८ वैशाख २०८१ शनिबार
अर्थ

भ्याट छुटकाे रकम कटाएर किसानलार्इ भुक्तानी

सर्लाही - जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानलाई सरकारद्वारा तोकिएको भन्दा प्रतिक्विन्टलमा ७० रुपैयाँ ६४ पैसा कमले भुक्तानी सुरु गरेको छ । उद्योगले सुरु गरेको भुक्तानी रकमले किसानबीच अन्यौलता बढाएको छ ।

यसअघि मिलगेट प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसा तथा विभिन्न संकलन केन्द्रमा दिने किसानलाई पाँच सय ६ रुपैयाँ २० पैसाका दरले भुक्तानी गरेको उद्योगले दुई दिनअघिबाट घटाएर किसानको बंैक खातामा रकम हाल्न सुरु गरेको हो।

‘सरकारले चिनीमा भ्याट छुटबापतको रकमलगायत समस्याबारे सम्बोधन गर्न कार्यदल गठन गरेको छ,’ इन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले भने, ‘कार्यदलको निर्णय आउन ढिलाइ हुने भएकाले हामीले पाउने भ्याट छुटको रकम कटाएर किसानलाई तत्काल भुक्तानी सुरु गरेका हौं ।’ कार्यदलको सिफारिससहित सरकारको निर्णय नआउञ्जेल भुक्तानी रोकिँदा किसानलाई समस्या पर्ने भएकाले भ्याट छुटको रकम कटाएर बैंक खातामा रकम जम्मा सुरु गरिएको उनले जानकारी दिए ।

यसअघि पाँच सय ३१ रुपैयाँ २० पैसाको दरले रकम लिइसकेका किसानलाई उद्योगले बैंक खातामा रकम जम्मा गर्दा पहिला बढी गएको रकमसमेत कटाएर भुक्तानी सुरु गरेको छ । चिनीमा पाउने भ्याट छुटको रकम सरकार आफैंले किसानलाई अनुदानको रुपमा भुक्तानी गर्ने अनौपचारिक कुरा आएकाले नयाँ मूल्यअनुसार आफूहरुले भुक्तानी सुरु गरेको उद्योगका एक अधिकारीले बताए । यसअघि भुक्तानी लिएर बाँकी रहेका किसानले भने अब बैंक खातामा प्रतिक्विन्टल चारसय रुपैयाँ ६४ पैसा मात्र पाउनेछन्।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योगको भुक्तानीले किसानमा ठूलो अन्यौलता छाएको बताए। ‘इन्दुशंकरको भुक्तानीले हामी अचम्ममा परेका छौं,’ उनले भने, ‘यसअघि पनि सरकारद्वारा तोकिएको भन्दा पाँच रुपैयाँ ३६ पैसा प्रतिक्विन्टल कम गरेर भुक्तानी भइरहेको थियो, अब त झन भ्याट छुटबापतको रकम कटाउने बहानामा किसानलाई पहिला दिएको भुक्तानीसमेत फिर्ता लिन थालिएको छ ।’ उद्योगपतिले अनेक बहानामा किसानलाई सताउने काम मात्र गरिरहेको अध्यक्ष मैनालीले आरोप लगाए ।

आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारले घोषणा गरेको बजेटबाट परेको असरको अध्ययन भइरहेको भन्दै गत जेठ १६ गतेबाट किसानलाई भुक्तानी रोकेको थियो ।विगतका वर्षमा उखु दिएको महिना दिनभित्र बैंक खातामा भुक्तानी गर्ने इन्दुशंकरले यसवर्ष भने तीन महिनासम्म पनि भुक्तानी नगरेपछि गत चैत पहिलो साता उद्योगको मूलगेटमा किसानले सुरु गरेको रिले अनसन एवं हरिवन नगरपालिका– ११ का वडाध्यक्ष शेष मेहबुब रेजा आमरण अनसन नै बसेका थिए ।

रेजा आमरण अनसन बसेको चौथो दिन अर्थात चैत १२ गते जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद् लालबाबु राउतसहित प्रदेश मन्त्रीको रोहबरमा उद्योगपति र किसान नेताबीच सहमति भएको थियो । उक्त वार्तामा तत्काल प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसाका दरले भुक्तानी सुरु गर्ने सहमति भएको थियो भने त्यसको केही दिनपछि नै संघीय सरकारले उखुको मूल्य तोक्दै प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा पुर्याएको किसान नेताको भनाइ छ । तर उद्योगपतिले अनेक बहानामा किसानको भुक्तानीमा षडयन्त्र रच्दै आएको उनीहरुको आरोप छ ।

‘उद्योगपतिले हरेक वर्ष भुक्तानी रोकेर वा मूल्यमै किचलो गेर किसानलाई गलाउन खोजिरहेका छन्,’ मैनालीले भने, ‘अनेक बहानामा भुक्तानी रोकिनु अनि घटाएर दिनु पनि त्यसकै निरन्तरता हो ।’ पुस पहिलो साताबाट सञ्चालनमा आएको इन्दुशंकर ४० लाख २० हजार क्विन्टल उखु क्रसिङ गर्दै चैत अन्तिम साता बन्द भएको थियो ।

जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिलले त यसवर्ष कुनैपनि भुक्तानी नगरेको स्थानीय किसानले गुनासो गर्दै आएका छन् ।सर्लाही मुलुकमै सबैभन्दा बढी उखुखेती हुने जिल्ला हो । यहाँ यसवर्ष साढे २१ हजार हेक्टर क्षेत्रफलमा उखुखेती भएको थियो । आगामी सिजनमा भने अझ बढेर २४ हजार हेक्टर क्षेत्रफलमा उखुखेती भएको अनुमान कृषि कार्यालयले गरेको छ ।

 

प्रकाशित: ४ असार २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App