coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

३ अर्ब ५० करोडका गाडी बुकिङ

काठमाडौं- तीन अर्ब ५० करोड रुपैयाँ बराबरको गाडी बुकिङ गर्दै ११औं नाडा अटो सो आइतबार सकिएको छ। ६ दिनसम्म चलेको उक्त प्रदर्शनीमा ६५ हजारभन्दा धेरै दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।

नाडा अटोमोबाइल्स एसोसियसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको प्रदर्शनीमा दर्शकको उत्साहकजक सहभागिता सहित राम्रो कारोबार भएको प्रदर्शनीका संयोजक शम्भु दाहालले बताए।

अन्तिम दिनसम्म साना ठूला गाडी र साना स्टलमा गरी ३ अर्ब ५० करोडको कारोबार भएको दाहालले बताए। गत वर्षको प्रदर्शनीमा झन्डै ढेड अर्ब बराबरको कारोबार भएकोमा यसपाली २ अर्बको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको थियो। 'प्रदर्शनीमा १ हजार ५ सय दुईपांग्रे र ८ सय चारपांग्रे गाडी बुकिङ भएका छन्,' दाहालले भने। चारपांग्रेमा प्यासेन्जर र कर्मिसयल दुवै गरेर ८ सय गाडी बुकिङ भएको नाडाले जानकारी दिएको छ।  

प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। दाहालका अनुसार यस प्रदर्शनीमा ६५ हजारभन्दा धेरै दर्शकले अवलोकन गरेका छन्। 'नाडा अटो सोमा यो अहिलेसम्मकै राम्रो सहभागिता हो, संयोजक दाहालले भने। आयोजकले ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखेका थिए। 

यस प्रदर्शनीमा मुख्यगरी कारको उच्च कारोबार भएको छ। 'चारपांग्रे गाडी खासगरी कारमा धेरैको आकर्षण देखियो,' दाहालले भने, 'नयाँ नयाँ कार, ब्रान्ड आएकाले धेरैको आकर्षण यसैमा देखियो।' प्रदर्शनीमा अपेक्षा गरेभन्दा उत्साहजनक भएको एसोसियसनका अध्यक्ष अन्जन श्रेष्ठले बताए। 'प्रदर्शनीमा सहभागिता उत्साहजनक छ,' शनिबार श्रेष्ठले भने, 'सबै स्टलमा व्यावसायिक कारोबार पनि राम्रो भएको छ।'

प्रदर्शनीमा ढेड लाखको मोटरसाइकलदेखि एक करोड रुपैयाँभन्दा बढी मूल्यका गाडी राखिएका थिए। अटो सोमा खासगरी स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) मा अवलोकनकर्ताको आकर्षण थियो। यस्ता गाडीहरू नेपाली परिवेशमा सुहाउँदा रहेका छन्। त्यस्तै, गाडी किन्नको लागि बैंकले सरल र सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेकाले पनि गाडीको कारोबार धेरै भएको व्यवसायी बताउँछन्।

आइतबारै अटो सोमा रहेका स्टलमध्ये उत्कृष्ट स्टलहरूको पनि घोषणा गरियो। दाहालका अनुसार चारपांग्रेमा साना पेसेन्जर र कमर्सियल गाडीको एक–एक, दुईपांग्रे र साना स्टल गरी चारवटा उत्कृष्ट स्टललाई उत्कृष्ट घोषणा गरिएको छ। नाडाले हरेक वर्ष यही समयमा गाडीहरूको सबैभन्दा ठूलो प्रदर्शनी गर्दै आएको छ।

प्रकाशित: २० भाद्र २०७३ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App