८ वैशाख २०८१ शनिबार
समाज

डिस्टिलरीको ढलले स्थानीय समस्यामा

सर्लाही   – हरिवनस्थित अमरावती डिस्टिलरी प्रालिले मदिरा बनाउने क्रममा निस्कने दुर्गन्धित झोल (ढल) घरभित्र छिरेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। दुर्गन्धित झोल व्यवस्थित ढंगले नालाबाट सुरक्षित स्थानमा पु-याउनुपर्ने भए पनि उद्योगले खुला छाड्दा स्थानीय बासिन्दाको घरभित्र पसेको हो।

‘दुर्गन्धले चार दिनदेखि घरमा बसीनसक्नु छ,’ स्थानीय लालबहादुर वाइवाले गुनासो गरे, ‘तीन दिनअघि त घरभित्रै छुवाको भल आइपुगेको थियो, अहिले पनि घरछेउको मकैबारी डुबानमा छ।’ कलेजी रङको लेदो बारीमा भरिएपछि घोगा हाल्ने बेलाको मकै सखाप भएको उनले गुनासो गरे।

‘२४सै घण्टा नाक थुनेर बस्न बाध्य छौं,’ वाइवाले भने, ‘रोग फैलिएला भन्ने त्रासमा छौं ।’ कडा दुर्गन्ध सहितको बाक्लो लेदोमा लामखुट्टे, झिंगा बढ्न थालेपछि रोगको महामारी फैलने डरले डिस्टिलरी पूर्वका पाँच घरका बासिन्दा त्रासमा परेका छन्।

‘खै नगरपालिका कार्यालयमा निवेदन दियौं, डिस्टिलरीमा पनि पटक–पटक गुनासो ग¥यौ’, वाइवाले भने, ‘तर कतैबाट हाम्रो कुराको सुनुवाइ भएको छैन।’ उनका अनुसार उद्योगका कर्मचारीले स्टक राखिएको ट्यांकी फुटेका कारण बाहिर बगेको बताएका छन्। ‘खै बारीभरि जमेको झोल ट्यांकीमै तान्ने भनेर तीन दिनदेखि मोटर राखे पनि कुनै काम भएको छैन,’ वाइवाले भने।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले दुर्गन्धित लेदो व्यवस्थित गर्न उद्योगसँग कुरा भइरहेको जानकारी दिए। ‘नगरपालिकाका उपमेयरज्यू नेतृत्वको टोलीले दुर्गन्ध फैलिएको स्थानको निरीक्षण गरिसकेको छ,’ उनले भने, ‘तत्काल नियन्त्रणमा लिन उद्योगसँग कुरा अगाडि बढाइसकिएको छ।’ इन्दुशंकर चिनी उद्योगदेखि उत्तरस्थित उक्त डिस्टिलरी प्रालि, चिनी उद्योगका सञ्चालक राजेश केडियाको हो।

प्रकाशित: ३ असार २०७५ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App