८ वैशाख २०८१ शनिबार
समाज

भारतीय चिकित्सकबाट ‘ग्यारेन्टी उपचार’ का नाममा ठगी

लहान - शनिबार दिउँसो १ बजेको समय। लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरसँगै रहेको नागेश्वरी चाँदसी दबाखाना बिरामी र डाक्टरबीच कुराकानी भइरहेको छ । बिरामी हुन् सिरहा कर्जन्हा नगरपालिका बन्दिपुरका श्रवण यादव (५५)। त्यस्तै चिकित्सक हुन् भारत कलकत्ता नदिया थाना घुल्ला ग्रामका विद्युत रोई। उनीहरुबीचको संवाद यस्तो छ–

यादव : उपचार गराउन थालेको महिना दिन भइसक्यो तर घाउ बीसको उन्नाईस (सन्चो भएको छैन) भएको छैन।

रोई : ग्यारेन्टी लिएको छु, ठीक हुन्छ। नभए पैसा फिर्ता गर्छु।

यादव : महिना दिनमा त अलिकति भए पनि सन्चो हुनुपर्ने हो नि डाक्दर साहेब।

रोई : यहाँ ग्यारेन्टीका साथ उपचार हुन्छ भनेर बाहिर बोर्डमै लेखिएको छ। चिन्ता नगर्नुस्, ठीक हुन्छ।
०००

लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरमै झुन्ड्याइएको छ नागेश्वरी चाँदसी दबाखाना लेखिएको बोर्ड। बोर्डमा बाबासिर, भगन्दर, हाइड्रोसिल, पिनासको बिनाअपरेसन ग्यारेन्टी इलाज भन्ने पनि लेखिएको छ। यसको विज्ञापन स्थानीय रेडियोमा पनि बज्छ। गाउँगाउँमा पर्चापमप्लेट टाँसिएको छ। भगन्दर (मलद्वारको घाउ) बाट पीडित यादव यही प्रचार सुनेर जेठ पहिलो साता उपचार गराउन नागेश्वरी चाँदसी दबाखाना पुगे। रोईले जाँच गरेपछि ६३ हजार रुपैयाँ खर्चमा रोग निको पारिदिने ग्यारेन्टी गरे। ‘ग्यारेन्टी निको हुन्छ त?’ यादवले पटकपटक प्रश्न गरे। रोईले चिन्तै नलिनुस् च्वाट्टै पारिदिन्छु भन्दै यादवलाई आश्वस्त पारे। यादवले ६० हजार लिन आग्रह गरे। राईले यादवको आग्रह मानिहाले। तत्काल यादवले ४३ हजार रुपैयाँ बुझाए। ‘झोल औषधि मलद्वारमा लगाइदिए, औषधीका केही चक्की खानलाई दिए’, यादवले भने।

‘करिब एक महिनादेखि उपचारमा छु तर मेरो पीडा उस्तै छ’, यादवले थपे। रोडियोमा प्रचार छ, गाउँगाउँमा पमप्लेट टाँसिएको छ। राम्रै उपचार हुँदो हो भनेर आएका यादव अहिले भने सशंकित छन्। उनले नागरिकसँग भने, ‘अहिलेसम्म मेरो घाउ ज्युँका त्युँ छ, गलत ठाउँमा फसेजस्तो पो लाग्न थाल्यो।’

यादवका अनुसार उपचारपछि डाक्दरले पुर्जी (प्रेस्क्रिप्सन) पनि दिएनन्। ‘साहेबले पुर्जा पनि दिनुभएन। यहीं रहेको औषधि पसलबाट औषधि दिनुभयो’, उनले भने, ‘अहिलेसम्म ४३ हजार दिइसकेको छु। बाँकी रुपैयाँ निको भएपछि दिने भनेको छु।’

बिएएमएस पढेको बताउने रोईले आफूलाई लहान ८ का राजाराम महतोले यहाँ ल्याएको बताए। उनका अनुसार नागेश्वर चाँदसी दबाखानाका सञ्चालक उनै महतो हुन्। आफू भारतीय भएकाले नेपालमा उपचार केन्द्र खोलेर उपचार गर्न नमिल्ने भएकाले परिचय लुकाएर काम गर्दै आएको रोईले बताए। उनले बिरामीलाई प्रेस्क्रिप्सनसमेत लेख्दैनन्। उनको टेबलमा प्रेस्क्रिप्सन प्याड नै छैन। ग्यारेन्टीसाथ उपचार हुने भनी प्रचार गरिएको यो दबाखानामा न विशेषज्ञ चिकित्सक छन्, न त भौतिक पूर्वाधार नै। सानो कोठामा बिरामीको चेकजाँच हुँदै आएको छ। रोईका अनुसार नागेश्वरी चाँदसी दबाखाना लहानमा मात्र नभई विराटनगरलगायत अन्य सहरमा समेत छ।

लाचार प्रहरी प्रशासन
लहानमा नागेश्वरी चाँदसी दबाखाना इलाका प्रहरी कार्यालय लहानको सामुन्ने ५ सय मिटर दूरीमा छ। यसरी अनधिकृत रुपमा उपचार भइरहेको बारे यहाँका प्रहरी अधिकारीलाई भने पत्तै छैन। डिएसपी गणेश चन्दले त लाचारी नै व्यक्त गरे। उनले भने, ‘म आफैं लहानको एक डेन्टल क्लिनिकको गलत उपचारको सिकार भएँ। गलत उपचारको सिकार आफैं भए पनि केही गर्न सकिएन।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नागेश्वर यादवका अनुसार भारतीय चिकित्सकले नेपालमा स्वीकृति नलिई उपचार गर्न पाउँदैनन्। ‘भारतीय स्वास्थ्यकर्मीलाई राखेर अनधिकृत रुपमा उपचार गर्न लगाउने मेडिकल सेन्टर र यसका प्रोपराइटरसमेत कारबाहीको भागीदार बन्छ’, उनले भने, ‘त्यसमाथि ग्यारेन्टीसाथ उपचार भनी प्रचार गरेर सर्वसाधारणलाई भ्रमित बनाउनु थप गैरकानुनी हो।’

नेपाल मेडिकल काउन्सिल ऐनले अस्पतालमा उपलब्ध हुने वैज्ञानिक तथा प्रामाणिक चिकित्सा सेवाबाहेकका विषयमा सार्वजनिक विज्ञापन गर्न रोक लगाएको डा. यादवले बताए। यसविपरीत अनुगमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै ग्यारेन्टीसाथ उपचार गर्ने दाबा गरिएका विज्ञापन गरेर बिरामीलाई भ्रमित बनाउने धन्दा फस्टाउँदैछ। त्यस्तै विज्ञापनको भ्रममा परेर श्रवण यादव गलत ठाउँमा उपचार गराउन पुगेका छन्।

‘स्वास्थ्य उपचारमा ग्यारेन्टी भनेर विज्ञापन गर्नु सरासर ठगी हो’, जिल्ला स्वास्थ्य प्रमुख यादवले भने, ‘यस्ता विज्ञापनमाथि नियन्त्रण गरेर सर्वसाधारणलाई जोगाउन जरुरी छ।’

प्रकाशित: ४ असार २०७५ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App