coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वर्षा सुरु भएसँगै उदयपरका पहाडी सडक अबरुद्ध

बेलका ७ को मैनामैनी दरबार नजिकभत्केको कच्ची सडक पार गर्दै यात्रु।   तस्बिरः महेश्वर

उदयपुर – उदयपुरका कच्ची सडकहरू वर्षा सुरु भएसँगै अवरुद्ध हुन थालेका छन्। केहिदिनयता छिटफुट वर्षा सुरु भएपछि अधिकतर पहाडी भेगका कच्ची सडकहरू अवरुद्ध हुन पुगेका हुन्। सडक अवरुद्ध भएपछि स्थानीयलाई सदरमुकाम र स्थानीय तहका केन्द्र आउजाउ गर्न बाधा पुग्ने थालेको छ। 

पछिल्लो एकदशकमा गाउँगाउँमा कच्ची सडक बने पनि अधिकांशको काम प्राविधिक इस्टीमेटविना र सानो बजेटबाट साँघुरा र घुम्तीयुक्त बनेका छन्। गाउँमा सडक पुर्याउने होडबाजीमा स्थानीयले थोरै बजेटबाट श्रमदानको भरमा निर्माण भएका सडकहरू वर्षायाममा हिलो, पहिरो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोले यातायातका साधन चल्न हम्मे पर्ने गरेको छ। प्राविधिक इस्टीमेट र निगरानीविना निर्मित यस्ता सडकलाई सामान्य वर्षाले नै भत्काउने गर्दा यातायात आवागमन बन्द हुने गरेको हो। 

वर्षा सुरु भएपछि गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको सहायक मार्गका रुपमा रहेका फोक्सिन्टार–रसुवा–बलम्ता, रसुवा–जाँते, रानीबास–डहर–रौता–सल्ले, मुर्कुची–पुँवारे–भुट्टार, पुवाँरे–माझखर्क–बाराहा–बलम्ता खण्डका कच्ची सडकमा सवारी आवागमन रोकिन पुगेको छ। त्यस्तै नेपालटार–डुम्रे–बर्रे, बेलदोभान–सिद्रे–बागखोर, खाँबु–बागखोर खण्डका कच्ची सडकमा पनि जीपसमेत गुड्न छाडेको स्थानीयले बताएका छन्। 

वर्षाले कच्ची सडकका कतिपय पुरिएका ठाउँ भासिएको छ भने कतिपय ग्यावियन पर्खाल भत्कने, भासिने गरेर बाटो कामनै नलाग्ने भएको तत्कालीन हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ। वर्षाले स्तरोन्नति भइरहेका ठूला सडकमा पनि आउजाउमा समस्या परेको संघका महासचिव ओमभक्त मैनालीले बताए। निर्माणाधिन धरान–चतारा–गाईघाट–कटारी खण्डको बैकल्पिक लोकमार्गमा पुल र कल्भर्ट नबिनसकेको तथा बन्दै गरेको ठाउँमा हिलो जमेपछि यातायात चल्न कठिनाई भइरहेको मैनालीले बताए। 

पहाडी भेगमा त वर्षेनी वर्षापछि सडक अवरुद्ध हुने गरेको उनले बताए। तराईभेगका ठूला सडकमासमेत वर्षाले समस्या निम्त्याउने गरेको मैनालीले बताए। ‘वर्षायाममा धेरैजसो सडकहरु कतै न कतै बिग्रेर यातायात अवरुद्ध हुने गरेका छन्’ मैनालीले भने ‘ठूलो सडक मानिएको बैकल्पिक लोकमार्गको काम पनि निर्माणाधिन भउकाले गाडी चल्न नसकने अवस्थामा पुगेको छ।’ 

वर्षाले खासगरी पहाडी भेगका उदयपुरगढी, ताप्ली, रौतामाई र लिमचुङबुङ गाउँपालिकाबासीलाई सदरमुकाम र बजार आउजाउ गर्न वर्षाले निकै समस्यामा पारेको छ। ती स्थानीय तहहरू भर्खरै सञ्चालनमा आएका कारण नयाँ सडक नखनिसकेको र खनिएका पुराा सडकको मर्मत सम्भार राम्रो नभएका कारण गाउँपालिकादेखि सदरमुकाम आउजाउ गर्न तथा उपभोग्य सामग्री गाउँ पुर्याउन यातायात अवरुद्ध हुँदा समस्या हुने ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए।

