coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अजेन्डा तय गर्न दाहालको निर्देशन

काठमाडौं- भारत भ्रमणमा निस्कने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयलाई भ्रमणको अजेन्डा तय गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहाल भदौ ३० मा भारत भ्रमणमा जाने छन्।

उनले आइतबार पराराष्ट्र, गृह, अर्थ, आपूर्ति, ऊर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवसँग छलफल गर्दै आफ्ना मन्त्रालयका तर्फबाट भ्रमणका लागि प्रस्ताव ल्याउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री दाहालले भ्रमणका विषयमा प्रारम्भिक चरणको छलफल गरेका हुन्। 'प्रारम्भिक छलफलमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयलाई भ्रमणका अजेन्डाका प्रस्ताव ल्याउन भन्नुभएको छ,' उनले भने, 'सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि पुनः दोस्रो र तेस्रो चरणको छलफल हुनेछ।'

उनले दोस्रो चरणमा विज्ञसँग र तेस्रो चरणमा राजनीतिक नेतृत्वसँग तयारी बैठक बस्ने जानकारी दिए।

भारत भ्रमणका विषयमा उठाइने विषय र भारतसँग गरिने सम्झौताका विषयमा कुनै पनि विवाद नआओस् भनेर प्रधानमन्त्रीले छलफल तीव्र बनाएको आइतबार छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए। 'उहाँ भ्रमणका समयमा महŒवपूर्ण सम्झौता गर्ने विचारमा हुनुहुन्छ,' उनले भने, 'तर यस्ता सम्झौता विवादमा आउन नदिन उहाँ निकै चिन्तित हुनुहुन्छ।'

प्रधानमन्त्रीले पहिलो चरणमा मन्त्रालयहरुले पेस गरेका प्रस्तावका विषयमा विज्ञहरुसँग बसेर छलफल गरी ठोस निर्णयमा पुग्ने तयारीमा रहेका छन्। विज्ञहरुको छलफलपछि उनले राजनीतिक दलका नेतासँग बैठक बस्ने र प्रस्तावबारे पुनः छलफल गरेर थपघट गर्ने तयारीमा छन्।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारत भ्रमणमा धेरै सम्झौता नहुने बताए। 'धेरै सम्झौता हुँदैनन् तर महŒवपूर्ण सम्झौता हुन्छन्,' उनले भने, 'सबैसँगको छलफलपछि तय हुने विषय र पहिलादेखि नै तयारी भइरहेका विषयमा मात्र भारतसँग सम्झौता हुनेछ।'

महराले हुलाकी राजमार्ग र पावर ट्रेडिङ एग्रिमेन्ट (पिटिए) का विषयमा पनि भारतसँग छलफल हुने बताए।

तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग आयोजना दशकौंदेखि अलपत्र अवस्थामा छ। भारतीय सहयोगको उक्त  आयोजनामा पछिल्ला वर्ष एकपछि अर्को सम्झौता थप भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई सहयोगबारे पनि छलफल गर्नेछन्। प्रधानमन्त्री दाहालले भूकम्पपीडित परिवारलाई घर बनाउन दिने भनिएको २ लाख रुपैयाँ अनुदानमा एक लाख रुपैयाँ थप्दै ३ लाख अनुदान रकम उपलब्ध गराउने तयारी अगाडि बढाइरहेका छन्।

अनुदान रकम बढाउन आर्थिक स्रोत अभाव देखिने भएपछि दाहालले भारत भ्रमणका समयमा यो विषयमा पनि छलफल अगाडि बढाउने तयारी भएको छलफलमा सहभागी एक सचिवले नागरिकसँग बताए। प्रधानमन्त्री दाहालले रकम थप्ने विषयमा दातृ राष्ट्र तथा निकायका प्रतिनिधिसँग समेत छलफल गरिसकेका छन्।

'रकम थप्ने विषयमा दुई छिमेकी देशसँग छलफल गर्ने तयारी भएको छ,' उनले भने, 'भारत भ्रमणका क्रममा भारतसँग र चीन भ्रमणका क्रममा चीनसँग पनि छलफल गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ।'

भारत भ्रमणलगत्तै प्रधानमन्त्री दाहाल अमेरिका जाने कार्यक्रमसमेत तय भएको छ। असोज ३ गते संयुक्त राष्ट्रसंघीय ७१ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेकाले पनि दाहालको भारत भ्रमण तीन दिनमा सीमित गरिएको प्रधानमन्त्री निकट स्रोतले बतायो। ३ गते संविधान दिवस मनाएर उनी न्युयोर्क प्रस्थान गर्ने तय भएको छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने र त्यसपछि मात्र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गर्नेछिन्। यसबीच चीनका राष्ट्रपति सी जिनपिङ पनि नेपाल आउने पक्का भएको छ। राष्ट्रपति जिनपिङ दसैंताका नेपाल आउने सम्भावना छ।

प्रकाशित: २० भाद्र २०७३ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App