coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सयौं क्विन्टल गोदाममा, केही बारीमै

इलाम- मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको माउ निकालेर बेच्ने मुख्य सिजन हो। पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो।

निर्यात रोकिँदा करोडौं मूल्यको अदुवा अलपत्र छ। धेरै निकासी हुने काँकडभिट्टा नाकाबाट मंगलबारयता एक किलो अदुवा उता गएको छैन। व्यापारीका अनुसार अघिल्लो सोमबार बेलुकासम्म सानो परिमाणमा अदुवा निकासी भइरहे पनि बाधा–अवरोध भने अघिल्लो शुक्रबारदेखि नै थियो।

नेपाली अदुवाको मुख्य बजार भारतको सिलिगुडी र पानीट्यांकी हुन्। यहाँसम्म अदुवा निकासीको बाटो नखुल्दा इलामको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे, पश्चिमी मंगलबारे, पूर्वी फिक्कललगायत बजारमा सयौं क्विन्टल अदुवा थन्किएको व्यापारी बताउँछन्।

व्यापारीले अग्रिम बुकिङ गरेको अदुवाको ठूलो परिमाण गाउँ–गाउँका किसानका आँगनमा अलपत्र छ। कतिपय किसानले निकासी रोकिएपछि बारीमा भएको अदुवा खन्न पाएका छैनन्।

इलाम, सोयाङका किसान गोविन्द सञ्जेलले व्यापारीले केही दिनअघि किनेर तौलसमेत गरेको अदुवा अहिले निर्यात रोकिएको भन्दै नउठाइदिएकाले कुहिने डर भएको बताए। ‘यहाँका घर–घर व्यापारीले गाउँबाट ल्याएको अदुवा थुपारिएको छ, केही दिनपछि आएर लान्छौं भन्दै अदुवा तौलेर गएका व्यापारी फर्केका छैनन्।'

उनले अदुवा निकासी रोकिएकाले खुलेपछि मात्रै आउने व्यापारीले बताएको जानकारी दिए। ‘कहिले खुल्ने भन्ने टुंगो छैन, व्यापारीले लगेनन् भने हाम्रो लाखौं रुपैयाँको अदुवा आँगन र सडकमै कुहिएर जान्छ।'

स्थानीय किसान गोकुल सञ्जेल, खेम अधिकारी, भेषराज सञ्जेल लगायतको अदुवा अहिले आँगन र बारीमा थन्किएको छ। गोकुल भन्छन्, ‘गाउँमा मलाई जानकारी भएसम्म २८ मन (मनमा ४० किलो) सम्म रोप्ने किसान छन्। धेरैले अदुवाको माउ बेच्न सकेका छैनन्।'

५० मन अदुवा रोपेका बरबोटे–१ तोरीबारीका किसान चूडामणि अधिकारीलाई पनि व्यापारीले केही दिनअघि अदुवा खन्न लगाए। खनेर आँगनमा ल्याएपछि ‘निकासी रोकियो, खुलेपछिमात्रै किन्छौं' भनेर हिँडे। अहिले उनलाई यो अदुवा कसरी टिकाएर राख्ने भन्ने चिन्ताले पिरोलेको छ। अधिकारी भन्छन्, ‘यो बिकेन भने मेरो सबै लगानी डुब्छ। कुनै न कुनै पहल गरेर निकासी नखुलाए लाखौं घाटा हुन्छ।'

अहिले सुलुबुङ, सुम्बेक, धुसेनी, मंगलबारे, इभाङ, सोयाङ, नामसालिङ, गोदक, सोयाक, शान्तिडाँडा, साङरुम्बालगायत दर्जनौं गाउँका किसानको बारीमा अदुवा खनेर बेच्न बाँकी छ। खनेको अदुवा पनि व्यापारीले फर्काएपछि बारी र आँगनमा थुपारिएको छ।

अधिकारीले खेती गरेका बेला अदुवाको बीउ प्रतिमन २ हजार ५ सय रुपैयाँ थियो। बरबोटेकै अर्का किसान नारायण पौडेलले चाहिँ निकासी रोकिएको थाहा पाएर बारीबाट अदुवाको माउ निकालेकै छैनन्। अब कहिले निकालेर बेच्ने भन्ने अन्योलमा रहेका उनलाई बारीमै अदुवा कुहिने डर छ।

