८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप फुटबल : दाबेदार बेल्जियमसामु नवप्रवेशी पानामाको चुनौती

मस्को – विश्वकप फुटबलमा सोमबार हुने दोस्रो खेलमा बलियो टोली बेल्जियम र विश्वकपमा पहिलो पटक सहभागिता जनाएको पानामा आमने सामने हुँदैछन्।

फिस्ट ओलम्पिक रंगशाला सोचीमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछ। फिफा विश्वकपको इतिहासमा पानामाले अन्तिम चरणमा सहभागिता जनाउन लागेको यो पहिलो पटक हो। मध्य अमेरिकाको सानो देशले विश्वकपको नियमित सहभागी अमेरिकालाई निराश पार्दै अक्टोबरमा रूस यात्राको टिकट काटेको थियो।

कोस्टा रिकामाथि २–१ को जित हालिस गरेपछि पानामाले कन्काकाफबाट तेस्रो स्थान हासिल गर्दै सोझै विश्वकपमा स्थान पक्का गरेको थियो। अमेरिकालाई निराश पारेपछि छनोट चरणमा १० पटक असफल हुँदाको पीडा बिर्साउँदै नयाँ इतिहास लेखेको टोलीले रूसमा समूह चरणमै बेल्जियम र इङल्यान्डजस्ता महारथीको सामना गर्नेछ।

जुन १८ मा बेल्जियमसँग खेल्दै पानामाले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा सहभागिताको इतिहास कोर्नेछ। समूह ‘जी’ को दोस्रो खेल २४ जुनमा इङ्ल्यान्डविरुद्ध खेल्ने टोलीले २८ जुनमा ट्युनिसियासँग खेल्दै पहिलो चरणको बिट मार्नेछ।

ट्रिनिडाड एन्ड टोबागोले २००६ को विश्वकपमा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो। कन्काकाफले १२ वर्षपछि पानामाको नाममा फेरि विश्वकपलाई अर्को नयाँ सहभागी दिएको छ। जर्मनीमा ट्रिनिडाड एन्ड टोबागोको प्रदर्शन अपेक्षा गरिएभन्दा राम्रो थियो।

इङल्यान्ड, स्विडेन र पाराग्वे रहेको समूह ‘बी’मा पुछारमा रहेर पहिलो चरणबाटै घर फर्किए पनि ट्रिनिडाड एन्ड टोबागोको प्रदर्शन उच्च स्तरीय थियो। स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाढ्नु क्यारेबियनको टोलीको ठूलो बहादुरी थियो भने इङ्ल्यान्ड र पाराग्वेले पनि २–० को जित हासिल गर्न ट्रिनिडाड एन्ड टोबागोसँग निक्कै संघर्ष गर्नुपरेको थियो।

पानामाबाट यसपालि समूह चरण पार गर्ने आशा गरिएको छैन। तर टोलीले कम्तीमा ट्रिनिडाड एन्ड टोबागोको जस्तै सम्मानजनक प्रदर्शन गरेर फर्किने कोलम्बियाली प्रशिक्षक हर्नान डारियो गोमेजले विश्वास लिएका छन्। २०१४ मा पानामाको नेतृत्व लिएपछि टोलीलाई पहिलो पटक विश्वकपसम्म डोर्याएका गोमेजले अंकरहित भएर घर नफर्किने लक्ष्य रहेको बताए। फिफाको विश्ववरीयताक्रमको ५५औं स्थानमा रहेको पानामाले विश्वकपमा बेल्जियम, इङ्ल्यान्ड वा ट्युनिसियामध्ये कसैलाई स्तब्ध पारे आश्चर्य हुने छैन।

पानामाको टोली
गोलकिपर :
होसे काल्डेरोन (चोरिल्लो), जेमी पेनेडो (डिनामो बुचुरेस्टी), एलेक्स रोडरिग्वेज (सान फ्रान्सिस्को)

