६ वैशाख २०८१ बिहीबार
कला

ख्वप सांस्कृतिक साँझ सम्पन्न

भक्तपुर - ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा उनका पुत्र यमन, सतिश महर्जन, सुरजवीर बज्राचार्य, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, विष्णसुन्दर देशेमरु, सरिता प्रजापति लगायतले गीत गाएका थिए ।

साथै महेश हाडा, बालमुकुन्द प्रजापति, रञ्जना सितिखू, रोजिना सुवाल, रविता बकेलगायतले विभिन्न बोलमा नृत्य प्रस्तुत गरेका थिए । कलाकारले एकल तथा जोडी  नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालभाषाका गीत र नृत्यको बाहुल्य रहेको थियो ।  तर मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले भने नेपाली भाषाको गीत गाएका थिए।

कार्यक्रममा रञ्जना सितिखूको  ‘जिता सुनं ढवई’ (मलाई कसले माग्न आउँंछ) भन्ने नृत्यमा दर्शक निकै रमाएका थिए । नृत्यको जवाफमा युवा दर्शकहरू ‘म माग्न आउँंछु’ भन्दै दर्शकदीर्घाबाट चिच्याएका थिए । गीतले वान्समोर पनि पाएकोे थियो।

कार्यक्रममा देवचन्द्र बज्राचार्यले मदनकृष्ण श्रेष्ठ भएर र राहुल जोशीले हरिवंश आचार्य भएर नृत्य देखाएका थिए । दर्शकले निरन्तर यो नृत्य दोहो¥याएर हेर्ने भनेपछि दर्शकको दबाबमा दुई पटक यो नृत्य देखाइएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका हरेक व्यक्ति कलाकार रहेको बताए।

‘वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका गुरु नगेन्द्र हाडा, रामशेखर नकर्मीको जस्ता व्यक्तिहरू जन्मेको भक्तपुर कलाले भरिपूर्ण सहर हो,’ उनले भने । कलाकार मदनकृष्ण श्रेष्ठले यस्तो कार्यक्रमबाट कलाकारलाई प्रोत्साहन र हौसला मिल्ने बताए । कार्यक्रममा कलाकारलाई मायाको चिनो पनि वितरण गरिएको थियो ।

 

प्रकाशित: ४ असार २०७५ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App