coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी महिलाको धोको अधुरै

काठमाडौं- नेपाली नारीको महान पर्व तीजको दिन। रातो साडी, चुरा र सिन्दूरमा सजिएका महिलाले पशुपतिनाथ मन्दिर परिसर खचखच छ। व्रतालु महिला पूजासामग्रीको थाली बोकेर मन्दिरतर्फ लम्किरहेका छन्।

शृंगारले झकिझकाउ व्रतालुको बीच–बीचमा कलेजी रङको टोपी, आकाशे सर्ट र निलो पाइन्ट लगाएका महिला पनि छन्। उनीहरूलाई पनि तीजले छोपेको छ, व्रत बसेका छन्। फरक यत्ति हो– उनीहरूले रातो पहिरन लगाउन पाएका छैनन्। दर्शन गर्न लाइन बसेकालाई सजिलोसँग छिटो मन्दिर पुर्‍याउने जिम्मेवारी लिएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध उनीहरूलाई पनि रातो पहिरन लगाउने र छमछमी नाच्ने रहर छ। 'सबै दिदीबहिनीले रातो पहिरन लगाएर तीज मनाइरहँदा हामीलाई पनि उनीहरूसँगै नाच्ने रहर हुन्छ,' नेपाल प्रहरीकी सई देवी मैनालीले भनिन्, 'रहर हुन्छ भन्दैमा जिम्मेवारी भुल्नु पनि हुँदैन।'

आफ्नो जागिर र जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले थपिन्, 'देश र जनताको सेवा गर्छु भनेर जागिर खाएपछि केही रहर थाती पनि राख्नुपर्छ।' रातो पहिरन नलाए पनि व्रत बसेको उनले बताइन्। बेलुका घर गएर श्रीमानसँग भेट्ने योजना बनाएकी उनले गोडाको पानी खाने परम्परा भने त्याग्नुपर्ने बताइन्।

नेपाल प्रहरी संगीत विद्यालय, चक्रपथबाट आएकी प्रहरी जवान खिलमाया नेपाली पनि लाम मिलाउन व्यस्त थिइन्। प्रत्येक वर्ष तीजमा पशुपति क्षेत्रमा खटिने उनको रातो पहिरन लगाउने रहर भने अधुरो छ। 'रहरभन्दा जिम्मेवारी मूल कुरा हो,' उनले भनिन्, 'प्रत्येक वर्ष तीजमा यसैगरी सेवा गर्दै आएकी छु।'

आठ वर्षअघि जागिर सुरु गरेकी उनका श्रीमान् पनि नेपाल प्रहरीमै छन्। उनी पनि व्रत बसेकी छन्। 'व्रत बस्दा पानीचाहिँ खाने गरेकी छु,' उनले भनिन्। बेलुका श्रीमानको गोडाको पानी खाएर व्रत खोल्ने उनले बताइन्।

'व्रत बस्ने परम्परादेखि चलेको चलन हो,' उनले भनिन्, 'व्रत  बसेपछि श्रीमान्को गोडाको पानी खानुपर्छ भन्छन्।'

मैनाली र नेपाली मात्र होइन, तीजको दिन पशुपति क्षेत्रमा खटिएका अधिकांश महिला प्रहरी निराहार थिए। 'निराहार भए पनि जिम्मेवारी गर्नु हाम्रो दायित्व हो,' खुसीसाथ ड्युटी गरेको बताउँदै प्रहरी जवान शारदा पाण्डेले भनिन्, 'बेखुसी त त्यसबेला लाग्छ, जतिबेला लाइन मिचेर जबर्जस्ती अगाडि जाने प्रयास हुन्छ।'

दर्शन गर्न आउने महिलाले आफूहरूले भनेको नमान्ने, कराउने गर्दा भने खल्लो लाग्ने उनी बताउँछिन्। 'हामी कसरी हुन्छ सहज होस् भनेर लागिरहेका हुन्छौं तर उहाँहरू उल्टै हप्काउनुहुन्छ,' पाण्डेले लाममा रहेका महिलालाई देखाउँदै सुनाइन्। महिला भएर महिलाकै समस्या नबुझिदिँदा बारम्बार कराउनुपर्ने उनले जनाइन्।

दर्शनार्थीको भिड व्यवस्थित बनाउन महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ हजार प्रहरी खटाएको थियो। तीमध्ये १ हजार ८ सय महिला प्रहरी रहेको डिएसपी सिद्धिविक्रम शाहीले जानकारी दिए।

उनका अनुसार महिलाको लाम मिलाउन महिला प्रहरी नै उपयुक्त भएकाले पुरुषभन्दा बढी महिलालाई खटाएका हौं। त्यसैगरी सशस्त्र प्रहरी बलबाट १ हजार ८ सय महिला खटिएका थिए। पशुपतिमा खडा गरिएको सशस्त्र प्रहरी बल मेन कमान्ड पोस्टले जनाएअनुसार ४० प्रतिशत महिला छन्। नेपाली सेनाले पनि सुरक्षाका लागि आफ्ना जनशक्ति खटाएको थियो।

सेवामा खटिएका प्रहरीले ८ घन्टा ड्युटी गर्नुपर्छ। ड्युटीमा रहँदा शारीरिक रूपमा कमजोर भए भने आराम गर्ने व्यवस्था मिलाइएको सशस्त्रले जनायो। नेपाल प्रहरी र सशस्त्र दुवैले उपत्यकास्थित विभिन्न परिसर, वृत्त, गण र गुल्ममा रहेका जनशक्ति परिचालन गरेका हुन्। पालोअनुसार बिहान २ बजेबाट बेलुका १२ बजेसम्मै ड्युटी गर्नुपर्ने हुन्छ। पालो सकाएका र नजिकै घर हुने तथा घर जान चाहने महिला प्रहरीलाई भने गाडीले घरघरै पुर्‍याइदिने नेपाल प्रहरी र सशस्त्र प्रहरी कमान्ड पोस्टले जानकारी दिए।

 

प्रकाशित: २० भाद्र २०७३ ०१:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App