रक्षक : फिलिप बालोए (म्युनिसिपल), हारेल्ड कमिङ्स (सान जोस अर्थक्वेक), इरिक डेभिस (डुनास्का स्ट्रेडा), फिडेल इस्कोबार (न्युयोर्क रेडबुल्स), एडोल्फो माचाडो (ह्युस्टन डिनामो), मिचेल अमिर मुरिल्लो (न्युयोर्क रेडबुल्स), लुइस ओभाले (सिडी ओलिम्पिया), रोमन टोरेस (सिटल सन्डर्स एफसी)

मिडफिल्डर : एडगार बार्सेनास (टापाचुला), अर्मान्डो कुपर (युनिभर्सिडाड डी चिली), एनिबाल गोडोए (सान जोस अर्थक्वेक), ग्याब्रिअल गोमेज (एट्लेटिको बुकारामाङगा), भ्यालेन्टिन पिमेन्टल (प्लाजा अमाडोर), अल्बर्टो क्विन्टेरो (युनिभर्सिटारियो), जोसे लुइस रोडरिग्वेज (जेन्ट)

फरवार्ड : एब्डिल आरोयो (एलाजुइलेन्स), इस्माइल डियाज (डेर्पो्टिभो फाब्रिल), ब्लास पेरेज (म्युनिसिपल), लुइस टेजाडा (स्पोर्ट ब्वाइज), ग्याब्रिअल टोरेस (हुवाचिपाटो)

यस्तै विश्वकपको इतिहासमा बेल्जियम सबभन्दा पुरानो १३ मध्येको एक टिम हो। १९३० मा उरुग्वेले पहिलो पटक विश्वकप आयोजना गर्दा सहभागीमध्येको एक भए पनि बेल्जियमको उपस्थितिले अन्तर्राष्ट्रिय फुटबलमा प्रभाव जमाउन थालेको धेरै भएको छैन।

फुटबलका पण्डितहरूको नजरमा केही वर्षअघिसम्म पनि आफैँ सफलता हासिल गर्न नसक्ने तर कहिलेकाहीँ ठूला टोलीलाई स्तब्ध पार्न सक्ने ‘डार्क हर्स’ को छविमा सीमित थियो, बेल्जियम। तर अन्तर्राष्ट्रिय फुटबलमा खासै सम्मान नभएको टोलीले ठूला प्रतियोगितामा १२ वर्षको अनुपस्थिति चिर्दै ब्राजिल २०१४ मा टिकट पक्का गर्याे।

ब्राजिलमा चार वर्षअघि सम्पन्न प्रतियोगितामा बेल्जियमको उपस्थिति फगत पुनरागमन मात्र थिएन। प्रिमियर लिगका स्टारहरूले भरिभराउ टोली ब्राजिल पुग्दा, बेल्जियन फुटबलको स्वर्णिम पुस्ताले आफ्नो छवि परिवर्तन गरिसकेको थियो। बेल्जियममाथिको आशा पनि त्यही अनुपातमा वृद्धि भएको थियो। प्रिमियर लिगका साथै युरोपका अन्य लिगमा वर्षभर तहल्का मच्चाइरहेका खेलाडीले ब्राजिलमा त्यहीअनुसारको प्रदर्शन पनि गरे।

ब्राजिलमा प्रभावशाली उपस्थिति जनाएको टोलीले क्वार्टरफाइनलसम्मको यात्रा गर्याे। अन्तिम आठमा अर्जेन्टिनासँग १–० ले पराजित भएपछि बेल्जियमको यात्रामा पूर्णविराम लाग्यो। त्यही अर्जेन्टिना फाइनलसम्म पुग्दा बेल्जियमको टोलीमा दम थियो भन्ने प्रमाणित भयो। विश्वकपमा १२ पटक सहभागिता जनाएको बेल्जियमका लागि सबभन्दा सफल नतिजा १९८६ मा सेमिफाइनलसम्म पुग्नु थियो।

