८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्तामा १२ देखि १८ वर्ष उमेर समूहका युवाहरु धेरै छन्। चालू आर्थिक वर्षको ११ महिनामा तीन सय ९५ युवाहरुलाई पक्राउ गरेर अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

‘यो अवधिमा पक्राउ परेका तीन महिलासहित ४४ जनालाई लागूऔषध ऐन अन्र्तगत मुद्धा चलाएका छौं’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले भने, ‘१२ देखि १८ वर्ष उमेर समूहका तीन सय ९५ जनालाई पक्राउ गरेर परिवारको जिम्मा लगाएका छौं।’ प्रहरीले चालू आर्थिक वर्षको जेठ समान्तसम्म ४१ ग्राम ब्राउनसुगर र ५८ केजी पाँच सय ग्राम चसेर बरामद गरेको जनाएको छ।

प्रहरीले चालू आर्थिक वर्षमा सुरु गरेको घरेलु मदिरा विरुद्धको ‘अप्रेशन क्लिन’ अभियान अन्र्तगत ६० हजार लिटरबढी घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ। ‘चालू आर्थिक वर्षमा २५ हजारबढी तयारी र ३५ हजारबढी कच्चापदार्थ नियन्त्रणमा लिएर नष्ट गरेका छौं’ उनले भने, ‘यो अभियानलाई आगामी आर्थिक वर्षमा जारी राख्छौं।’ उनले घरेलु मदिराकै कारण महिलामाथि हुने हिंसा र सामाजिक विकृतिहरु बढेको बताए।

प्रहरीले सुर्खेतको तेस्रो समस्याका रुपमा आत्महत्यालाई मानेको छ। चालू आर्थिक वर्षको १० महिनामा ७४ जनाले आत्महत्या गरेका छन्। यो अवधिमा ५६ जना झुण्डिएर, १७ जनाले विष सेवन गरेर तथा एक जनाले नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीको भनाई छ। उनले १० महिनामा तीन सय ६४ घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएको बताए। ‘ति मध्ये तीन सय २९ मुद्धा मिलापत्रमा टुङ्गिएका छन्, २७ वटा अदालती प्रक्रिायमा गएका छन्’ उनले भने।

प्रहरीले लागूऔषध, मदिरा नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। प्रहरीका अनुसार चालू आर्थिक वर्षको १० महिनामा ३४ वटा विद्यालय सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। ‘यसबाट तीन हजार छ सयभन्दाबढी विद्यार्थीहरु लाभान्वित भएका छन्’ उनले भने, ‘यस्ता कार्यक्रमलाई पनि आगामी आर्थिक वर्षमा निरन्तरता दिन्छौं।’

टोलटोलमा प्रहरी अभियान

सुर्खेत प्रहरीले गृह मन्त्रालयको निर्देशन अनुसार टोलटोलमा प्रहरी अभियानको सुरुवात गरेको छ। ‘घटना हुनुअघि नै अपराध रोकथाम गर्ने उद्देश्यले मंगलबारबाट टोलटोलमा प्रहरी अभियानको सुरुवात गर्दैछौं’ उनले भने, ‘जनतासँगै रहेर सामाजिक अपराध नियन्त्रण गर्नु यसको उद्देश्य हो।’ उनले घरेलु हिंसा, लागूऔषध नियन्त्रण, आत्महत्यालगायतका सामाजिक विकृति रोक्नका लागि अभियानको सुरुवात गर्न लागिएको बताए। यसका लागि प्रहरीले टोलटोलमा पुगेर सामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै टोल सुरक्षा समिति गठन गर्ने बताएको छ। 

प्रकाशित: ४ असार २०७५ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App