७ वैशाख २०८१ शुक्रबार
अन्य

विश्वकपमय सामाजिक सञ्जाल

काष्ठमण्डप
फिफा विश्वकप फुटबल प्रतियोगिताको एक्काइसौं संस्करण रुसमा सुरु भएसँगै प्रतियोगिताले नेपाली बजार तातेको छ । विश्वकपलाई फोकसगरी विभिन्न कम्पनीले बजार प्रवद्र्धन गर्ने योजना ल्याएका छन् । विश्वकपले जर्सीको व्यापार बढेको व्यापारीहरू बताउँछन्।

सहरबजारका चोक तथा गल्लीमा उपाधि जित्ने टिमबारे अड्कलबाजी गरिँदैछ ।सामाजिक सञ्जालका भित्ता विश्वकपमय बनेका छन् । सामाजिक सञ्जालमा विश्वकपको चर्चा छ । त्यति मात्र होइन, कतिले उपाधि जित्ने टिमबारे अड्कलबाजी गरिरहेका छन् ।ह्यासट्याग वल्डकप प्रयोग गरिएका यस्ता ट्विटहरूले को कुन टिमको समर्थक हो भन्ने सजिलै थाहा हुन्छ ।फिफा विश्वकपको आधिकारिक ट्विटर अकाउन्ट फिफा वल्र्डकपले विश्वकपसँग सम्बन्धित विभिन्न जानकारीहरू ट्विट गर्दै आइरहेको छ । त्यस्तै, विभिन्न फुटबल क्लब र देशका ट्विटर अकाउन्टबाट पनि विश्वकप सम्बन्धी जानकारीहरू ट्विट भइरहेका छन्।

समाचार संस्था रोयटर्सले आफ्नो अफिसियल ट्विटर अकाउन्टबाट ह्यासट्याग वल्र्डकप प्रयोग गर्दै ट्विट गरेको छ, ‘सन् २०१० को फिफा वल्डकपमा पल नामको अक्टोपसले सही बिजेता अनुमान गरेकोमा संसारभर सनसनी मच्चाएको थियो । अहिले रसियासँग एचिलिज नामको बिरालो छ । के त्यसले सही अनुमान गर्ला ?’ एचिलिजे बिरालोले विश्वकप २०१८ को भविष्यवाणी गर्ने भनेर विभिन्न सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले २०१८ को विश्वकपको अवसरमा एउटा भिडियोमा सम्बोधन गरेका छन् । यसलाई रसियाली सरकारआवद्ध विभिन्न ट्विटर अकाउन्टहरूले पनि वल्र्डकप ह्यासट्याग प्रयोग गर्दै ट्विट गरेका छन् । दक्षिण अफ्रिका रहेको रसियाली दूतावासले पुटिनको सम्बोधनको अंश ट्विट गरेको छ, ‘हामीले खेलाडी, कर्मचारी, फ्यानहरूसहित सबै अतिथिले रसियामा हुँदा घरमै भएको अनुभव होस् भन्ने सुनिश्चित गर्न सक्दो प्रयास गरेका छौं । सबै फुटबल फ्यानहरू र उत्कृष्ट फुटबल टोलीहरूलाई स्वागत छ।’

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफूले समर्थन गरेको टिमले उपाधि जित्ने दाबी गरिरहेका छन् ।झरना दाहालले विश्वकपको समयमा फरक–फरक देशका फ्यानहरूबीच भएको यस्तै होडबाजीबारे ट्विट गरेकी छन्, ‘आफ्नो मन परेको टिमलाई घोक्रो फुलाएर, छाती पिटेर नै समर्थन गरे भइगो त । अर्को टिमको धज्जी नउडाई समर्थन नै नहुने जस्तो गर्छन् । विश्वकप होइन, विश्वयुद्ध सुरु भएजस्तो लाग्दैछ यहाँ आफूलाई।’

यसै सन्दर्भमा क्रिस्टिना पुरीले ट्विट गरेकी छन्, ‘वल्र्डकप सुरु नै भाछैन, यताका साथीहरू अरु देशको जर्सी भिरेर आपसमा कुस्ती नै खेल्न थाले । नेतृत्वले विश्वकप विवाद समाधान उपसमिति खोलेर साम्य पारियोस् ।’विश्वकपको सन्दर्भमा नेपालको खेलकूद र रंगशालाबारे गायक प्रमोद खरेलले चिन्ता व्यक्त गर्दै ट्विट गरेका छन् । ‘विश्वकपको मुखमा इन्डिया र न्युजिल्यान्डको फुटबल चलिरहेको छ । हेर्दाहेर्दै इन्डियन फुटबल कहाँ पुगिसक्यो । हाम्रामा भूकम्पले भत्काएको रंगशालाको अझै कन्तविजोग छ । मापदण्डविनाका मैदानमा हुने जिल्लापिच्छेका गोल्डकपले के पो होला र खै ।’
 

प्रकाशित: ४ असार २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App