञानमा अतुलनीय योगदान पु-याएका छन्।

दक्षीण एसियामै नामी न्यूरो सर्जनको कुरागर्दा डा.देवकोटाको समेत नाम आउँछ। एमबिबिएसपछि नै सरकारी सेवामा प्रवेश गरेर सेवा गरेका डा.देवकोटाले मुलुकै सबैभन्दा पुरानो अस्पताल वीरमा २५ वर्षसम्म रहेर न्यूरो सर्जरीजस्तो विशिष्ठ र महङ्गो उपचार सेवालाई आम नागरिकको पहुँचमा पु-याए।

सन् १९८९ मा न्युरोसर्जरी विभाग स्थापना भएको थियो। अहिलेसम्म पनि मुलुकमै वीर अस्पताल जत्तिको सुविधासम्पन्न, सुलभ र दक्ष जनशक्तियुक्त न्यूरो सर्जरी सेवा सुविधा अन्यत्र छैन्। ‘गतिशील, दृष्टिकोण भएको कुनै कुरामा लक्ष्य राखेपछि पूरा गरेरै छाड्ने विशिष्ठ गुण उहाँमा थियो,’ वीर अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख डा.प्रकाश विष्ठले नागरिकसँग भने।

जानकारहरुका अनुसार डा.देवकोटा न्यूरो सर्जरी पढेर फर्किदाँ नेपालमा एक जनामात्रै न्यूरो सर्जन थिए। तर ती चिकित्सक व्यक्तिगत कारणले सेवा दिन सकिरहेका थिएनन्। नेपाल फर्किएपछि मोर्डन र डेडिकेटेड न्यूरो सर्जरीको सुरुवात नेपालमा उनलै गरेका थिए। ‘माइक्रोस्कोप प्रयोग गरेर गरिने न्यूरो सर्जरी उहाँले नै सुरु गर्नु भएको हो, जसले गर्दा यो विशिष्ठ विधामा सफलता दर ह्वतै बढ्यो,’ विष्ठ सम्झिन्छन्, ‘वीरामीको ज्यान बचाउँन जे पनि गर्न तयार हुने र जति पनि खड्नसक्ने उहाँजस्तो निकै थोरै मान्छे हुन्छन्,’ मन्त्री हुँदा पनि मन्त्रालयको काम सकेर मध्यरातसम्म पनि वीरमा शल्यक्रिया सिध्याएर मात्रै घर जाने गरेको सहकर्मीहरु सम्झिन्छन्।

विष्ट डा.देवकोटाले दीक्षित गरेका मध्ये पहिलो ब्याजका एमसिएच (सुपरस्पेसियालिष्ट) हुन्। अहिले देवकोटाबाट दीक्षित भएका मध्ये थुपै न्यूरोसर्जनले उपत्यकाबाहिर धरान, चितवन, विराटनगरजस्ता ठाउँमा पनि न्यूरो सर्जरीमा उत्कृष्ठ सेवा दिइरहेका छन्। ‘विश्वकै समकालीन न्यूरो सर्जनहरुमा उहाँलाई नचिन्ने सायदै कोही होलान्,’ डा.विष्ठले भने, ‘दक्षीण एसिया, यूरोप, चीन, जापान हङकन जहाँ जानुहोस् डा.देवकोटाको सीप र क्षमता नजान्ने न्यूरो सर्जन कमै भेटिन्छन्।’

उनी एसियाकै नामी सर्जन देवकोटाको योगदान र सफलतामा उनी पढेको कलेज र प्रोफेसरमेत गर्भ गर्ने जानकारहरु बताउँछन्। उनी बेलायत जाँदा रोयल कलेजले नै रिसेप्सन दिन्छ। देशमै नै यो विधाको विकासको नेतृत्व गरेकोले पनि कलेज परिवार र प्राध्यापकहरुले डा.देवकोटाको विभिन्न अन्तराष्ट्रि फोरममा समेतमा प्रशंसा गर्ने गरेका थिए।

डा.देवकोटा नेपाल फर्किएर फुलटाइम न्यूरो सर्जरी सुरु गर्दा वीरमा एक्लै थिए। उनले अल्लि चासो राख्ने र मेहनत गर्ने युवा मेडिकल अफिसरलाई साथ लिएर ट्रेन गर्दै तालिमका लागि पठाउँदै टिम तयार पारेका थिए।

‘अहिले पनि वीर अस्पतालको जत्तिकै न्यूरो सर्जरी सेवा अन्यत्र कहिँ पनि छैन्,’ डा.देवकोटाका विद्यार्थीसमेत रहेका डा.राजिव झाले नागरिकसँग भने। वीरमा हाल यो विभागले ८ सयदेखि १ हजार मेजर न्यूरो शल्यक्रिया हुन्छ। ४५ हजारको हाराहारीमा ओपिडी बिरामी जाँच हुन्छन्। ‘अहिले वीरमा हामीले गरेको उहाँले नै गरेको कामको निरन्तरा हो,’ डा.झाले भने।

