बाइराेडकाे बाटाेमा

सहपाठी सुजातकाे स्वर सुनिरहनेछु

आइतबार, ०३ असार २०७५, ०८ : १६ गुणराज लुइँटेल  | @gunaraj

‘हाइ...हाउ आर यु...लङ टाइम नो न्युज...होप अल इज वेल’ मोबाइल स्क्रिनमा यी सन्देश पिलिकपिलिक गरिरहेका छन् । सन्देश पढ्दै गर्दा अनुहारमा एउटा अग्लो शरीर र धोद्रो स्वर भएको एउटा हार्दिकताले भरिएको मानिसको अनुहार दिमागमा अंकित हुन्छ । गत शनिबार अपराह्न ३ः०७ बजे भारतको कश्मीरबाट प्रकाशित हुने ‘राइजिङ कश्मीर’ का प्रधानसम्पादक सुजात बुखारीका सन्देश थिए यी । एक सातापछिको शनिबार यी पंक्ति लेख्दै गर्दा सुजात सम्झनामा मात्र छन् । त्यो दिन मैले सन्देशको जवाफ लेख्नासाथ जवाफ आयो– ‘ह्वाइ यु सिम टु बि कोल्ड’ अर्थात् ‘आज तिमी किन निष्ठुरजस्तो लाग्छौ।’

धेरै दिनपछि आएको साथीको सन्देशको जवाफमा बिनाहार्दिकता आएको महसुस सुजातलाई भयो । ‘मलाई ठीक छ, धन्यवाद’ एउटा छोटो र औपचारिक सन्देशमात्र देख्दा स्वाभाविकरूपमा निकट मित्रहरूको चित्त दुख्छ । तर थप शब्द र संवादले सुजातलाई उही हार्दिकतामा फर्काइसकेको थियो । सन् २००७ मा फिलिपिन्सको अटेनियो डे मनिला युनिभर्सिटीका सहपाठी हामीबीचको सम्बन्धले दशक नाघिसकेको छ । पवित्र रमादानको अघिल्लो दिन गत बिहीबार दिनभरिको व्रतपछि इफ्तर ९घाम अस्ताएपछि खाइने साँझको खाना० का निम्ति आफ्नो अखबार ‘राइजिङ कश्मीर’ को कार्यालयबाट निस्कँदै गर्दा उनको हत्या भएको खबरले हामी सबै तिल्मिलाएका छौंँ।

सुजातसँगका संवादहरू मनमा खेल्न थाल्छन्–
‘गत साता लिस्वनमा पुग्दा म र सैयद तिम्रैबारेमा कुरा गर्दै थियौं,’ सुजातको सन्देश थियो।

कतै टाढा पुग्दा आफ्नो साथीलाई सम्झने मानिस निकै निकट हो । सुजात र सैयद नजाकत (उनी पनि हाम्रा सहपाठी हुन्) दुवै लिस्वनमा सम्पादकहरूको भेलामा पुगेका थिए।

‘हो, हामीबीच कुरा हुन नपाएको निकै भयो,’ मैले फेरि सुजातलाई भनेँ।

आदेशात्मक शैलीमा उताबाट फेरि सन्देश प्राप्त भयो, ‘मेरो निकट मित्र एवं फ्रन्टलाइनका डेपुटी एडिटर रामकृष्णन नेपाल आएका छन् उनलाई भेट्नू।’

कुराकानीको सिलसिला अगाडि बढ्यो–

‘तिमीचाहिँ नेपाल नआउने?’