त्यही उपलब्धि बराबरी गर्नबाट अघिल्लो संस्करणमा टोली थोरैले मात्र चुक्यो। त्यति बेला बेल्जियम अन्तर्राष्ट्रिय फुटबलमा छवि परिवर्तनको चरणमा थियो। ठूला प्रतियोगिताका कठिन खेलको खास अनुभव बेल्जियन टोलीमा थिएन। तर अहिले स्थिति परिवर्तन भइसकेको छ। बेल्जियमको वर्तमान टोलीले उच्च स्तरमा लगातार प्रतिस्पर्धा गर्न थालेको धेरै वर्ष भइसक्यो। त्यसैले रूसमा अर्को हप्ताबाट सुरु हुने विश्वकपमा बेल्जियमबाट समर्थकले ठूलो आशा गर्नु स्वाभाविक हो।

युरोपेली छनोटअन्तर्गत समूह ‘एच’बाट शीर्ष टोलीको रूपमा रूसको टिकट पक्का गर्दा बेल्जियमले एउटै हार सामना गर्नुपरेन। समूहका १० मध्ये ९ खेलमा जित हासिल गरेको टोली ग्रिससँगको एउटा खेलमा १–१ को बराबरी नतिजामा सीमित हुँदा शतप्रतिशत नतिजाबाट वञ्चित भएको थियो। छनोटका क्रममा १० खेलमा ४३ गोल गर्दै आक्रमणको धार तिखो भएको प्रमाण दिएको टोलीले ६ गोल मात्र खाएर रक्षापंक्ति पनि सशक्त रहेको सन्देश दिएको थियो।

बेल्जियमको टिममा प्रिमियर लिगमा दुई जना पिएफए वर्षखेलाडीको उपस्थिति छ। कप्तान इडेन हाजार्डले २०१५ मा व्यावसायिक खेलाडी संघको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए भने म्यानचेस्टर सिटीका केभिन डी ब्रुयना बितेको सिजनका विजेता हुन्।

आक्रमणको जिम्मा लुकाकुले पाउँदा उनीभन्दा पछाडि रहेर हाजार्ड वा डी ब्रुयनाले सघाउनेछन्। रक्षापंक्तिमा भान भेर्टोन्घेन र टाबी एल्डरविरड रहँदा म्यानचेस्टर सिटीका भिन्सेन्ट कोम्पनी र युनाइटेडका मारोउने फेलानीको पनि टिमलाई साथ रहनेछ । चेल्सीका गोलकिपर थियाबाउट कोर्टोइस टिमका अर्का मुख्य आकर्षण हुन्।

बेल्जियमको टिमः
गोलकिपर : 
थियाबाउट कोर्टोइस (चेल्सी), सिमोन मिग्नोलेट (लिभरपुल), कोइन क्यास्टिल्स (उल्फसबर्ग)

रक्षक : टोबी एल्डरविरड (टोटेनह्याम), थोमस भेर्भा्लिन (बार्सिलोना), भिन्सेन्ट कोम्पनी (म्यानचेस्टर सिटी), यान भार्टोनघेन (टोटेनह्याम), थोमस मेउनियर (पिएसजी), डेरिक बोयाटा (सेल्टिक), लिएन्डर डेन्डन्कर (एन्डरलेक)

मिडफिल्डर : एलेक्स विटसेल (तियानजिन क्वान्जियान), केभिन डी ब्रुयना (म्यानचेस्टर सिटी), मारोउने फेलानी (म्यानचेस्टर युनाइटेड), यानिक कारास्को (डालियान यिफाङ), थर्गान हाजार्ड (बोरुसिया मोन्चेनग्लाडबाच), युरी टिलेमान्स (मोनाको), मौसा डेम्बेले (टोटेनह्याम), नासिर चाड्ली (वेस्ट ब्रोम),

फरवार्ड : रोमेलु लुकाकु (म्यानचेस्टर युनाइटेड), इडेन हाजार्ड (चेल्सी), द्रिइस मार्टिन्स (नेपोली), अदनान जानुजाज (रियाल सोसिडाड), मिचे बात्सुई (बोरुसिया डर्टमन्ड)

प्रकाशित: ४ असार २०७५ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App