७ वैशाख २०८१ शुक्रबार
राजनीति

बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

मकवानपुर– प्रदेश नम्बर ३ का सत्तारुढ पार्टीका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाएका छन्। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले शुक्रबार प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै सत्तापक्षका साँसदहरुले बजेट जनतामैत्री र विकासमैत्री नभएको भन्दै गुनासो गरेका हुन्।

प्रदेशसभाको आइतबार बसेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का साँसद राजेन्द्र पाण्डेले बजेटले विकास र समृद्धिको प्राथमिकता तोक्न नसकेको भन्दै गुनासो गरे। प्रदेशको बजेट अलमलमा परेको र अस्पष्ट रहेको भन्दै उनले बजेटले प्रदेशको प्रभावकारी विकास गर्नेमा आशंका व्यक्त गरे। ‘सत्ता पक्ष र विपक्षको समेत राम्रा सुझावहरुलाई समेटेर मात्र बजेट पारित गरिनुपर्छ,’ उनले भने।

नेकपाका अर्का साँसद बुद्धिमान माझीले प्रदेश ३ को बजेटमा धेरै कुरा अमुर्त रहेको बताउँदै सरकार सचेत हुनुपर्ने बताए। आर्थिक समृद्धिका लागि महत्वपूर्ण क्षेत्र उद्योग लगायतका धेरै क्षेत्रलाई बजेटले नसमेटेको भन्दै उनले परिमार्जन गरेर बजेटलाई पूर्ण बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए। नेकपाकै साँसद प्रेमबहादुर पुलामीले खानी अनुसन्धान, चुरे क्षेत्र संरक्षण लगायतका बिषय बजेटमा छुट भएकाले समेट्नुपर्नेमा जोड दिए। प्रदेशको बजेटबारे समय मागेर प्रदेश सभा बैठकमा बोल्ने सत्तारुढ नेकपाका प्रदेश साँसदहरु लालकुमारी पुन, नारायणबहादुर सिलवाल, हिरामान खतिवडा, मणिराम फुयाँल लगायतले पनि बजेट पूर्ण नभएको भन्दै परिमार्जन गर्न सके विकास र समृद्धिमा उल्लेख्य योगदान पु¥याउने बताएका थिए।

बजेट समृद्धिको लागि देखावटी मात्रः प्रतिपक्ष 

प्रदेश नम्बर ३ को सरकारले ल्याएको बजेटबारे प्रतिपक्षी दलका साँसदहरुले सुन्दर जस्तो भए पनि खास नभएको प्रतिक्रिया दिएका छन्। प्रदेश नम्बर ३ की प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रेसकी सचेतक राधा घलेले बजेट ‘सुन्दर नाराभित्रको परिबन्द’ भएको भन्दै रोष प्रकट गरिन्। सार्वजनिक– निजी–साझेदारी कार्य र कृषि क्षेत्रमा प्रदेश सरकारले कर हटाउनुपर्नेमा जोड दिदै उनले उनले प्रदेश सरकारलाई बजेट कार्यान्वयन गर्न कठिन हुने दाबी गरिन्।

काँग्रेसका साँसद तथा लेखा समितिका संयोजक न्हुच्छेनारायण श्रेष्ठले बजेट रातो किताबमा प्रकाशन नगरेर सरकारले भ्रममा राखेको प्रतिक्रिया दिए। स्वास्थ्य उपचार खर्च अत्यन्त महङ्गो भएकाले प्रदेश सरकारले ‘जनता स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरि जनतालाई राहत दिनुपर्नेमा उनले जोड दिए।

काँग्रेसकै अर्का साँसद प्रभात तामाङले बजेट विकास निर्माण गर्ने भन्दा पनि सरकारले खर्च मात्र गर्ने उदेश्यले ल्याएको आरोप लगाए। विवेकशील साझा पार्टीका साँसद रमेश पौडेलले सत्तारुढ नेकपा (तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र)को चुनाबी घोषणा पत्र अनुसार बजेट नल्याईएको दाबी गरे। बजेट उदारवाद र समाजवादको बाटोमा अल्मलिएको तर्क गर्दै उनले नीति तथा कार्यक्रममा उल्लेख गरेका कुराहरु पनि बजेटमा नसमेटेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले सरकारले जनतालाई ढाँटेर युवा स्वरोजगार कार्यक्रम लगायत बजेट नल्याएको भन्दै आत्मआलोचना गर्नुपर्ने बताईन्। नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का साँसद सुरेन्द्र गोसाँईले प्रदेशको बजेटमा पञ्चायती र काँग्रेसी सरकारको झल्को आएको जिकिर गरे।

प्रकाशित: ३ असार २०७५ १५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App