‘तिमी निम्तै गर्दैनौं।’

‘म बोलाउँछु ।’

‘कोही बहाना होना चाहिए (कुनै बहाना हुनुपर्छ),’ सुजातको जवाफ थियो।

धेरैपछि कुरा हुन पाएको साथीसँग मोबाइल सन्देशले धित मरिरहेको थिएन । तत्कालै फोन गरेपछि निकैबेर काम, साथीभाइ, परिवार, यात्रादेखि पत्रकारितासम्म कुरा भयो । तर, अब त्यो आवाज फेरि सुन्न पाइने छैन।
०००
दिनभरिको काम सकेर बिहीबार राति घर पुगेपछि मात्र फेसबुकमा आफूलाई श्रीलंकाली साथी सिहार अनिजले ट्याग गरेको सन्देश देखियो । त्यो खोल्दा अनायासै मुखबाट फुस्कियो, ‘हे भगवान ।’ कश्मीरको एउटा समन्वयकारी आवाज बन्द भइसकेको थियो । हाम्रो पत्रकारिता कक्षामा रहेका सबैको नाम एकएक गरी फिलिपिन्सका साथीहरूले फेसबुकको वालमा लैख्दै थिए । त्यही नामको बीचबाट सुजात हराइरहेको थियो।

किन किन यसपटक त्यहाँ जानुपर्छ भन्ने मनमा थियो। त्यो सुन्दर उपत्यका हेर्ने र द्वन्द्व बुझ्न प्रयास गर्ने उद्देश्य मनमा थियो । कश्मीर घुम्न आउने हार्दिकतापूर्वक निमन्त्रणाको आवाज रोकिएको छ।

तत्कालै ट्विटरमा समाचार खोजी गर्दा सुजातबुखारी ह्यासट्याग ट्रेन्डिङको तेस्रो नम्बरमा पुगिसकेको थियो । हजारौँ पोस्टमा कश्मीर उपत्यकाकामा रहेर शान्तिपूर्ण समस्या समाधानका निम्ति आवाज उठाउने सुजातका बारेमा समर्पित थिए । भारतका नेतादेखि पत्रकारसम्मले निरन्तर लेखिरहेका थिए । पत्रकारदेखि बुद्धिजीवी कतै न कतै पक्ष लिइरहेका बेला बीचमा रहेर शान्तिपूर्ण समाधानको आवाज उठाउने व्यक्तिको आवाज थुन्ने आततायी कहिल्यै सफल नहुने आक्रोश सन्देशहरूमा पोखिइरहेको थियो । यी आँखालाई विश्वास भइरहेको थिएन । हामी दुवैको निकट मित्र सैयद नजाकतलाई राति नै फोन गरेँ । सैयद आफैं शोकमा भएकाले फेरि कुराकानी गर्ने वाचा गर्दै फोन काट्यौं ।
०००
हामी यस्तो बेलामा फिलिपिन्समा पत्रकारितामा स्नातकोत्तरको अध्ययनका लागि छात्रवृत्ति पाएर पुगेका थियौं, जतिबेला नेपालमा निरंकुशतन्त्र समाप्त भई लोकतन्त्र स्थापना भएको थियो । नेपालमा जनआन्दोलन २०६२/६३ को सफलता र माओवादी ‘जनयुद्ध’ को समाप्तिपछिको उन्मुक्त अवस्था मुलुकमा देखिएको थियो ।  हाम्रो कक्षामा एकअर्काबीच परिचय हुँदा सुजातले आफ्नो हत्याका निम्ति पटक–पटक प्रयास हुँदा पनि जोगिएको जानकारी दिँदा हामी अवाक भएका थियौँ । कश्मीरका समाचार हामीले पढिरहे पनि त्यहीँ बसेर पत्रकारिता गर्नु कति मुस्किल छ भन्ने उनलाई सुन्दा थाहा हुन्थ्यो । त्यो अवस्थामा पत्रकारिता अगाडि बढाउनु सहज काम थिएन । भारतबाट प्रकाशित हुने प्रतिष्ठित अखबार ‘हिन्दु’ का लागि कश्मीर ब्युरो प्रमुख भएर काम गरिरहेका उनी निरन्तर क्रियाशील थिए । भारतको बेंलुरुमा ५ सेप्टेम्बर २०१७ मा मारिएकी चर्चित पत्रकार गौरी लंकेशको हत्यालाई समेत अहिले सम्झना गरिएको छ । सुजातको हत्या यस्तै हत्याको शृंखलाका रूपमा पनि लिइएको छ। 