जिल्लामा अदुवाको मुख्य कारोबार गर्ने व्यापारीले निकासी रोकिँदा आफ्नो गोदाममा सयौं क्विन्टल अदुवा अलपत्र परेको बताए। प्रमुख व्यापारिक केन्द्र बिब्ल्याँटे बजारका व्यापारी कृष्ण पौडेलले अहिले आफ्नो गोदाममा ५ सय क्विन्टल अदुवा रहेको बताए। उनले १० दिनदेखि अदुवा निर्यात नभएकाले कुहिन लागेको जनाए। ‘यो अदुवा यहाँ रहेको १० दिन भयो, अब केही दिन निर्यात गर्न पाइएन भने कुहिन्छ,' उनले भने, ‘बिब्ल्याँटेमा मात्रै करिब १ करोड रुपैयाँको अदुवा सड्नेछ।' पौडेलले गाउँ र व्यापारीको गोदाममा गरी करिब ५ करोड रुपैयाँको अदुवा अझै यहाँबाट निकासी हुन बाँकी रहेको अनुमान गरे।

केही व्यापारीले चीनको गुणस्तरहीन अदुवा मिसावट गरी नेपाली अदुवाका नाममा भारत निर्यात गरेकाले यो समस्या आएको व्यापारी नै बताउँछन्। ‘छोटो समयमा धेरै कमाउने गलत मनसायले केही गैरजिम्मेवार व्यापारीले नेपाली अदुवालाई अन्योलको अवस्थामा पुर्‍याएका हुन्,' पौडेलले भने, ‘हेर्दा राम्रो देखिने, मूल्य पनि धेरै भएको तर साह्रै कम समयमात्र टिक्ने अदुवा चीनबाट नेपाल ल्याएर नेपालकै नाममा भारत पठाइएको भन्ने जानकारी आएको छ।' उनले पछिल्लो समय, कुचो, अलैंची र अदुवाको मुख्य सिजनमा मिसावट भइरहेकाले त्यस्ता व्यापारीलाई छानबिन गरी कारबाही दायरामा ल्याउनुपर्ने पनि बताए।

निकासी नहुँदा आफ्नो गोदाममा २ सय क्विन्टल अदुवा कुहिन लागेको गोदक गाउँका व्यापारी सुवास राईले जानकारी दिए।

नेपालको कुल अदुवा उत्पादनमध्ये ३१ प्रतिशत हिस्सा पूर्वको छ। आर्थिक वर्ष २०७२/०७३ मा पूर्वमा सबैभन्दा बढी इलाममा ४५ हजार ९ सय ९४ मेटि्रक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

जिल्लाका १२ हजार ९ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन्। त्यस आवमा जिल्लाका किसानले अदुवा बेचेर २ अर्ब २० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्लेले बताए। ३ हजार २ सय ३३ हेक्टरमा खेती भइरहेको अदुवा १ देखि ७० मनसम्म खेती गर्ने किसान जिल्लामा छन्। जिल्लाका बिब्ल्याँटे, मंगलबारे, फिक्कल, नयाँबजार लगायतका बजारमा अदुवाको किनबेच हुने गरेको छ।

पाँचथरको रानीगाँउका अगुवा किसान तथा व्यापारी व्यापारी राधाकृष्ण चम्लागाईंको खेतीमा पनि यो वर्ष ४० मनभन्दा बढी अदुवाको माउ निस्किएको छ। बिक्रीका लागि झापा पठाउन लाग्दा निकासी रोकिएको खबर पाएपछि उनी अन्योल भएको बताउँछन्। ‘करिब ५० क्विन्टल अदुवा किसानबाट किनेर सडक आसपासमा राखेको छु,' उनले सुनाए, ‘केही दिनमा बेच्न नपाए त्यहीं कुहिने भो।'

सुक्खा क्षेत्र यासोक, रानीगाउँ, स्याम्बरुम्बा, माङ्जाबुङलगायत गाविसमा वैकल्पिक खेतीका रूपमा लगाइएको अदुवाको माउ बिक्रीका लागि ठिक्क पारेका बेला बिक्री रोकिएपछि किसान समस्यामा छन्। ‘खनौं बिक्री हुँदैन, नखन्दा बारीमै कुहिन्छ,’ नागीका किसान वीरेन्द्र काफ्लेले भने, ‘राम्रो आम्दानी हुने अनुमानले गाउँका धेरैले अदुवा लगाएका थिए तर डुबाउने भो यसले।' बिक्री रोकिएपछि किसान अदुवा खेतीप्रति नै निरास हुँदैछन्।

अदुवा उत्पादक तथा व्यवसायी संघका जिल्ला सचिव गणेश पोखरेलले केन्द्रको टोलीसहित गएर भारतीय दूतावासमा अदुवा निकासी खुलाउन आग्रह गरिएको बताए।

(ताप्लेजुङबाट खगेन्द्र अधिकारी र पाँचथरबाट गिरिराज बाँस्कोटाको सहयोगमा)

प्रकाशित: २० भाद्र २०७३ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App