coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बलियो बेल्जियमले नवप्रवेशी पानामालाई हरायो, लुकाकुको २ गोल

रूस – रोमेलु लुकाकुले २ तथा द्रिइस मार्टिन्सले १ गोल गरेपछि विश्वकप फुटबलमा नवप्रवेशी पानामालाई बेल्जियमले ३–० ले पराजित गरेको छ।

फिस्ट ओलम्पिक रंगशाला सोचीमा सोमबार सम्पन्न समूह ‘जी’ को दोस्रो खेलमा विश्वकपमा पहिलो पल्ट सहभागिता जनाएको पानामालाई बलियो बेल्जियमले हराएको हो। पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा भने बेल्जियमले ३ गोल गरेको हो। बेल्जियको जितमा खेलको ४७ औं मिनेटमा मार्टिन्स र ६९ र ७५ औं मिनेटमा लुकाकुले गोल गरे। 

मार्टिन्सले डि बक्स बाहिरबाट फुल भलि प्रहारबाट उत्कृष्ट गोल गरे। त्यस्तै लुकाकुले केभिन डे ब्रुयनाको क्रसमा हेडमार्फत ब्याक्तिगत पहिलो गोल गर्दा टोलीको स्कोर दोब्बर भएको थियो। लुकाकुले पुन ६ मिनेटपछि कप्तान एडिन हाजार्डको पासमा गोल गर्दै अग्रता तेब्बर बनाए। त्यसपछि निर्धारित समयको खेलमा कुनै गोल नभएपछि बेल्जियमको जित सुनिश्चित भएको होे।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बेल्जियमले खेलमा ६२ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो।  चर्चीत तथा अनुभवी खेलाडीले भरिएको बेल्जियमले गोल गर्ने कैयौं प्रयास गरेपनि पहिलो गोलका लागि दोस्रो हाफसम्म कुर्नु परेको थियो। बेल्जियमको तुलनामा कमजोर टोली पानामाले उसलाई कडा चुनौती दिएको थियो। यद्यपी गोल गर्ने केहि अवसरलाई भने सदुपयोग गर्न सकेन। 

खेलअवधिभर पानामाका ५ र बेल्जियमका ३ खेलाडीले पहेलो कार्ड प्राप्त गरेका थिए। त्यस्तै बेल्जियमले १७ र पानामाले १८ वटा फउल गरे। फिफा विश्वकपको इतिहासमा पानामाको यो पहिलो सहभागिता हो। मध्य अमेरिकाको सानो देशले विश्वकपको नियमित सहभागी अमेरिकालाई निराश पार्दै अक्टोबरमा रूस यात्राको टिकट काटेको थियो।

विश्वकपको इतिहासमा बेल्जियम सबभन्दा पुरानो १३ मध्येको एक टिम हो। १९३० मा उरुग्वेले पहिलो पटक विश्वकप आयोजना गर्दा सहभागीमध्येको एक भए पनि बेल्जियमको उपस्थितिले अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव जमाउन थालेको धेरै भएको छैन।

युरोपेली छनोटअन्तर्गत समूह ‘एच’बाट शीर्ष टोलीको रूपमा रूसको टिकट पक्का गर्दा बेल्जियमले एउटै हार सामना गर्नुपरेन। समूहका १० मध्ये ९ खेलमा जित हासिल गरेको टोली ग्रिससँगको एउटा खेलमा १–१ को बराबरी नतिजामा सीमित हुँदा शतप्रतिशत नतिजाबाट वञ्चित भएको थियो।

समूह ‘जी’ को अर्को खेलमा इङ्ल्यान्ड र ट्युनिशिया ११.४५ बजे भिड्ने छन्।

प्रकाशित: ४ असार २०७५ १६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App