जब देश छाडेर नेपाली र भारतीय बाहिर जान्छन् ती सबैभन्दा नजिक हुन्छन् । त्यसमा पनि दक्षिण एसियाली हामी नेपाल, भारत, श्रीलंका, पाकिस्तानका पत्रकार सबैभन्दा नजिक भयौं र अद्यापि छौँ । एकअर्कालाई हेरविचार गर्ने, सँगै खाना खान र घुम्न जाने हाम्रो नियमितता भएकाले नजिकिन समय लागेन । सुजातको भलाद्मी बानीबेहोराले हामी सबैलाई उनको नजिक पु¥याउँथ्यो । कक्षा भएका दिनमा लन्चका बेला इरानियन रेस्टुरामा गएर हुमोस र पिता ब्रेड खानु हाम्रा निम्ति अनिवार्यजस्तै थियो । शनिबार र आइतबारको फुर्सदमा एकपछि अर्को रेस्टुरामा जानु र घुमघाम गर्नु पनि उत्तिकै हुन्थ्यो । त्यसमा साथ दिने सहपाठी स्थानीय पत्रकार पनि थिए।

पत्रकारदेखि बुद्धिजीवी कतै न कतै पक्ष लिइरहेका बेला बीचमा रहेर शान्तिपूर्ण समाधानको आवाज उठाउने व्यक्तिको आवाज थुन्ने आततायी कहिल्यै सफल नहुने आक्रोश सन्देशहरूमा पोखिइरहेको थियो।

दश वर्षअघि सुजातले ‘हिन्दु’ छाडेर ‘राइजिङ कश्मीर’ सहित तीनवटा प्रकाशन सुरु गरे । न विद्रोही न सरकार कसैको पनि पक्ष नलिई बीचको बाटो अपनाएका कारण सुजात कहिल्यै पनि कसैको पक्षका भएनन् । तर यसपटक संस्थाले दश वर्ष पूरा गरेपछि उनी निकै खुसी थिए । त्यो बेला पनि उत्तरोत्तर सफलताको कामना गर्दै हामी सबैले उनलाई बधाई दिएका थियौँ । एशियाभरि छरिएर रहेको हाम्रो समूह आफैँंमा अद्वितीय छ । हामी सबैले मिलेर अलुम्नाइलाई सक्रिय तुल्याउन कोसिस पनि गरेका छौँ । त्यसैमार्फत् हामी सबैले एकएक पाठ लेखेर प्राकृतिक विपद्मा कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीबारे किताबसमेत निस्किएको छ । एसियाभरिका चुनिएका एक सयभन्दा बढी सक्रिय पत्रकारको संस्था हुनु आफैंँमा भरपर्दो संगठन पनि हो।
०००
सुजातको हत्या इदको ठीक एक दिनअघि बिहीबार भयो । उनी राइजिङ कश्मीरको कार्यालयबाट निस्केर घर जान गाडीमा चढ्दै गर्दा साँझ ७ बजे अज्ञात व्यक्तिहरूले अन्धाधुन्ध हानेको गोली लागेर उनको मृत्यु हुन पुग्यो । उनको ज्यानको असुरक्षा भएकाले सन् २०१० देखि सरकारले दिएका दुईजना अंगरक्षकको साथमा हिँड्ने गरेका थिए । उक्त आक्रमणमा अंगरक्षकद्वय हमिद चौधरी र मुमताज अवान पनि मारिएका छन् । उनको निधनको खबर फैलिएसँगै शोक वक्तव्यमा समन्वयकारी आवाज बन्द गराइएकोमा तीव्र आक्रोश व्यक्त भएका छन् । कश्मीरकी मुख्यमन्त्री मेहबुबा मुफ्तीले रुँदै प्रतिक्रिया दिएकी थिइन्–,‘म के भनौँ ? केही दिनअघि मात्रै उनी मलाई भेट्न आएका थिए।’