डा.देवकोटाले केही दिनअघि डा.झालाई फोन गरेर वीरको विभाग र विद्यामान सेवाबारे जिज्ञासा राखेका थिए। ‘अहिले पनि वीर नै हो, तपाईहरुले त्यसलाई खस्किन नदिनु होला’ झाले सम्झिए। नेपालमा अहिले जुन तहमा न्यूरो सर्जरी विधा र जनशक्तिको विकास भएको छ त्यसको प्रमुख श्रेय डा.देवकोटालाई नै जाने झा बताउँछन्। हुनतः नेपालमा ६५ जनाको हाराहारीमा न्यूरो सर्जरी तालिम प्राप्त जनशक्ति छन्। तर निकै कम मात्रै सक्रिया अभ्यास गरिरहेका छन्। ‘राम्रो चलेका सेन्टर र सफलता दर बढी भएका अस्पतालका विभाग त देवकोटाबाट दीक्षितहरुले लिड गरेका छन्,’।

वीरमै कार्यरत रहँदा उनी ७ महिना स्वास्थ्यमन्त्री भए भएका थिए। स्वास्थ्यमन्त्रीको छोटो कार्यकाल पनि उनले अविष्मरणीय बनाए । उनले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) को स्थापना गरे । त्यतिबेला बरिष्ठ चिकित्सकहरु यसको विरोधमा थिए। तर उनी सरकारी तहबाटै मेडिकल कलेज र प्रतिष्ठान खोलेर निःशुलक रुपमा डाक्टरलाई तालिम दिनुपर्छ भन्ने पक्षमा थिए। त्यो कदम यति ऐतिहासिक भयो, दुर्गममा पोष्टमार्टम गर्न पनि डाक्टर नहुने अवस्थाको अत्य भई सरकारी डाक्टर दुर्गम जान तछाडमछाड गर्ने अवस्था आयो।

यसअवधिमा न्याम्सले ८ सय ६२ एमडी÷एमए विशेषज्ञ र ४२ जना डिएम÷एमसिएच, उच्च विशेषज्ञ तयार पारिसकेको छ। ठूलो संख्यामा अध्ययनरत छन्।

‘एउटै इन्टिच्युटबाट यो तहका विशेषज्ञ जनशक्ति तयार हुन निकै ठूलो कुरा हो,’ न्याम्सका उपकूलपति डा.गणेश गुरुङले भने, ‘आज सरकारी स्वास्थ्य सेवाको सबैभन्दा ठूलो भरोशा नै न्याम्सबाट उत्पादित जनशक्ति हो,’ ।

डा.देवकोटाले परिकल्पनाकै निरन्तरता स्वरुप अहिले भरतपुरमा पनि न्याम्सको विस्तारित कार्यक्रम सुरु भइसकेको छ भने, नेपालगञ्ज र विराटनगरमा पनि विशेषज्ञ जनशक्ति उत्पादन सुरु हुँदैछ।

६५ वर्षअघि गोरखा आँपपिपलको पण्डित गाउँमा जन्मिएका डा.देवकोटा विद्यार्थी कालदेखि नै तीक्ष्ण बुद्धिका थिए। घरकै कविराज बुबा (होमनाथ) पण्डित बाजेले घरमै स्थापना गरेको गुरुकुलमा अक्षर चिनेका देवकोटाले एकैपटक कक्ष २ बाट भर्ना भएर कक्ष ५ देखि गोरखाको चर्चित अमरज्योतिमावि लुइटेलबाट २०२६ सालको एसएसलसी बोर्डमा परेका थिए।

डा.देवकोटाले अमृत साइन्स कलेजबाट नेपालमै पहिलोपटक प्रथम श्रेणीमा बायोलोजीमा आइएससी पास गरेका थिए। शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाएका थिए।

अर्को वर्ष लोकसेवा पास गरेर उनी सरकारी सेवा प्रवेश गरेका थिए। लोकसेवापछि वीर अस्पतालमा पोष्टिङ भएको थियो । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीर काम सुरु गरेसँगै सुरुमै सर्जरी विभागमा पोष्टिङ भएपछि उनी शल्यचिकित्सामा आकर्षित भएका थिए।

तत्कालिन विभागीय प्रमुख एवं बरिष्ठ सर्जन दिनेशनाथ गंगोलले उनलाई न्यूरो सर्जरी पढ्न र पढेर फर्किएपछि स्थापित हुन सघाएका थिए। वीरमा काम थालेको दोस्रो वर्षमा रजिष्ट्रार बनेका डा.देवकोटा पाँच वर्षपछि न्युरोसर्जरी पढ्न बेलायत गएकाका डा.देवकोटाले चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरीको तालिम अवधि नसकिँदै पास गरेका थिए। उनले त्यहाँ प्रदर्शन गरेको क्षमतापछि नै अर्को वर्षदेखि नेपालमा ‘एफआरसिएस’ को परीक्षा केन्द्रं राख्न सुरु गरेको थियो।

वेलायतमा रहँदा पढाईपछिको तालिम क्रममा करिब ६ वर्ष उनले सिटि स्क्यान आविष्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर पाएका थिए। ६ वर्षको बेलायत बसाईपछि ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो तर उनी त्यो विलासिता छाडेर नेपाल फर्किएका थिए। वेलायतमा बचेको पैसाले नै वीरमा न्यूरो सर्जरी सुरु गर्नका लागि आधारभुत उपकरणसमेत किनेर फर्किएर वीरमा विभाग स्थापना गरेका थिए।

उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभागसमेत बन्यो। एक कुराकानीका क्रममा देवकोटाले ‘नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरेको विरामी पाँचौ दिनको दिन टाँका काटेर झोला बोकेर घर फर्किएको र त्यो दिन सम्झदा गर्व महसुस हुने’ बताएका थिए। २५ वर्ष वीरमा निःशुल्क सेवा पु-याएका उनले वीरबाट बाहिरिने बेलामा सरकारी तहमै छुट्टै न्यूरो अस्पताल खोल्न प्रयाप्न गरेका थिए। तर उनी त्यसमा देवकोटालाई सफल हुन नदिएको उनको भनाई थियो।

देवकोटाले यसमा आफूलाई गंगालाल भएको ठाउँमा न्युरो अस्पताल बनाउँन चाहेका थिए। त्यसपछि २००० मा न्युरो अस्पतालक स्थापनाको सोच सार्थक बनाउँन नीजि क्षेत्रमा पहिलो न्यूरो अस्पताल खोलेका थिए। विरामी भएर वेलायत उपचार जानुअघिसम्म देवकोटा नेपालमा भएका समयमा बिहान उठेपछिदेखि बेलुका सुत्नुअघि अस्पतालमा भर्ना भएका प्रत्येक विरामीलाई उचित सल्लाह दिने अधिकांश ठूला शल्यक्रिया आफै गर्थे।

३७ वर्ष लामो चिकित्सा पेसामा बिताएका डा. देवकोटाले करिब ३४ हजार व्यक्तिको शल्यक्रिया गरेका छन्। यस्तै आफूले सात लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेको आफन्तसँग बताउने गरेका छन्।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा अब्बल क्षमता प्रदर्शन गरेका देवकोटा भाषण कला र राजनीतिक दृष्टिकोणका कारण पनि बारम्बार चर्चित भइराख्थे। उनले आफू मनमोहन अधिकारीजस्ता इमान्दार राजनीतिज्ञको नजिक रहेर उनले स्वास्थ्यमा केही सुरुवात गराउन सकेको भन्दै गर्भ गर्थे। ‘वृद्धभत्ता सुरुवात गर्न एमाले सरकारलाई सल्लाह मेरै थियो,’ एक प्रसंङ्गमा उनले सुनाएका थिए, ‘स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य विमा लागु गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाएको थिए, सवारीसाधनमा सिटबेल्ट बाँध्ने, मोटरसाइकलमा बस्ने दुबैले हेल्मेट लगाउनुपर्छ भन्ने अवधारणा, मादक पदार्थ सेवनको जाँचलाई कडाई गर्नुपर्छ भन्ने सोच मेरै थियो,’।

पछिल्लो समयमा चिकित्सा शिक्षा क्षेत्रमा भएको अनियमिततासम्बन्धी जाँचबुझका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सदस्य भएर डा.देवकोटाले काम गरेका थिए। आयोगले चिकित्सा शिक्षामा सम्बन्धन, सिट निर्धारणलगायतका प्रक्रियामा दोषी ४३ जनामाथि कारबाहीसहित अन्य विभिन्न सुधारको सुझाव सरकारालाई दिइसकेको छ।

डा.देवकोटीकी श्रीमती डा.मधु दीक्षित देवकोटा चिकित्साशास्त्र अध्ययन संस्थानकी पूर्व सहायक डिन हुन। जेठी छोरी वेलायतमा चिकित्सा शिक्षा र अन्य दुई छोरी अमेरिकामा उच्च शिक्षा अध्ययन गर्दैछन्।

गत कार्तिकमा स्वास्थयमा समस्या देखिएको थियो। सिटी र एमआरआई गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको देखिए पनि उती थप उपचारका लागि मंसिरमा परिवारसहित वेलायत गएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्त नली) मा क्यान्सर प्रमाणित भएको थियो। अनेक उपचारको प्रयास गरिएको सफल नभएपछि माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो। तीन चरणसम्म केमोथेरापी गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन। पित्तथैलीको शल्यक्रियासमेत गर्न नमिल्ने अवस्था आएपछि उनले ‘एक्सपेरिमेन्टल ट्रिटमेन्ट’ गरेर विदेशमा बस्नुभन्दा स्वदेश फर्केर बाँकी जीवन बिताउने अठोट गरी फर्केका थिए।  जेठ २६ गते उनी विरामी अवस्थामै जन्मस्थानको भ्रमण गर्ने इच्छा राखेपछि हेलिकप्टरबाट गोरखा पण्डित गाउँ पु-याइएको थियो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्लो विन्डोज कम्प्युटरको सफ्टवेयरबाटै समाधान

स्लो विन्डोज कम्प्युटरको सफ्टवेयरबाटै समाधान

विन्डोजमा आएको समस्याबाट पनि कम्प्युटर स्लो भएको हुनसक्छ । ...

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...