ताप्ली गाउँपालिकाको उपभोग्य सामग्री खरिद गर्ने केन्द्र बजार कटारी हो। तर, कटारी–घुर्मी खण्डको शाखा बाटो भएर पुगिने ताप्ली जान बेतीनी–लिम्पाटार–पिपलभन्ज्याङ–रुपाटारसम्मको खण्डमा आधादर्जन ठाउँमा सडक बिग्रेको छ। त्यस्तै समस्या रौतामाई, लिमिचुङबुङ र उदयपुरगढी जोड्ने सडक खण्डमा पनि रहेकाले यातायात आउजाउ अनियमित हुन पुगेको रौतामाई १ नामेटारका वडाध्यक्ष रुद्रबहादुर कार्कीले बताए। जाँते–माझखर्क–पुवारे–मुर्कुची, जाँते–लाफागाउँ–रसुवा–साउने–गाईघाट र चनौटे–रसुवा–फोक्सिन्टार–साउने खण्डका सडकको पनि अवस्था नाजुक भएको यातायात व्यवसायी बिष्णु श्रेष्ठले बताए। 

मैनामैनीमा पैदल हिड्न बाध्य
पूर्वको बेलका नगरपालिकाका पहाडी वडाहरु साविक मैनामैनीका अधिकांश भू–भाग पुग्ने सडक पनि पहिरोले अवरुद्ध पारेपछि पैदल हिड्नुपर्ने बाध्यता सिर्जना भएको छ। साविक मैनामैनी हाल बेलका नगरपालिका ७ का वडाध्यक्ष सुरेन्द्र राईका अनुसार बेलकाको चतारादेखि मुलगाउँ हुँदै छेटोम पुग्ने सडक खण्डको ९ किलोमिटर पहिरोले भत्काएका कारण २ घण्टा पैदल हिड्नुपर्ने बाध्यता सिर्जना भएको छ। चालू वर्ष नगरपालिकाको सहयोगमा निर्मित सडक केही अघिको वर्षाले भत्काएपछि मर्मत गर्न नभ्याई थप वर्षाले यस्तो समस्या आएको वडाध्यक्ष राईले बताए। 

सडक भत्केकै कारण मैनामैनीस्थित पर्यटकीय तथा धार्मिकस्थल मैना राजा मैना रानी दरवार र मन्दिर जाने भक्तजनलाई लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता आई परेको छ। पुजारी रामप्रसाद राईका अनुसार सडक सुचारु हुँदा दिनमा सरदर २५÷३० जना भक्तजन मन्दिर दर्शन गर्न तथा दरबारको अबलोकन भ्रमण गर्न आउने आन्तरिक पर्यटक सडक अवरुद्ध भएपछि घटेका छन्। 

बेलकादेखि मैनामैनीका साविक सबै वडालाई छुनेगरी सडक निर्माण गरिएपनि सुरुवर्षको सडक भएकाले तत्काल ठाउँठाउँमा बिग्रने गरेको महिला वडा सदस्य तारा राईले बताइन्। उनका अनुसार नगरपालिका केन्द्र रहेको रामपुर बजारदेखि भर्खरै जोडिएका सडकहरु कच्ची र साँघुरो हुनुका साथै वर्षाले भत्काएका कारण माथिल्लो मैनामैनीबासीलाई नगरपालिका कार्यालयसम्म पुग्न पनि वर्षायाममा समस्या पर्ने गरेको छ। 

उदयपुर सदरमुकामसँग जोड्ने दुरदराजका यस्ता अधिकतर कच्ची सडकहरू हल्का वर्षाकै कारण अवरुद्ध हुन हुँदा यात्रुलाई आउजाउ र सामान ढुवानी गर्न समस्या हुने गरेको स्थानीय व्यापारीहरू बताउँछन्। 

प्रकाशित: ३ असार २०७५ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App