उनको हत्याको भोलिपल्ट बिहान निस्केको ‘राइजिङ कश्मीर’ को मुख पृष्ठमा सुजातको ठूलो श्यामश्वेत तस्बिरसहित उनले सुरु गरेको पत्रकारिताको अभियान नरोकिने प्रतिबद्धता गरिएको छ । उनको शुक्रबार भएको अन्तिम संस्कारमा हजारौँ हजार कश्मीरीहरूको उपस्थितिलाई हत्या गरेर एउटा पत्रकारको आवाज थुन्न नसकिने सन्देश दिएका छन् । पाँच दशकको वयमा हिँडिरहेका सुजातले कश्मीर संवाद समूह खडा गरी भारतलगायत विभिन्न देशमा छलफल कार्यक्रमसमेत आयोजना गर्ने गर्दै आएका थिए । संवादबाट समस्या समाधान हुन सक्छ भन्ने उनको दह्रो विश्वास थियो।

पत्रकारिता, आफ्नो निरन्तरको संवाद अभियानबाहेक पनि सामाजिक सञ्जालमा समेत आफ्ना धारणालाई उनी प्रष्टसँग राख्थे । आततायीहरूले उनीमाथि गोली दाग्नुभन्दा केही घन्टाअघि पनि उनी आफ्ना कामको डटेर सामना गरिरहेका थिए । कश्मीर उपत्यकाको मानव अधिकारबारे संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा आधारित ‘एकपक्षीय’ समाचार लेखेको भनी दिल्लीमा कार्यरत पत्रकारहरूले आरोप लगाउँदा उनी त्यसमा सहमत थिएनन् । उनले ट्विट गर्दै भनेका थिए– ‘पहिलो पटक संयुक्त राष्ट्रसंघले कश्मीरमा भएको बहुआयामिक अधिकार उल्लंघनमा अन्तर्राष्ट्रिय जाँच गर्नुपर्छ भनेको छ ।’ उनको अर्को ट्विटमा भनिएको छ– ‘कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरेका छौँ र ग्राउन्डमा भएका घटनालाई निरन्तर उजागर गर्छौं ।’ पत्रकारितामा ‘फिल्ड’ मा पुगेर समाचारबारे बुझ्नु र प्रस्तुत गर्नुको अर्थ भिन्न हुन्छ । राजधानीबाट सुदूर प्रदेशबारे लिइने जानकारी र त्यहीँ पुग्दाको फरक सुजातले राम्ररी अनुभव गरेका थिए वर्षौंँको पत्रकारितामार्फत्।
०००
सैयदको विवाहको निम्तो पाए पनि त्यो बेला कश्मीर जाने फुर्सद मिलेन । तर यसपटक सुजातले फेरि कश्मीर आउने निम्तो गरे । जुलाइ–अगस्टमा राम्रो मौसम हुने भएकाले समयमै टिकट बुक गर्न उनको आग्रह थियो ।  यात्रा गरिरहनुपर्ने भएकाले उनले कश्मीर आउने जानकारी अलि अगाडि नै आफूलाई दिन पनि आग्रह गरे । ‘कश्मीर यात्राको योजना बनाउनू’, उनले भने, ‘तिमी मेरा पाहुनाका रूपमा घरैमा रहने छौ ।’ लिस्वन जाँदा उनले पत्नी पनि लिएर गएका थिए । एक छोरा र एक छोरीका पिता सुजात एउटा राम्रो पारिवारिक मानिस पनि थिए।

यसपटक सुजातको निम्तो स्वीकार गरी मैले कश्मीर जाने इच्छा गरेको पनि हुँ । किन किन यसपटक त्यहाँ जानुपर्छ भन्ने मनमा थियो । त्यो सुन्दर उपत्यका हेर्ने र त्यहाँको द्वन्द्व बुझ्न प्रयास गर्ने उद्देश्य मनमा थियो । कश्मीर घुम्न आउने हार्दिकतापूर्वक निमन्त्रणाको आवाज रोकिएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad